काठमाडौं, माघ ६ गते । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताउनुभएको छ ।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने जनाकारी दिनुभयो । बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्बिरमा बदल्न प्रयास गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ । सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्दै वाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्बिरमा बदल्न प्रयास गर्ने विषयमा मेरो कार्यकाल समर्पित हुने विश्वास दिलाउँछु ।’’
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताउनुभयो । मन्त्री अर्यालले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हुन् त्यसमा सीप हासिल गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसङ्गत रुपमा व्यवसाय चलाउन आग्रह गर्नुभयो । विधिसङ्गत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने उहाँले बताउनुभयो ।
‘‘वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य छ । हाल अदक्ष र अर्धदक्ष वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन आवश्यक देखिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘मैले शून्य अनस्किल जनशक्ति भनेको थिएँ । विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्नुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुले विधिसङ्गत रुपमा व्यवसाय चलाउन आग्रह गर्दछु । विधिसङ्गत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्नेछ ।’’
वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक 
त्यस्तै, श्रमसचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको वैदेशिक रोजगारी खाडी मुलुकमा मात्रै केन्द्रित भएको उहाँको भनाइ छ । 
सचिव अर्यालले वैदेशिक रोजगार ऐन २०६४ को कारणले श्रमिकहरुले दुःख भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अहिले नेपालले एक सय जना श्रमिक विदेश पठाउनैपर्ने विश्वमा कही नभए पनि नेपालको कानुनमा रहेको भन्दै वैदेशिक रोजगार ऐन तत्काल सुधार गर्नुपर्ने जानकारी दिनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी रहेको बताउनुभयो ।  
 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                