• ११ मंसिर २०८१, मङ्गलबार

तामाङ समुदायको नयाँ वर्ष

blog

तामाङ, ह्योल्मो, सिङ्सा, थकाली, लार्के, तोप्के, भोटेलगायतको समुदाय नयाँ वर्ष आगमनको स्वागत गर्न आ–आफ्नो रीतिथिति परम्परा र सभ्यताअनुसार भव्य तयारीमा लागेको छ । नेपालमा यसरी चन्द्र पात्रोअनुसारको नयाँ वर्ष मनाउने समुदायमध्येको प्रमुख जाति भनेको तामाङ हो । तामाङ जाति नेपालको एउटा प्राचीन समुदाय पनि हो । यो समुदायको आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा रीतिरिवाज, सामाजिक तथा राजनीतिक संरचना भएको आफ्नो भूमि र भूगोल भएको किपट राज्य प्रणाली अवलम्बन गर्दै आएको न्याय समानताको विश्वास गर्ने इमानदार समुदायका रूपमा चिनिन्छ । यो समुदाय जनसङ्ख्याको हिसाबले पाचौँ ठूलो, भाषिक हिसाबले तेस्रो र धार्मिक हिसाबले बौद्ध धर्म मान्ने सबभन्दा ठूलो समुदाय हो । 

तामाङ समुदाय नेपालको पहिलो बुद्ध धर्म मान्ने ठूलो एकल समुदाय पनि हो । यो समुदायको नयाँ पुस्तामा धार्मिक विचलन आएको पाइन्छ र आगन्तुक धर्मको स्वार्थमा परेको पनि देखिन्छ । धर्म जे अपनाउने भए पनि आफ्नो संस्कृति भने छोड्न सकेको छैन । नेपालमा तामाङ समुदाय कुल जनसङ्ख्याको छ प्रतिशत अर्थात् १६ लाख रहेको तथ्याङ्क छ । यो समुदायले तथ्याङ्कलाई मान्दैनन् र झन्डै २२ र २५ लाख जनसङ्ख्या रहेकोे अनुमानित स्थिति छ । सेना, प्रहरी, प्रशासन, न्याय र राजनीति क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढेको पाइन्छ । राज्यको समानुपातिक सिद्धान्तको हिसाबले हेर्दा अझैसम्म राज्यको निकायमा पुग्ने सङ्घर्ष बाँकी छ । यो जातिको सामाजिक राष्ट्रिय संस्थाको रूपमा नेपाल तामाङ घेदुङ साझा संस्थाको रूपमा कार्यरत छ ।

नेपालमा तामाङ समुदायले सदियौँ वर्षदेखि नै आफ्नो ल्हो परम्परा मान्दै आएको पाइन्छ । नेपालको तत्कालीन राज्यका शासकले यस समुदायलाई मासिन्या मतवालीको दर्जामा राखेर दमन गरेपछि यो समुदायले आफ्नो परम्परा संस्कृति खुलेर उत्सवमय भएर मनाउन सक्ने स्थिति बन्द हुन गयो । त्यसकारण यस समुदायले निश्चित ठाउँमा गुम्बा, ल्हाखाङ, चोहो, मुल्मी, चोक, लामा, ताम्बा, गान्बा, बोम्बो, लोब्बन, लाप्ताबाजस्ता मुख्य व्यक्तित्वको घरमा लुकीछिपी मनाएको दर्दनाक मौखिक आख्यानमा पाइन्छ । यसरी ल्होछार मनाउने परम्पराको एउटा बलियो आधार भनेको तामाङले ‘ख्रेला छेपागी ल्हो खाजीरो’, माघे सङ्क्रान्तिलाई पनि एउटा आधार बनाएर ल्होछार खाबा भन्ने र एक अर्काको जन्म सोधपुछ गर्दा ‘तिला ल्होरी’ अर्थात् कुन ल्हो भनेर ल्हो सोधेपछि यो ल्होको हो भनेर गणना गर्ने गरिएकाले यो समुदायले सदियौँदेखि ल्होछार मान्न थालेको बताइन्छ । 

राणा शासन र पञ्चायत व्यवस्थाको राजनीतिक प्रणालीमा परिवर्तन आएपछि २०४६ सालबाट आफ्नो समुदायको भाषा, धर्म र संस्कृति परम्पराको खोजी र खुला हर्षाेल्लासका साथ ल्होछार चाडपर्व मनाउन तामाङ सङ्घ संस्था, गुठी र विशेष गरेर नेपाल तामाङ घेदुङ सक्रिय हुन थालेपछि ल्होछार मनाउने नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । यो प्रक्रियामा निरन्तर ल्होछार मान्ने समुदायको सहकार्य र ल्होछारलाई राष्ट्रिय मान्यता दिलाउन राज्यको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउने क्रम चलिरहेको थियो । 

प्रजातान्त्रिक भन्ने सरकारले पनि खासै महत्व दिएन । २०५१ सालमा तत्कालीन एमालेको मनमोहन अधिकारीको सरकारले संयुक्त रूपमा तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो, मगर, थकाली, दुरा, सिङ्सा, भोटे, लार्के आदि दसवटा समुदायको मागअनुसार सौर्य पात्रोमा उल्लेख कृष्णपक्ष माघ शुक्ल प्रतिपदाको दिनलाई सम्पूर्ण ल्होछार मान्ने समुदायको निमित्त एक दिन बिदा दिने भनेर २०५१ माघ १३ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । नेपालमा पहिलो पटक हिन्दु धर्मअन्तर्गतका चाडपर्वबाहेकका राज्यले सम्बोधन गरेको पहिलो ल्होछार पर्व थियो । यसरी ल्होछार मान्ने समुदायले राज्यको बिदा प्राप्त गरेपछि काठमाडौँमा तामाङ, शेर्पा, गुरुङ, ह्योल्मो, थकालीलगायतका समुदायले तीन वर्षसम्म सहकार्य गर्दै संयुक्त रूपमा पनि ल्होछार मनाए । राज्यलाई गुरुङ समुदायले पुस १५ गतेलाई ल्होछार मान्ने भनेर तमु ल्होछारको मान्यता ५४ सालमा दिलाए । यसैगरी शेर्पा समुदायले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होसार मान्ने भनेर ५५ सालमा मान्यता दिलाएपछि नेपालमा मूलतः तीनवटा राष्ट्रिय मान्यताको ल्होछार र लोसार पर्व मनाउन थालियो ।

ल्होछार अर्थात् ल्हो भनेको वर्ग/वर्ष र छार भनेको नयाँ = ल्होछार भनेको नयाँ वर्ष र नयाँ पर्व भनेको हो । यो ल्होछार र पर्व मितिमा होइन तिथिमा आधारित हुन्छ र यो तिथि चक्रको आफ्नो पात्रो हुन्छ । अहिलेसम्म संसारमा थुप्रै पात्रो भए पनि मुख्यत तीनवटा पात्रो प्रचलनमा देखिन्छ । यी पात्रोमध्ये दुईवटा सौर्य/सूर्यमा र एउटा चन्द्रमा/जुनको गतिविधिमा चल्ने पात्रो हुन् । सूर्यको गतिविधिमा चल्ने पात्रोले घडीपोला अर्थात् २४ घण्टाको एक दिन र त्यही समयअनुसारको महिनालाई निर्धारण गरेको पाइन्छ । एउटा महिना २९ दिनदेखि ३१ र कुनै वर्ष ३२ सम्मको महिना बनाएर ३६५ दिनको एक वर्ष हुन्छ । अब यसरी बनेको पात्रो एउटा ग्रेगोरियन पात्रो हो भने अर्काे हामी नेपाली अर्थात् हिन्दु ज्योतिष पण्डित आचार्यले बनाउने पात्रो । दुवै पात्रोको समय र गति मिल्दामिल्दै पनि ग्रेगोरियन पात्रो अर्थात् ईस्वी सम्बतको अङ्ग्रेजी पात्रोले चन्द्रमास मान्दैन र हामीले हेर्ने गरेको नेपाल पञ्चाङ्गको वि.सं. पात्रोले चन्द्रमास मान्ने गर्छ । 

तामाङ समुदाय आफ्नो कुलपरम्परा भएको संस्कृति सभ्यताको समुदाय भएकाले ल्होछार मनाउँदा तीन विषयमा ध्यान दिनुपर्ने हुन्छ । पहिलो, पूर्वतयारी अर्थात् ल्होछार आउनुभन्दा कम्तीमा एक महिनाअघिदेखि तयारीमा जुट्नुपर्छ । त्यस्तो तयारीका सूची बनाउने जस्तै घर परिवार पाहुना कति हुन सक्छन् त्यसको लेखाजोखा त्यसको आधारमा खाद्यान्न फलफूल पूजा सामग्री आदिमा र दक्षिणा कति हुनसक्छ भनेर लाग्ने खर्चको आर्थिक जोहो गर्नुपर्ने हुन्छ । 

दोस्रो, आफ्नो घर रङरोगन गर्ने बाटो सरसफाइ, धारापँधेरी, पानीको मूल सरसफाइ, घरमा आउने मुख्य बाटोको प्रवेशद्वारमा ल्होछारला, ज्याबाडान्बा, फ्याफुल्ला ल्होछारला, डेन्साङ जस्ता शब्दमाको स्वागत गेट बनाउने, आफ्नो घरेलु खाद्य उत्पादनबाट र आफ्नोमा नभएको खाद्य बजारबाट खरिद गरेर ल्याउनुुपर्ने खाद्य परिकार के के हुने भन्ने हुन्छ । कन्दमूल, आलुम, भाल्डुम, विभिन्न घेङ÷रोटी सागसब्जी, अचारविचार साकाहारी÷मांसाहारी के के गर्ने त्यहीअनुसारको मासुको परिकार, घिउ तेल, नुन खोर्सानी, मरमसला आदि तयारीको सूचीसहित अन्य आवश्यक धज्र्यु, लुङ्तार, साङ्ग÷धुप बत्तीजस्ता सामग्री खरिद गरेर बजारबाट घरमा भित्र्याउने । साथै आफ्नो घरको परिवार छोराछोरी बुहारी, छोरी ज्वाइँ नाताले बोलाउनुपर्ने जति सबैलाई कम्तीमा १५ दिन अगाडि घरको मूल व्यक्तिको नामबाट निम्तो गर्ने । घर बाहिर गएका रहेका भए परदेशबाट छुट्टी लिने र कर्मचारीले थप बिदा लिएर आफ्नो घरमा आउन तयारी गर्ने ।

तेस्रो, मुख्य तिथि आउनु अघिल्लो दिन यस वर्षको हिसाब किताब र लेनदेनको कारोबार शून्यमा राख्ने अर्थात् वर्षभरिको आर्थिक कारोबारको अन्त्य गर्ने र साँझ बेलुकी घरका सबै सदस्यले आ–आफ्नो तर्फबाट भएको कामको समीक्षा गर्ने । राम्रो नराम्रो जे भए पनि भोलि नयाँ वर्ष/नयाँ वर्गदेखि हरेक कुरा राम्रो गर्नेछु भनेर घरको मान्यजन एवं ठूला व्यक्तित्व आखे म्हेमे, माम, आमा, आपा जस्तोको अगाडि प्रतिबद्धता व्यक्त गर्ने । यस वर्षको अन्तिम बिदाइ र नयाँ वर्ष आगमनका लागि धूमधाम दीपावली गर्ने । घरमा आ–आफ्नो थरका लाब्बोन, लाप्ताबाको सल्लाहबमोजिम कुललाई सम्झने, पूजा गर्ने, लामा गुरुको सल्लाह लिएर धज्र्यु लुङ्तार ह्राप्ने गर्ने । यस वर्ष माघ ७ गते नै धज्र्यु लुङ्तार राख्ने दिन पनि छ । यस्ता शुभकार्य गर्ने र माघ ८ गते सबै घरमा घर परिवार जम्मा भएर मान्यजनबाट कोकोम्हेन्दोको टीका वा ब्रामाको टीका ठाउँ विशेष र हाम्रो तामाङ परम्परा प्रचलनअनुसार टीका साथै खादा लगाएर गच्छेअनुसारको दक्षिणासहित सानालाई आशीर्वाद दिने गरिन्छ । सानाले ठूला व्यक्तिको हातबाट टीका खादा र आशीर्वाद ग्रहण गर्ने । दोस्रो दिनबाट आफ्नो निम्तोअनुसारका पाहुनालाई ल्होछार खुवाउने र आफू पनि निम्तो मान्न जाने । आफ्नो परम्पराअनुसार भावनात्मक सम्बन्ध प्रगाढ बनाउँदै भव्यताका साथ ल्होछार मनाउने ।

यसरी मनाउने ल्होछार परम्परा तामाङ जातिको ऐतिहासिक संस्कृति पनि हो । तसर्थ गाउँमा आफ्नो छरछिमेक सबैलाई शुभकामना दिने रमाइलो नाचगान गर्ने सद्भावपूर्ण व्यवहार गर्दै सबैलाई हाम्रो ल्होछार पर्व मैत्रीपूर्ण बनाउने गर्नुपर्छ । यो पर्व १५ दिन अर्थात् पूर्णिमाको दिनसम्म मनाउन सकिन्छ । 

हामीले मनाउने ल्होछारबाट पृथ्वीको तापक्रम बढ्न थाल्छ । नयाँ नयाँ पालुवा पलाउन थाल्ने छ । फूल फुल्न थाल्ने छन् किक्रिक्क बनेका रुखमा नयाँ पात पलाउन थाल्नेछन् । जमिन पनि तात्न थाल्छ । सुकेका झारपात पनि अङ्कुरण हुन थाल्नेछ । अर्थात् प्रकृतिको रूप सबै नयाँ हुनेछ । हाम्रो ल्होछारको पाचौँ दिन पञ्चमी तिथि पर्छ । त्यस दिन सबै किसानले जमिन जोतेर मकै छरेर कृषि कर्मको शुभारम्भ गर्छन् । 

नव शिशु तोते बोली बोल्ने नानीलाई ज्ञान दिने कार्य पनि प्रारम्भ गरिन्छ । हिन्दुधर्मका आधारमा सरस्वती पूजा गर्ने र नयाँ विद्यार्थी भर्ना गर्ने चलन छ । त्यस कारण यो ल्होछारलाई सोनाम पनि भनिएको हो । अर्थात् छ्योयी अनुसार अब नयाँ कृषिको वर्ष आरम्भ भयो । नयाँ पर्व आयो भनेको हो । यो ल्होछार पर्व ल्हो/ वर्ग मन्जुश्री पात्रोअनुसारको भएकाले अहिले तामाङ समुदायले मान्दै आएको पात्रो सबभन्दा पुरानो परम्परागत पात्रो पनि हो ।