• १६ चैत २०८०, शुक्रबार

माघे सङ्क्रान्तिमा चाकु

blog

 काठमाडौँ, पुस २७ गते । माघेसङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यति बेला सबैलाई लोभ्याउने गरेको छ । माघेसङ्क्रान्तिमा खाइने प्रमुख परिकारमध्ये एक हो, चाकु । विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढङ्गले चाकु बनाउने गरेको छ । काठमाडौँको असन, इन्द्रचोक, भक्तपुरका विभिन्न स्थान र ललितपुरको पाटनलगायत क्षेत्रका बासिन्दाले चाकु बनाउँदै आएका छन् ।

पोसिलो चाकुलगायतका मिठाई बनाएर अन्नसँग साट्ने परम्परादेखि नै टोखामा चाकु बनाउने चलन पुर्खाले चलाएको स्थानीय ७७ वर्षीय चाकु व्यवसायी काशीलाल श्रेष्ठले बताउनुभयो । टोखाको पहिचान चाकुको परिकार बनाउने उहाँको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचौँ पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा पनि उत्तिकै फराकिलो भएको छ । विशेषगरी माघेसङ्क्रान्तिका दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीका हरेक घरमा छ । 

चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो, सेतो लडडु बनाउँछन् । चाकु उत्पादक बुद्धकुमार श्रेष्ठका अनुसार पछिल्लो समय मसलादार र स्पेसल चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेष चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । मसला मिसाइएका विशेष चाकुको मूल्य अन्यभन्दा महँगो हुने जानकारी श्रेष्ठले दिनुभयो । व्यवसायी श्रेष्ठका अनुसार ठूलो तामाको भाँडामा सखर–पानीलाई १२० देखि १३० डिग्री सेल्सियस तापक्रममा उमाल्ने र बाक्लो भएपछि त्यसलाई केही बेर चिसो बनाउन अर्को भाँडोमा खन्याउने गरिन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर चाकुको सुनौलो पहेँलो रङ आउन्जेल सरसर तानिन्छ । त्यसपछि प्याकिङ गरिन्छ । पकाएको सखर ज्यादै तातो हुने भएकाले चाकु बनाउन निपुण कालिगडले मात्र खम्बामा तान्ने काम गर्न सक्छन् । 

संस्कृतिविद् चन्दा वज्राचार्यका अनुसार चिसो मौसममा चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । माघेसङ्क्रान्तिमा काँचो घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे ।” पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने जानकारी दिनुभयो । उहाँले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिनुभयो । बालबालिकालाई चिनीको साटो चाकु वा सखर दिन सके धेरै राम्रो हुने उहाँले बताउनुभयो । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमको यो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकुको प्रयोग सबै उमेर समूहका मानिसका लागि उपयोगी हुने उहाँको सुझाव छ । चाकुमा चिसो मौसमले मानव शरीरमा पार्ने असरलाई रोकथाम गर्ने औषधीय गुण रहेकाले माघेसङ्क्रान्तिमा चाकु खानु सांस्कृतिक महŒवका साथै औषधि विज्ञानअनुसार पनि फाइदाजनक मानिन्छ । सुत्केरी महिला र शरीर कमजोर भएकाले चाकु खाएमा शरीरमा तागत दिने गर्छ ।