• ११ मंसिर २०८१, मङ्गलबार

फोहोर व्यवस्थापनका दीर्घकालीन उपाय

blog

प्रदूषण तथा फोहोरमैला काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्ने गरेको छ । काठमाडौँ मात्र होइन घनाबस्ती भएका सहर तथा सहरोन्मुख क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा रहने गरेको छ । ल्यान्डफिल साइटमा विभिन्न कारणले फोहोर फ्याँक्नमा अवरोध हुने बित्तिकै बेलाबेलामा काठमाडौँमा फोहोर जम्मा हुन थाल्छ र फोहोरको डुङ्गुरले एक दुई दिनमै विकराल रूप लिन्छ । वास्तवमा फोहोरमैलाको दिगो व्यवस्थापन तथा फोहोरको समस्या समाधानका दीर्घकालीन उपायको खोजी हुन नसक्दा फोहोरको समस्या राजधानीबासीका लागि बल्झिरहने पिलो बनेको छ । फोहोरलाई चार भज्याङ कटाएर काठमाडौँ खाल्डोलाई सफा राख्न सकिन्छ भन्ने काँचो मनोवृत्तिका कारण फोहोरको सम्भावित उपयोग र फोहोरलाई स्रोतको रूपमा उपयोग गर्न सकिने सम्भावनातर्फ ध्यान जान सकेको छैन । त्यसैले फोहोरमैलाको समस्या समाधान तथा यसको उचित व्यवस्थापनको लागि निम्न उपायहरू विकल्प हुन सक्छ ।

फोहोर उत्सर्जनमा कटौती 

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागकोएक रिपोर्टअनुसार, महानगरपालिकामा हरेक व्यक्तिले दैनिक ४६५ ग्राम फोहोर उत्सर्जन गर्छ । काठमाडौँ उपत्यकाका सबै १८ वटा स्थानीय तहमा गरी दैनिक एक हजार मेट्रिक टनभन्दा धेरै फोहोर उत्पादन हुने गरेको छ । त्यसरी उत्पादन हुने फोहोरमध्ये ६३ प्रतिशत जैविक फोहोर रहेको छ भने ११ प्रतिशत प्लास्टिकजन्य, नौ प्रतिशत कागजजन्य, पाँच प्रतिशत सिसाजन्य, ०.५ प्रतिशत धातुजन्य फोहोर रहेको छ । त्यसैले घना तथा अव्यवस्थित सहरीकरण भएको र दैनिक हजारौँ किलो विविध प्रकृतिको फोहोर उत्पादन हुने काठमाडौँ उपत्यकाको फोहोरको व्यवस्थापन गर्ने काम अहिलेको अवस्थामा चानचुन काम हुँदै होइन । अझ फोहोर व्यवस्थापन गर्दा लाग्ने खर्चको लेखाजोखा गर्ने हो भने र फोहोरका कारण हुने समस्याको निदानमा भएको लगानीलाई हिसाब गर्ने हो भने फोहोरकै कारण हामी कङ्गाल बनिने पो हो कि भन्ने अवस्था छ । हामीकहाँ फोहोर थान्को लगाउन हरेक वर्ष करोडौँ खर्च हुने मात्र होइन जलप्रदूषणका कारण हुने मानवीय क्षति तथा सरसफाइजन्य रोगव्याधी नियन्त्रणमा हुने आर्थिक लगानीका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ४.१ प्रतिशतले कमी आउने गरेको यसअघिका विभिन्न अध्ययनले देखाएका छन् । हामी जनता फोहोर व्यवस्थापन गरिदिएन भनेर सरकारलाई गाली गर्न त निकै बाठा छौँ तर फोहोर न्यूनीकरण र यसको उचित व्यवस्थापनमा हाम्रो तर्फबाट गरिनुपर्ने कर्तव्य पालनामा सधँै चुकिरहेका हुन्छौँ । घरभित्र फोहोर रहुन्जेल मात्र त्यसलाई घरबाट निकाल्नु हाम्रो सरोकारको विषय बन्छ तर जब फोहोर पोको पारेर आफ्नै घरअगाडिको सडक छेउमा फ्याक्छौँ त्यसपछि त्यो फोहोरको व्यवस्थापन हाम्रो लागि सरोकारको विषय नै बन्दैन । सडक किनारमा थुप्रिएको फोहोर आफैँले फ्याँकेको हो भन्ने कुरा हामी भुसुक्कै बिर्सन्छौँ अनि ओहोरदोहोर गर्दा नाकमुख छोप्दै सरकारलाई गाली गर्न पछि पर्दैनौँ । 

घरबाट निस्कने फोहोरलाई कमभन्दा कम कसरी गर्ने, घरभित्र मात्र नभएर वरपरको वातावरणलाई पनि सफा कसरी राख्ने तथा फोहोर व्यवस्थापन गर्ने निकायलाई कसरी सहयोग गर्ने भन्ने बारेमा अलिकति पनि सोच्ने फुर्सद निकाल्न हामी असमर्थ हँुदै आएका छौँ । जसको प्रत्यक्ष नकारात्मक असर हामीले नै झेल्नु परिरहेको छ । जसरी शिक्षा र स्वास्थ्यलाई जनताका मौलिक अधिकारको रूपमा सम्बोधन गरिदैछ त्यसैगरी वातावरणीय न्यायलाई समेत आधारभूत हकको रूपमा स्थापित गरिनुपर्छ । 

जैविक (कुहिने) फोहोरको व्यवस्थापन 

विज्ञहरूका अनुसार काठमाडाैँ उपत्यकाबाट निस्कने ठोस फोहोर (सोलिड वेस्ट ) को ६३ प्रतिशत हिस्सा जैविक फोहोरले ओगटेको छ जो कुहिने प्रकृतिको हुन्छ । जैविक फोहोरबाट कम्पोस्ट मल बनाउन सकिने मात्र होइन, ब्रिकेट, बायोग्यास र बिजुलीसमेत उत्पादन गर्न सकिने सम्भावना छ । कम्पोस्ट मल सिधै खेतबारीमा उपयोग गर्न सकिन्छ, जसले गर्दा रासायनिक मलको आयातमा भइरहेको खर्चलाई न्यून गर्न सक्छ । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने भन्दै पाँच वर्ष अगाडि नै योजनाअघि सारे पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन । करोडौँ खर्चिएर किनेको फोहोरबाट बिजुली निकाल्ने मेसिन (बायो मिथानेसन प्लान्ट) शौचालय तथा कुकुरको आश्रयस्थल बनेको दुःखद अवस्था छ । उक्त मेसिनले दैनिक तीन टन फोहोरलाई मिथानेसन गरेर १४ किलोवाट बिजुली उत्पादन गर्ने योजना थियो । उक्त मेसिनले दैनिक ९६ किलो ग्यास, तीन सय किलो मल र १३ हजार पाँच सय लिटर प्रशोधित पानीसमेत उत्पादन गर्ने बताइएको थियो । तर त्यो कुरा कागजमै सीमित भएको छ । फोहोरबाट बिजुली मात्रै होइन बायोग्यास तथा ब्रिकेट उत्पादन गरी व्यावसायीकरण गर्न सकिने प्रशस्तै सम्भावना छ । 

फोहोरको पुनः प्रयोग र पुनः चक्रण   

यद्यपि फोहोर आफैँमा अप्रिय र त्याज्य पदार्थ हो तथापि यो हाम्रा लागि उपयोगी पनि साबित हुनसक्छ । उपत्यकामा हरेक दिन उत्सर्जन हुने फोहोरमध्ये करिब ३० प्रतिशत हिस्सा पुनः प्रयोग र पुनः चक्रण गर्न सकिने खालको रहेको छ । प्लास्टिक, धातुका टुक्रालगायतका अजैविक फोहोर तथा कागजलगायतका अन्य फोहोरलाई पुनः प्रयोग वा पुनः चक्रण गर्न सकिन्छ । पुनः प्रयोग वा पुनः चक्रण गर्न सकिने फोहोरलाई उचित उपयोग गर्न सक्ने हो भने फोहोरको चाप घट्ने मात्र होइन उपभोक्ताको खर्चसमेत जोगिन जान्छ । यसतर्फ स्वयं उपभोक्ता जागरुक हुनु आवश्यक छ । फोहोर भनेर फ्याँकिने गरिएका कैयौँ वस्तुको समुचित उपयोग गर्न सकिएमा सर्वसाधारणको व्ययभार घट्ने मात्र होइन फोहोरको डङ्गुरलाई व्यवस्थापन र विसर्जन गर्न पनि सजिलो पर्न जान्छ । त्यसकारण हरेक सर्वसाधारणलाई घरबाट निस्कने फोहोरको पुनः प्रयोगको बारेमा सचेत गराइनु पर्छ । कुनै पनि सामान एकचोटि उपयोग गरिसकेपछि त्यसलाई फोहोरको रूपमा मिल्काइहाल्नु भन्दा त्यसको पुनः प्रयोग गर्न सकिने सम्भावनातर्फ सोच्नुपर्छ । पुनः प्रयोग र पुनः प्रशोधन गर्न नसकिने खालका फोहोरमा पनि जैविक र अजैविक खालका फोहोर छुट्टाएर भिन्दाभिन्दै पोकामा राखेर मात्रै फोहोर जम्मा गर्न आउने निकायलाई जिम्मा लगाउनु पर्छ । 

सरकारको दायित्व 

चालू आर्थिक वर्षको बजेटमा सरकारले थप एक सयवटा स्थानीय तहको सरसफाइ गुरुयोजना तयार गर्ने बताएको छ भने विभिन्न सहरको ढल निकासको व्यवस्थाका लागि दुई अर्ब ४४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सरकारले फोहोरमैला व्यवस्थापनका लागि दुई अर्ब रुपियाँभन्दा धेरै बजेट विनियोजन गरेको छ । आफ्नो क्षेत्रको फोहोरमैलाको व्यवस्थापन तथा सहरी व्यवस्थापनको कार्यलाई प्रदेश तथा नगरपालिकाले समेत प्राथमिकतामा राख्ने गरेका छन् । तथापि फोहोर व्यवस्थापनको दीर्घकालीन तथा वैज्ञानिक उपायको खोजी नहुँदा राजधानी उपत्यका तथा अन्य सहरी क्षेत्रमा फोहोरको समस्या बढिरहेको अवस्था छ । वास्तवमा फोहोरमैलाको व्यवस्थापनमा सर्वसाधारण नागरिक, निजी क्षेत्र, सरोकारवाला अनि सरकारको साझेदारी हुने हो भने समस्याको निकास पहिल्याउन गाह्रो छैन । अतः फोहोरलाई केवल समस्याको रूपमा मात्र नहेरी यसलाई फोहोरको उचित व्यवस्थापन गर्न सकियो भने फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ भन्ने उदाहरण धेरै छन् । तर फोहोरको दिगो व्यवस्थापन र उपयोगको बारेमा ध्यान नदिने हो भने यो सधैँका लागि टाउको दुखाइको विषय बन्ने मात्र होइन धनजनको क्षति पु-याउने र गरिबलाई झनै गरिब बनाउने मुख्य कारक बनिरहनेछ । स्रोतको रूपमा उपयोग गर्न सकिने सम्भावनातर्फ ध्यान पु-याउन आवश्यक छ ।