• ११ मंसिर २०८१, मङ्गलबार

चिसो बढेपछि बेँसीमा याकचौँरी

blog

मुगु समाचारदाता

मुगु, माघ ५ गते । उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् । 

माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।

मुगमकार्मारोङ गाउँपालिकाको कोइकीखोला, ताङ्गा, हेलजम र रिमार पाटनमा करिब एक सयभन्दा बढी घरधुरीले तीन सय याकचौँरी पालन गर्दै आएको याकचौँरीपालक कृषक छिरिङ लामाले जानकारी दिनुभयो । मुगमकार्मारोङ गाउँपालिकाका चौँरीपालक कृषक टासी छोेदेङ लामाका अनुसार लेकको चरन क्षेत्रमा हिउँ हुनुका साथै अत्यधिक चिसोबाट बच्न याकचौँरीलाई हिउँदमा बस्तीछेउको सिरानीचोर र छापाखोला बेँसीमा झार्ने गरिएको छ ।

समुद्री सतहबाट करिब चार हजारदेखि पाँच हजार मिटरसम्मका लेकमा याकचौँरी पालन गरिन्छ । यसरी पाटनमा पालिएका याकचौँरीलाई हिउँदयामसँगै मङ्सिरको तेस्रो सातादेखि न्यानोका लागि बेंँसीको पारिलो स्थानमा स्थानान्तरण गरिने उहाँको भनाइ छ । लामाले भन्नुभयो, “गर्मीयामको चैतदेखि मङ्सिरको तेस्रो सातासम्म याकचौँरी उच्च लेकको पाटनमा रहने र हिउँदयामको मङ्सिरदेखि चैतको अन्तिमसम्म बस्तीनजिक राखिने गरिएको छ ।”

हिउँदयामको मौसममा उच्च लेकमा हिमपातको जोखिम हुने, चरन क्षेत्र हिउँले ढाकिने र अत्यधिक चिसोले याकचौँरी गोठालालाई सास्ती हुने हुँदा उच्च लेकमा पालन गरिएका याकचौँरी बस्ती नजिक स्थानान्तरण गरिन्छ । बस्तीमा हिउँ परे पनि छिटोे पग्लिने, गोठाला तथा याकचौँरीलाई न्यानो हुने र आहारा दिन सजिलो हुने कृषकको अनुभव छ ।

मुगमकार्मारोङ गाउँपालिकाका–२ का पूर्ववडाध्यक्ष कार्मा तामाङ चिसो र उच्च भूगोलमा पालन गरिएका याकचौँरीले हिमाली जडीबुटी खाने भएकाले यिनको मासु स्वादिलो र पोसिलो हुने बताउनुहुन्छ । चौँरीको दूधबाट दही, घिउ, छुर्पी चिजजस्ता परिकार बनाइन्छ । याकचौँरीको पुच्छर पूजाआजाका लागि प्रयोग हुने भएकाले महँगोमा बिक्री हुने गर्छ ।

तामाङका अनुसार याकचौँरी पालनका लागि बर्खायाममा केही सहज हुने भए पनि हिउँदयाममा हिमपात हुने भएकाले यिनको व्यवस्थापनमा चुनौती हुन्छ । यता मुगमकार्मारोङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास रावलका अनुसार  मुगमकार्मारोङ गाउँपालिकामा समुदायस्तरबाट याकचौँरी संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालयको सहकार्यमा यो आर्थिक वर्षमा याकचौँरी अनुदान कार्यक्रम रहेको छ । उहाँले अनुदान कार्यक्रमले कृषकलाई याकचौँरी संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।