• ८ वैशाख २०८१, शनिबार

डडेलधुरा मेडिकल कलेजमा ‘पोष्ट ग्राजुएट’ सञ्चालन गर्ने तयारी

blog

डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा धनगढीमा भएको छलफलमा सहभागी सरोकारवाला। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ १० गते। डडेलधुरा मेडिकल कलेजमा पोष्ट ग्राजुएट (एमडी एमएस) तहको पढाई सुरु गर्ने तयारी भइरहेको छ।

सङ्घीय सरकारको चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा “सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरेर डडेलधुरा मेडिकल कलेज स्थापना गरिने” उल्लेख भएअनुसार हाल भौतिक संरचना निर्माण तथा अन्य कार्य अघि बढेको छ। सङ्घीय सरकार मातहतको डडेलधुरा अस्पताललाई नै मेडिकल कलेजका रुपमा स्थापना गर्ने घोषणा गरिएको छ। हाल सो अस्पतालमा १५० शैय्यामा रहेका छन्। अझै १५० बेड थप्नु पर्ने आवश्यक्ता छ।

सरकारले एक वर्षअघि डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेर प्रक्रिया अघि बढाएको थियो । “मेडिकल कलेज स्थापनाका लागि करिब दुई सय ५० रोपनी जग्गाको व्यवस्थापन भइसकेको छ” मङ्गलबार धनगढीमा डडेलधुरा मेडिकल कलेजबारे आयोजित छलफल कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले भन्नुभयो, ‘‘आवश्यक विज्ञ जनशक्ति र अन्य केही पूर्वाधार व्यवस्थापन भएपछि हामी पोष्ट ग्राजुएट तहको पढाई सञ्चालन गर्नसक्छौं।’’

मेडिकल कलेज स्थापनाका लागि सरकारले तीन महिनाअघि डिन नियुक्त गरिसकेको छ। सरकारले न्युरो विशेषज्ञ प्रा.डा. हेमनाथ जोशीलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, डडेलधुरा मेडिकल कलेजको डिनमा नियुक्त गरेको हो। तर, अन्य आवश्यक कर्मचारी पदपूर्ति भने भएको छैन। डिन प्रा.डा. जोशीले भन्नुभयो, ‘एमबीबीएस तहको पढाई सुरु गर्न बढी समय लाग्छ। होस्टेल, भवन, अस्पताल आदिको व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले हामीले अहिले एमडीएमएस तहको पढाइ सुरु गर्ने तयारी गरिरहेका छौं। उहाँले बढीमा डेढदेखि दुई वर्षभित्र पढाई सञ्चालन गर्न सकिने बताउनुभयो।

एमडीएमएस अर्थात् पोष्ट ग्राजुएट कक्षा सञ्चालनका लागि तीन सय शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने हुन्छ। उहाँकाअनुसार प्रत्येक विभागमा एक जना प्रोफेसर र एक जना एसोसिएट प्रोफेसरले दुई जना विद्यार्थीलाई अध्यापन गर्न पाउँछन्।

डडेलधुरा मेडिकल कलेजका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा ४० करोड रुपियाँ विनियोजन गरेको छ। उपकुलपति प्रा.डा. जोशीले मेडिकल कलेज पूर्णरुपमा सञ्चालन गर्न करिब दुई अर्ब रुपैयाँ आवश्यक हुने बताउनुभयो। सो मेडिकल अस्पताल स्थापना र सञ्चालनका लागि सङ्घीय  शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

मेडिकल कलेजका डिन प्रा.डा. जोशीका अनुसार पोष्ट ग्राजुएट कक्षाका लागि पाठ्यक्रमको मस्यौदा बनाएर पठाइएको छ।

डडेलधुराबाट निर्वाचित प्रदेश सभा सदस्य डा. तारा जोशीले पछिल्ला दिनमा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशंका सिर्जना भएकोले स्पष्ट पार्नु जरुरी रहेको बताउनुभयो।

मंगलबार धनगढीमा भएको छलफलको संयोजन गर्नुभएका प्रदेश सभा सदस्य जोशीले गोरखापत्रसँग भन्नुभयो, ‘सुरुमा निकै तीव्र गतिमा भौतिक संरचना निर्माण कार्य भए पनि पछिल्ला दिनमा केही सुस्त भएको छ। सरकार परिवर्तन भएको छ। यसले आम जनतामा यो (मेडिकल कलेज) बन्छ वा बन्दैन भन्ने खालको आशंका बढेको अनुभव भएकोले आश्वस्त पार्न जरुरी देखिएको छ।’

प्रदेश सभा सदस्य जोशीले विगतमा गेटा मेडिकल कलेज र डडेलधुरा मेडिकल कलेजबारे विभिन्न पक्षबाट अन्योलपूर्ण धारणा आउने गरेको र अनेक बाधा व्यवधान सिर्जना हुने गरेको बताउनुभयो।

छलफलमा सहभागी कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले “निहीत स्वार्थका लागि विभिन्न पक्षबाट गेटा मेडिकल कलेज र डडेलधुरा मेडिकल कलेजबारे भ्रामक धारणा व्यक्त हुनेगरेको बताउनुभयो।

छलफलका क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. जोशीले डडेलधुरा मेडिकल कलेजका लागि सरकारले विनियोजन गरेको रकम तत्काल निकासा गर्न र जनशक्ति तथा अन्य आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्न जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई आग्रह गर्नुभयो।

नेपाल सरकारले एउटा प्रदेशमा कम्तिमा दुई वटा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको छ। अन्य धेरै प्रदेशमा दुई भन्दा बढी मेडिकल कलेज स्थापना भएका छन्। कर्णालीमासमेत एउटा मेडिकल कलेज छ, अर्को सुर्खेतमा खुल्ने तयारी छ। तर सुदूरपश्चिम एउटा पनि मेडिकल कलेज सञ्चालनमा छैन। 

उहाँले गम्भीर खालका बिमारी धनगढी लगायतका शहरमा पुग्न समस्या हुने भएकाले सातवटा पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेलधुराका मेडिकल कलेज आवश्यक रहेको बताउनुभयो।


निर्माण भइरहेका डडेलधुरा मेडिकल कलेजका भवन।