ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), माघ ३ गते । बेनीका १३ वर्षीय अप्रिम श्रेष्ठले हनुमानको भेषमा सजिएर ‘हनुमान नाच’ नाच्नुभयो । अप्रिमका लागि हनुमान नाच पहिलो अनुभव थियो । पुर्खाले संरक्षण गरेको कला–संस्कृतिका रूपमा रहेको हनुमान नाच प्रदर्शन गर्न पाउँदा श्रेष्ठ उत्साहित र खुसी देखिनुहुन्थ्यो ।
यस्तै २२ वर्षीय अभिनेष श्रेष्ठ हनुमान नाच नाच्न सिपालु भइसक्नुभएको छ । बेनीमा आयोजना गरिएको सातौँ म्याग्दी महोत्सवका अवसरमा बेनीको नेवार समुदायले पुरानो ऐतिहासिक हनुमान नाच प्रदर्शन गरेको हो । हनुमान नाचका १८ कलाकारमध्ये १७ जना युवा थिए ।
झ्याली र मृदङ्गाको तालमा हनुमानको भेष पहिरिएर यो नाच नाचिन्छ । नौ जोडी कलाकार जामा लगाएर खुट्टामा छमछम बज्ने चाँप, सिमलीको पुच्छर, हातमा लौरो समातेर एकआपसमा सङ्गीतको तालमा लौरो जुधाउँदै नाच्ने गर्छन् । हनुमान नाचका घुमाउने ताल, बाह्र ताल, चौबीस ताल र सलामी गरी चार ताल हुन्छन् । नेपालभाषा मंकाः खलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएर लामो समयपछि बेनीमा हनुमान नाच देखाएको हो ।
हाम्रो कला र संस्कृति संरक्षण गर्ने दायित्व युवापुस्ताको भएकाले हनुमान नाच संरक्षणमा युवाहरू जुटेको निरञ्जन श्रेष्ठले बताउनुभयो । “हाम्रो पुरानो कलाको संरक्षण गर्ने दायित्व हाम्रै हो,” श्रेष्ठले भन्नुभयो, “हाम्रो पहिचान जोगाउने मुख्य जिम्मेवारी हामी युवाको काँधमा छ ।”
हनुमान नाचमा कलाकार, वाद्यवादक, पुजारी, मुख्य (प्रधान केजी) व्यवस्थापक आदि गरी ८० देखि १०० जनाको समूह आवश्यक पर्छ । पूजा विधि गरेर हनुमान नाच देखाउने प्रचलन छ ।
पूजा गर्ने दिनमा कलाकारदेखि लिएर वाद्यवादक, व्यवस्थापक समितिका पदाधिकारीहरू नित्य चोखो हुनुपर्ने नियम छ । हनुमान नाचको विशेषता भनेको सङ्गीतको तालमा लट्ठी जुधाउने र पूजा गर्दा हनुमान उत्रने (काँप्ने)लाई विशेष मानिन्छ ।
हनुमान नाच थालनी गरिएपछि प्रत्येक टोलमा पूजा गर्ने प्रचलन भएकाले यो नाच लामो समयसम्म चल्छ । अन्त्यमा मन्दिरबाट पूजा गरी नाच समापन गरिन्छ ।