• १० मंसिर २०८१, सोमबार

एकताको मियो (कविता )

blog

हे पृथ्वी ! अति धीर  शूर बलवान् हे राष्ट्रका गौरव 

तिम्रो साहस धैर्यता अति थियो जित्दै हिँडेथ्यौँ तब

हाम्रा नायक हे ! तिमी मुलुकका हौ एकताका मियो

तिम्रो आँट र दूरदृष्टि सबले यो देश यौटै भयो । 


टुक्रे राज्य थिए यहाँ तरहका ईश्र्या थियो बेसरी

लड्थे ती बिचरा सदैव किन हो तेरो र मेरो गरी

केही राज्य थिए असाध्य बलिया सम्बन्ध राख्दै गयौ

तिम्रो आँट अदम्य धैर्य बलले जित्दै अगाडि बढ्यौ । 


तिम्रै कारणले छ उच्च शिर यो हामीहरूको सधैँ

वाणी ती जहिले पनि अमर छन् ती काम लाग्छन् अझै

साह्रै वीर वडो कुशाग्र नृप हे यो राष्ट्र निर्माणमा

तिम्रो देन थियो र मात्र अहिले बस्छौ सदा यादमा । 


हाम्रो देश अझै विकास नहुँदा उठ्नै नसक्ने भयो 

आफ्नै स्वार्थ बढी सधैँ हुन गयो यो देश गिर्दै गयो                                                   

केही छैन उपाय यो मुलुक नै पुग्ला कताझैँ भयो

तिम्रो त्यो सपना कतातिर गयो खै के भयो के भयो ? 


ऐले राष्ट्रिय भावना पर भयो सद्भावना अन्त्य भो

नातावाद बढेर आज चुलियो संस्कार घट्दै गयो               

राम्रो काम गरी तिमी अमर छौ सत्पात्र हौ देशका

तिम्रो देन थियो ठूलो र जसले छौ सम्झनामा सदा ।