शेरबहादुर सार्की
बाजुरा, कात्तिक १ गते । बाजुरामा दसैँको बेला प्रदेशीले भरिभराउ भएका गाउँ दिपावली सुरु भएसँगै खाली हुन थालेका छन् ।दसैँ मनाउँन गाउँमा फर्किएका प्रदेशीहरु फेरि भारतमा आफ्नो रोजगारी छुट्ने डरले धमाधम जान थालेपछि फेरि गाउँ खाली हुन थालेका हुन् ।
गाउँमा गरी खाने केही विकल्प नभएपछि भोको पेट पाल्नकै लागि आफूहरु भारततर्फ लागेको उनीहरुको भनाइ छ । भारतमा रोजगारी गर्दै आउनुभएको बुढीगङ्गा नगरपालिकाका स्थानीय दलबहादुर नेपालीले केही दिनको छुट्टी लिएर दसैँ मनाउन गाउँ फर्किएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दसैँ बनाइयो दिपावली पनि मनाएर जाने सोच त थियो । तर के गर्ने उता छुट्टी लिएको समय सकियो । मालिकले पनि तुरुन्त आउनु भनेपछि अहिले मुखमै आएको दिपावली छोडेर फेरि भारतमा जान बाध्य भएको छु ।’’
उच्च शिक्षा हासिल गरेपनि गाउँमा रोगारी पाइँदै । यहाँ अन्य गरी खाने केही उपाय छैन । छोरा छोरीको पढाई खर्च र परिवार पार्न गाउँ छोडेर विदेशीनु परेको नेपालीले बताउनुभयो ।
बाजुराका अधिकाशं स्थानीयहरुको भारतकै भरमा घरमा गुजारा चल्छ । यहाँका युवा युवतीहरु प्राय घरमा बालबच्चा छोडेर नौकरी गर्न भारतमै जाने गर्छन् ।
पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउँने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गथ्र्ये ।
तर अहिले स्थानीयहरुको खेतीपातीमा खासै चाँसो छैन । भारु नोटको मोहले उनीहरु यसो चाँडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतमै जाने गर्दछन् ।
यहाँका अधिकाशं स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दसैँ तिहार मनाउँन मात्र गाउँमा फर्किने गर्दछन् ।
हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रसस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिँचाइ सुविधा छैन ।
यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानु पर्ने अवस्था हुने थिएन ।
यता असोजदेखि कात्तिकसम्म गाउँमा प्रदेशीले भरिभराउ हुन्छ । त्यसपछि मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु भएपछि गाउँ खाली हुन्छन् ।
अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहस नहस पार्दै गएका कारण अहिले यहाँका गाउँ बस्ती रितिँदै गएका हुन् । जिल्लाका बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बूढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती दिपावली अगावै खाली हुन थालेका छन् ।
नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसै गरी यहाँको एक लाख ३८ हजार ५२३ जनसङ्ख्या रहेको छ ।