• ७ वैशाख २०८१, शुक्रबार

विराटनगर सुपर किंग्स फाइनलमा

blog

जनकपुरलाई हराएपछि विराटनगरका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस २६ गते । विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । फाइनलमा विराटनगरले बुधबार लुम्बिनी अल स्टारसँग प्रतिस्पर्धा गर्नेछ । 

जितमा लागि विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रनमा समेटिएको थियो । जनकपुरका लागि चाडविक वाल्टनले ५१ रन बनाउनुभयो ।

कप्तान ट्राभोन ग्रिफिथले ३४ र खडक बोहोराले १४ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा विराटनगरका कियोन जोसेफले तीन विकेट लिनुभयो । राज नानन र नन्दन यादवले दुई दुई तथा सूर्य तामाङ र हुसेन तलतले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्मा ४२ रन बनाउनुभयो । अर्जुन साउदले ३५, राज नाननले ३३ र हुसेन तलतले ३१ रन बनाउनुभयो । 

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिनुभयो । सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले एक एक विकेट लिनुभयो । विराटनगरका राज नानन प्लेयर अफ दि म्याच हुनुभयो ।

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।