• ११ मंसिर २०८१, मङ्गलबार

बढ्दो आर्थिक असमानता

blog

विश्व अर्थतन्त्र आर्थिक असमानताका कारण दिन प्रतिदिन सङ्कटग्रस्त बन्दै गएको छ। आर्थिक असमानताको तुवाँलोभित्र पुँजीवाद मडारिइरहेको छ। प्रकृतिले विश्वका मानव जातिका लागि जल, जङ्गल, जमिन पूर्ण रूपमा निःशुल्क उपहार प्रदान गरेको थियो तर आज निश्चित मानिसले आफ्नो कब्जामा लिई त्यसको भरपूर उपयोग गरेका छन्। आज राष्ट्र–राष्ट्रबीच मात्र होइन, एउटै देशका नागरिकबीच पनि असमानताको खाडल चरम उत्कर्षमा छ। यसो हुनुको प्रमुख कारण धनी मानिस नै राज्यको सत्ता सञ्चालन तहमा पुग्नु र यिनीहरूले मुलुकको स्रोतसाधन विनियोजन र उपयोगसम्बन्धी नीति निर्माण आफ्नो हित अनुकूल हुने गरी लागू गर्नु देखिन्छ। 

आर्थिक असमानताको आँखीझ्यालबाट हेर्दा पुँजीवादी व्यवस्थामा थुप्रै सङ्कट देखा परेका छन्; जसमा गरिबी, युद्ध, बढ्दो मूल्यवृद्धि, भोकमरी उत्कर्ष रूपमा छ। कोरोना महामारीपछि विश्व आर्थिक असमानताको डरलाग्दो खाडलतिर अगाडि बढिरहेको छ। शक्तिसम्पन्न अमेरिकादेखि नेपालजस्तै कैयौँ राष्ट्र आर्थिक विषमताको बढ्दो खाडलले पिरोलिइरहेका छन्। विश्वका धनाढ्य झन् धनी बनेका छन् भने विपन्न झन् झन् गरिबीमा धकेलिएका छन्। कोरोना महामारीको समयमा सबैभन्दा बढी खाद्य, ऊर्जा तथा फर्मास्युटिकल (औषधि) क्षेत्रले मुनाफा कमाएका छन्। खाद्य तथा कृषि क्षेत्रका अर्बपतिले महामारीका यी दुई वर्षमा सम्पत्तिमा तीन खर्ब ८२ अर्ब डलर अर्थात् ४५ प्रतिशतको वृद्धि गरेको देखिएको छ।

पुँजीवादी अर्थव्यवस्थाको आधारभूत उद्देश्य मुनाफा कमाउनु हो। यस व्यवस्थामा समाजमा व्यक्तिको हैसियत उसको सम्पत्तिका आधारमा निर्धारण हुन्छ। पुँजीवादी अर्थ व्यवस्थामा आर्थिक सामग्रीको उत्पादन र विवरणमा राज्यले खासै हस्तक्षेप गर्दैन। युद्ध, महामारी, भूकम्प तथा अन्य विपत्तिमा यस अर्थव्यवस्थामा धनाढ्य, ठूला उद्योगी, व्यवसायीले अतिरिक्त मुनाफा आर्जन गर्न हरेक वस्तु तथा सेवाको मूल्य वृद्धि गर्छन्। फोब्र्सको रियल टाइम इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनी बनेका छन्। उनको कुल सम्पत्ति १८६.३ बिलियन डलर रहेको छ । 

धनाढ्यको सूचीमा एलन मस्क दोस्रो स्थानमा छन्। ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियन डलर छ। हिजो उनी संसारकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा थिए भने उनको धनाढ्यको ताज बर्नार्ड अर्नाल्टले खोसेका छन्। अर्नाल्ट लक्जरी ब्रान्ड लुइस मिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन्। उनको यो बहुराष्ट्रिय निगम एलभीएमएचले अत्यधिक महँगो लक्जरी फेसन तथा कस्मेटिक उत्पादन गर्छ। 

त्यसबाहेक क्रिस्टियन डाचर, मार्क ज्याकोब्स र सेफोरामा पनि यसैको स्वामित्व छ। एलभीएमएचका स्वामित्व रहेका ७० कम्पनीमा ३० लाख डलर पर्ने डुङ्गा निर्माण गर्ने बेलायती कम्पनी र सेतो सुनले बेरिएको हजार डलरको स्याम्पियन उत्पादक पनि पर्छन्। एलन मस्क दोस्रो स्थानमा झर्नुमा इलेक्ट्रिक कार कम्पनी टेस्लामा भएको सेयरको मूल्यमा तीव्र गिरावट आएपछि उनी दोस्रो स्थानमा गए। एलन मस्क सेप्टेम्बर २०२१ देखि धनाढ्यको सूचीमा पहिलो थिए। उनी दोस्रो स्थानमा झरेको यो पहिलो पटक हो।

आर्थिक असमानताको आँखीझ्यालबाट हेर्दा पुँजीवादी व्यवस्थामा थुप्रै सङ्कट देखा परेका छन्; जसमा गरिबी, युद्ध, बढ्दो मूल्यवृद्धि, भोकमरी उत्कर्ष रूपमा छ। कोरोना महामारीपछि विश्व आर्थिक असमानताको डरलाग्दो खाडलतिर अगाडि बढिरहेको छ। शक्तिसम्पन्न अमेरिकादेखि नेपालजस्तै कैयौँ राष्ट्र आर्थिक विषमताको बढ्दो खाडलले पिरोलिइरहेका छन्।

भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक हो। यद्यपि भारतमा आर्थिक असमानता तीव्र गतिमा बढ्दो छ। आज पनि ३० करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन्। भारतमा दुई जना व्यक्ति धनाढ्यको सूचीमा आएका छन्। भारतका गौतम अडानी धनीको वरीयतामा तेस्रो स्थानमा छन्। उनको कुल सम्पत्ति १३४.८ बिलियन डलर छ। त्यस्तै गरेर भातरको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी अर्बपतिको सूचीमा आठौँ स्थानमा छन्। अम्बानीको कुल सम्पत्ति ९३.३ बिलियन डलर छ।

कोभिड महामारीको समयमा विश्वका धनाढ्यले सम्पत्ति आर्जन गर्न सफल भएका थिए। विश्व बैङ्कको तथ्याङ्कअनुसार कोभिडको समयमा अर्नाल्ट विश्वका दस धनी व्यक्तिमध्ये एक थिए। त्यो अवधिका उनका निगमको सात खर्ब डलरको सम्पत्ति १५ खर्ब बराबर बनाएका थिए। अर्थात् हरेक सेकेन्डमा १५ हजार डलर वा हरेक दिनमा एक अर्ब ३० करोड डलर बराबर सम्पत्ति आर्जेका थिए।

विस्तृत रूपमा हेर्ने हो भने १० लाख डलरभन्दा बढी सम्पत्ति भएका १ प्रतिशत मानिसका हातमा विश्वका लगभग आधा जनसङ्ख्या (४५ दशमलव आठ प्रतिशत) बराबरको सम्पत्ति छ। पत्रकार ज्याकोविनका शब्दलाई सापटी लिँदा धनाढ्यले अवैध सम्पत्ति आर्जन गर्छन्। त्यो सम्पत्ति उनीहरूले अन्तरिक्षमा उडान, निजी प्रहरी बल खरिद र त्रासद राजनीतिक व्यवस्थाको सिर्जना गर्नुको अलावा पुरातात्वीक महत्वका वस्तु खरिद गर्छन्। अर्नाल्टले दुई करोड डलरको हीराको हार खरिद गरेका थिए। 

वर्तमान पुँजीवादी अर्थव्यवस्थाले यो बढ्दो असमानताको घडीलाई रोक्ने कुनै छेकछन्द छैन। यो चरम आर्थिक असमानताको परिमाण दीर्घकालीन प्रकृतिको छ। यदि यो असमानतालाई सम्बोधन गरिएन भने विश्वमा सामाजिक अशान्ति बढ्नेछ, विकासका काममा ब्रेक लाग्नेछन् र पछिल्ला वर्षमा गरिबी रोक्न भएका सारा प्रयास खेर जानेछन्। हिकल इन्स्टिच्युट अफ इन्माइसमेन्टल साइन्स एन्ड टेक्नोलोजीको प्रा. ज्याक्सोन हिकल भन्छन्– अकुपाई वाल स्ट्रिट आन्दोलन भएको दस वर्षभन्दा बढी समय बितिसक्दा पनि असमानता अझै विश्वव्यापी रूपमा एउटा गम्भीर राजनीतिक चिन्ताको रूपमा विद्यमान छ। बेलायतमा शून्य दशमलव एक प्रतिशत धनीको आय र न्यूनतम ज्याला कमाउनेको आयमा असमानताको अनुपात १:१५० पुगेको छ। 

त्यसैगरी बेलायतमा सबैभन्दा उच्च सेयर मूल्य भएका सय कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) र न्यून तलब पाउने कर्मचारीबीचको औसत तलबको अनुपात १:१०० रहेको छ। यस्तो असमानता अन्य कैयौँ राष्ट्रमा विद्यमान छन् तर अमेरिकामा भने यस्तो असमानता अचाक्ली छ, अर्थात् आय अनुपात १:१००० भन्दा बढी हुने गर्छ। यो असमान आयको ब्यारोमिटर धेरै हदसम्मको निर्मम छ। 

फेरि पनि ज्यासोन हिकलका शब्दलाई सापटी लिँदै भन्नुपर्दा असमानताले समाजको क्षयीकरण गर्छ र लोकतन्त्रलाई विषाक्त बनाउँछ। यति मात्र नभई असमानता पारिस्थितिक प्रणालीका लागि पनि खतरनाक छ। धनीले असाधारण मात्रामा ऊर्जा खपत गर्छन्, यसको नतिजा उच्च कार्बन उत्सर्जन हुन्छ र कार्बन न्यूनीकरण (डिकार्बनाइजेसन) थप पेचिलो बन्दै जान्छ। हालै मिलवार्ड हप्किन्सको एक अध्ययनले कार्बन न्यूनीकरणका लागि धनीको क्रय क्षमता घटाएर स्रोतको न्यायपूर्ण विस्तार गर्नुपर्छ भन्ने निचोड निकालेको छ तर कति मात्रामा असमानता घटाउने त ? कतिसम्मको असमानतालाई जायज मान्ने ? 

सो अध्ययनले स्वीकार्य जीवनस्तरका लागि आवश्यक स्रोतमा सबैको पहुँच छ भन्ने प्रत्याभूति छ वा छैन भनेर हेर्नुपर्छ। छ भने यस्तो वितरण गरिनुपर्छ; जहाँ सबैभन्दा धनी र न्यून आय भएकाको आम्दानी अनुपात बढी १:६ मा सीमित पारिनुपर्छ। र, यो अनुपात जलवायु स्थिरता हासिल गर्न उपयुक्त हुनेछ। यो वितरण आमूल परिवर्तनकारी लाग्न सक्छ तर वास्तवमै यो वितरण समानतातर्फको ‘ठीकठाक’ अनुपात हुन आउँछ। अर्जेन्टिना, नर्वे, टर्कीलगायत धेरै राष्ट्रका जनता असमानता थप कम होस् अर्थात् १:४ होस् भन्ने चाहन्छन्। वास्तवमा मानिस न्यायपूर्ण एवं समतामूलक समाज चाहन्छ। आज विश्वमा धनी र गरिबबीचको खाडल बढ्नुमा लोकतान्त्रिक शासनभित्रको पुँजीवादी अर्थव्यवस्था हो। यो असमानताको बढ्दो खाडल पुर्न यो व्यवस्थाबाट सम्भव छैन किनभने पुँजीवादले खुला व्यापार नीतिको समर्थन गर्दछ। यस नीतिमा जसले जति पनि जसरी पनि कमाउन सक्छ । राज्यले खासै त्यसमा अङ्कुश लगाउन मिल्दैन।