• ८ पुस २०८१, सोमबार

बजेट ल्याउन नसक्दा सम्पूर्ण काम प्रभावित

blog

रौतहट समाचारदाता

रौतहट, पुस २८ गते । रौतहटको बौद्धिमाई नगरपालिकाको नगर सभा नहुनाले नगरको विकास निर्माण कार्यलगायतका कामकाज प्रभावित भएका छन् । 

चालू आर्थिक वर्ष २०७९/८० को छ महिना बितिसक्दा पनि नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निमार्णका कार्य प्रभावित, विद्यालयमा सञ्चालन हुने दिवा खाजा तथा कर्मचारीको तलब भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

चालू आर्थिक वर्ष सुरु भएको छ महिना बित्न लाग्दा पनि रौतहटको बौधिमाई नगरपालिका बजेटविहीन छ । बजेट प्रस्तुत नहुँदा पालिकाको दैनिक कार्य, आर्थिक तथा विकास निर्माणलगायतका सम्पूर्ण कार्य लथालिङ्ग भएका छन् । शिक्षक र पालिकाका कर्मचारीले छ महिनादेखि तलब खान पाएका छैनन् । विद्यालयका बालबालिका दिवा खाजाबाट वञ्चित छन् । पालिकाको विकास निर्माणको काम ठप्प छ । तलबविहीन शिक्षक एवं कर्मचारी आर्थिक सङ्कटमा परेका छन् । जिल्ला शिक्षक सङ्घका अध्यक्ष रामकृपाल यादव भन्नुहुन्छ, “लामो समयदेखि तलब खान नपाएपछि शिक्षक विद्यालय जान आलटाल गर्न थालेका छन् भने खाजाविहीन बालबालिका विद्यालय जान नै छोडेका छन् ।”

कार्यपालिका सदस्यले पालिकाको ६० प्रतिशतभन्दा बढी बजेट माग गरेपछि बजेट पास हुन नसकेको नगरप्रमुख प्रदीप यादवको भनाइ छ । उहाँका अनुसार नगर सभा सम्पन्न गर्न आठ पटकसम्म कार्यपालिकाको बैठक बोलाइयो । बैठकमा सदस्यको बीचमा समन्वय हुन सकेन । १८ वटा पालिका रहेको रौतहटमा बौधिमाई नगरपालिकाले मात्रै बजेट ल्याउन सकेन । 

नगरपालिकाको विभिन्न समिति तथा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्यबीच विवाद बढ्दै गएर नगर सभा नहुँदा बजेट रोकिएको तथा पटक–पटक कार्यपालिका सदस्यको बैठक बसेको भए पनि नगर सभा गरेर बजेट ल्याउन पक्ष विपक्ष बीच विवाद उत्पन्न हुँदा नगर सभा अन्यौलमा परेको छ ।

बैठकमा आर्थिक समिति, पूर्वाधार विकास समितिलगायत पाँचवटा मूल समिति र सातवटा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्यबीच सहमति नहुँदा नगर सभा प्रभावित बनेको निमित्त प्रशासकीय अधिकृत रामेश्वर राय यादवले बताउनुभयो ।

सङ्घ र प्रदेशको निर्वाचनपश्चात् पाँच पटकसम्म बसेको बैठकमा पालिकाका सबै सदस्य सकारात्मक देखिएकोले केही दिनभित्र नगर सभा बस्ने पत्राचार गरिने नगरप्रमुख प्रदीपकुमार यादवले बताउनुभयो । बजेट पारित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रमुख यादव वार्षिक बजेट नआउँदा पालिकामा विकास निर्माणका साथै तलब, भत्ता, दिवा, खाजा प्रभावित बनेको स्वीकार गर्नुहुन्छ ।