• १६ चैत २०८०, शुक्रबार

सडक भत्काउने समस्या समाधान गर्न पहल

blog

काठमाडौँ, पुस २९ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकाका सडक पटक–पटक भत्काउने गरेको समस्या समाधानका लागि पहल थाल्नुभएको छ । मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायले भत्काएर खाल्डा बनाउने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधानका लागि पहल थाल्नुभएको हो ।

उहाँले समस्या समाधानका लागि बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गर्नुभयो । सडक विभागले बनाएका सडक प्राधिकरण, खानेपानी, दूरसञ्चारजस्ता सरकारी निकायहरूले नै भत्काउने गरेको भन्दै आलोचना भइरहेका बेला श्रेष्ठले समन्वयमा काम गर्न भविष्यमा त्यस्तो हुन नदिनका लागि बैठक आयोजना गरिएको हो ।

उहाँले सरकारी निकायहरूबीच समन्वयको अभावले सडक भत्किने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिनुभयो । “भविष्यमा सबै निकायले एकीकृत योजना बनाउनुपर्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “एकले अर्कालाई दोष दिएर होइन परिणाम आउने गरी काम गर्नु जरुरी छ ।” एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउँदा त्यसले जनतामा नकारात्मक असर परेको भन्दै उहाँले अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समन्वयमा काम गर्न आफूहरू तयार रहेको बताउनुभयो । “कहाँ समस्या छ, हामीबीच समन्वय गरेर मिलेर काम गरौँ । हामी तत्काल समस्या समाधान गर्ने हिसाबले तीव्ररूपमा काम गर्दछौँ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्कीले भन्नुभयो, “पुरानो पाइपको नेटवर्कबाट पानी गएकाले समस्या आएको हो । जहाँ–जहाँ लिकेज छ, हामी तीव्र गतिमा टाल्छौँ ।” मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटाले अहिले पुरानै च्यानलबाट पानी गएकाले समस्या आएको बताउँदै आगामी असारसम्म समस्या समाधान गरिसक्ने बताउनुभयो । “असारसम्ममा सबै परीक्षण गरिसक्छौँ । त्यसपछि नयाँ पाइपबाट पानी पठाएपछि पानीका कारण समस्या आउने छैन”, उहाँले भन्नुभयो ।

दूरसञ्चार संस्थानका उपमहानिर्देशक विनिता प्रधानले भविष्यमा सहर निर्माण गर्दा सडक विभागलाई ‘युटिलिटी डक्ट’ प्रयोग गरिदिन आग्रह गर्नुभयो । त्यसको लागत बेहोर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो । यसैगरी सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागले बनाएका सडकहरू भत्काएपछि त्यस्तै गुणस्तरको नबनाइदिने गरेको गुनासो गर्नुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल एवं सहसचिवहरूको उपस्थिति रहेको थियो ।