• १६ चैत २०८०, शुक्रबार

भाषा, संस्कृतिको संरक्षण गर्नुपर्छ : राजदूत राजभण्डारी

blog

केजिन राई 

ब्रेसल्स, माघ ९ गते । विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघेसंक्रान्ति २०२३ कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भएको छ । 

मगर समुदायको महान् चाड माघे सङ्क्रान्ति २०२३ ‘विश्वभरको मगर एक हौँ, पुर्खाको विरासत हाम्रो पहिचान, हामीले संरक्षण गरौँ, हाम्रो संस्कृति प्राणभन्दा प्यारो छ, यही संस्कृति बचाउने हाम्रो अभिभारा छ’ भन्ने नाराका साथ सोमबार मनाइएको हो । 

बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारीले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्र एकता कायम गर्न पर्ने कुरामा जोड दिँदै सबै नेपाली चाडपर्व, परम्परा, भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । 

राजभन्डारीले प्रवासमा यस्ता पर्वहरूको अझ धेरै महत्त्व हुन्छ भन्नुहुँदै नेपालको संविधानले प्रदान गरेको समानता र स्वतन्त्रताको अधिकार प्रयोग गरी हरेक समुदायले आ–आफ्नो कला संस्कृतिको जगेर्ना गर्न सुझाव दिनुभयो । राजदूतले कार्यक्रममा गरिएको पितृ पूजा र चेलीबेटी सम्मानको प्रशंसा गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा मगर सङ्घ युकेकी अध्यक्ष सीता पुनले पितृ पूजालाई नयाँ पुस्ताले पनि अनुसरण गर्दै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

 

मगर सङ्घ बेल्जियमद्वारा कार्यक्रममा उपस्थित सबैलाई सम्मान गरिएकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले नेतृत्व तहमा महिला पनि आउनुपर्ने बताउनुभयो । 

गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष खड्ग केसी नेपाल विभिन्न लोक संस्कृतिले सम्पन्न देश भएको र एनआरएनए बेल्जियम विभिन्न जातीय कला संस्कृति जगेर्नाका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । नेपालले नेपाल फेस्टिबलको आयोजना गरेर नेपाली समुदायको भेषभूषा, कला संस्कृतिको प्रचारप्रसार हुनै आएको पनि जानकारी दिनुभयो ।

 

लोक रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा विश्व मगर सङ्घ पोर्चुगलका अध्यक्ष कमल पुन,नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीरमान मगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।