• १० मंसिर २०८१, सोमबार

माघे सङ्क्रान्ति र टोखाको चाकु

blog

काठमाडौँ, पुस २९ गते । माघे सङ्क्रान्ति नजिकिएसँगै चाकुको बजार बढेको छ। काठमाडौँमा उत्पादन हुने चाकु उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्छ। तुँ ख्यः अर्थात् उखु बारी टोखाको चाकु लोकप्रिय मात्र होइन धेरैको रोजाइमा पर्छ। प्राचिनकालदेखि नै नेवार समुदायले टोखामा चाकु बनाउने गरेको परम्परा रहेको छ। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार, त्यही बेलादेखि नेपाल भाषामा ‘टोखाया चाकु’ भनेर चर्चित रहेको थियो। यसरी नाम कमाएको टोखाको चाकु अहिले १४ वटा संस्थामार्फत उत्पादन भइराखेको छ। अहिले टोखामा उखु नभएता पनि बाहिरबाट आएको सख्खरबाट बनेको चाकु प्रसिद्ध छ।  टोखाको चाकु चाम्रो र मिठो हुने उहाँको भनाइ छ। 

चाकु बनाउन सबै जना एकै ठाउँमा बस्नुपर्छ। सङ्गठन बनाएर अहिले चाकु बनाउने काम भइरहेको छ। समूहबाट चाकु बनाउँदा फाइदा हुन्छ। सबै परिकार एकै ठाउँमा बन्छ। ती समूहमध्ये जसले बनाए पनि सबैले त्यसको स्वाद लिन सकिन्छ। 

सादा चाकु बनाउँदा सख्खर र पानी मात्रै प्रयोग हुने गर्छ। यो हाइजेनिक तथा स्वास्थ्य वर्धक हुन्छ। खुवा चाकु बनाउँदा ड्राइ फुडलाई प्राथमिकता दिइन्छ। सादा चाकु पूजापाठमा प्रयोग हुने हुनाले बढी महत्त्व दिने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ। 

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो। अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउने गरिएको छ। पहिले थोरै मात्रामा बनाउने गरेको चाकु अहिले १२ महिना उत्पादन हुन्छ।

नेवार समुदायमा चाकुको विशेष महत्त्व यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा हुने गर्छ। पुसमा पकाएर माघमा खाने भनाइ अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते बनाउने काम नगरी सम्पूर्ण परिवार एकै साथ मिलेर घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन रहिआएको उहाँले बताउनुभयो। 

टोखामा चाकु बनाउने १४ वटा सङ्घ संस्था समाजमा अबद्ध भए पनि आ–आफ्नै तरिकाले चलिरहेको छ। यसका लागि जनशक्ति चाहिन्छ। त्यो बाहिरबाट मगाउने गरिएको छ। चाकु बनाउने संस्थामा करिब तीन सय नेपाली कामदारले काम पाएका छन्। करिब पाँच सय मानिस बजार व्यवस्थापनको काम पाएको उहाँले सुनाउनुभयो। २२ जना कामदार रहेको टोखा परम्परागत चाकु उद्योगमा समूह–समूह गरी काम भइरहेको छ। यो उद्योगमा चाकु, तिलौरा तथा तिलको लड्डुलगायतको खानेकुरा बन्छ। 

नेवार समुदायमा चाकुको विशेष महत्त्व यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा हुने गर्छ। पुसमा पकाएर माघमा खाने भनाइ अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते बनाउने काम नगरी सम्पूर्ण परिवार एकै साथ मिलेर घिउ, चाकु, सखरखण्ड, रातो मूलालगायतका परिकार खाने चलन

टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठका अनुसार, प्रत्यक्ष अप्रत्यक्ष गरेर करिब ३५ सय मानिसले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिना पूर्ण रोजगारी पाउँछन्। 

स्वास्थ्यको दृष्टिले चाकु जाडो महिनामा खानु राम्रो मानिन्छ। पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले बनाउने गरिएको छ। हातले बनाएको चाकु फुल्छ भने मेसिनले फिटेको चाकु कम फुल्ने गरेको उहाँको अनुभव छ।

टोखा परम्परागत चाकु संरक्षण समाज निर्माणपछि भने टोखामा उत्पादन हुने चाकुको स्वादमा एकरूपता आएको तथा ग्राहकले स्वस्थ चाकु तथा चाकुबाट बनेका परिकार लिन पाएको समाजका अध्यक्ष श्रेष्ठले बताउनुभयो।


भिडियोः मनोज रत्न शाही/केशब गुरुङ