किराँत जातिभित्र अनेकौँ प्रजाति छन् । तीमध्ये एउटा प्रजाति हो– थुलुङ । थुलुङ राईको मुन्दुममा आधारित ‘मियप्मा’ महाकाव्य डा. चमा थुलुङको नवीनतम कृति हो । प्रकृतिपूजक यस जातिको आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिस्थिति, आचरण र व्यवहार छन् । यिनै कुरालाई अक्षरमा उनेर ‘मियप्मा’ महाकाव्य प्रकाशन भएको हो । प्राध्यापन क्षेत्रमा आबद्ध थुलुङका एक दर्जन कृति नेपाली साहित्यिक पाठकले रसास्वादन गरिआएका छन् । दुई वर्ष लगाएर तयार पारिएको यो महाकाव्य उहाँको पछिल्लो सङ्ग्रह हो ।
यो महाकाव्यको युग होइन, ठुला ठुला ग्रन्थ अहिलेको युगमा कसैले पढ्दैनन् भन्ने भनाइलाई उहाँले चुनौती दिनुभएको महसुस हुन्छ । निकै कमले मात्र कलम चलाउन आँट गर्ने विकट विधालाई पक्रेर उहाँले महाकाव्य लेख्नुभएको छ । महाकाव्य आफैँमा दुरुह र क्लिष्ट प्रबन्धकाव्य हो । गद्यमा आधारित यो महाकाव्य किराँतको जातीय दर्शनलाई प्रकटीकरण गर्ने उद्देश्यले अगाडि आएको देखिन्छ ।
मुन्दुमलाई सामान्य अर्थमा किराँती धर्मशास्त्रका रूपमा चिनिन्छ । मुन्दुम र वेद लगभग उस्तै मानिन्छन् । मानव विकासक्रममा संस्कृति, श्रुति, स्मृति, रीति परम्परा, कर्ण परम्परा, उत्थान, पतन, ज्ञान, विज्ञान, किंवदन्ती विशाल ज्ञानका भण्डार हुन् । यी सबै मुन्दुमभित्र पाइन्छ । ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र, चन्द्र, पृथ्वी, प्रकृति आदिको स्तुति प्रार्थना वेदले गरे जसरी नै मुन्दुमले पनि गर्दछ, गर्न सिकाउँछ । अतः यो मानव आस्थाको केन्द्र पनि हो । ‘मियप्मा’ महाकाव्य मुन्दुमको सृष्टि विज्ञानको विषयवस्तुलाई केन्द्र भागमा राखेर डा. चमा थुलुङले तयार पार्नुभएको छ ।
यस महाकाव्यमा पृथ्वीको सृष्टि प्रक्रियादेखि लिएर मानव सृष्टिसम्मका दर्शनहरू समाविष्ट गरिएका छन् । त्यसो त सृष्टिदर्शन आफैँमा एउटा विवाद र बहसको विषय पनि नभएको होइन । डा. चमा थुलुङले भने यस महाकाव्यमा सृष्टिदर्शन अन्तर्गत समन्वयवादी चिन्तन धारालाई आफ्नो प्रमुख भावभूमि बनाएर अगाडि बढाउनुभएको छ । आदिम मानव निनाम्रङ्मा, मियप्मादिबाट परिपोषित आधुनिक मानव समुदाय हुन् भन्ने विकासवादी चिन्तन देखाउनु नै यो महाकाव्यको अभीष्ट रहेको कुरा पुस्तक पढ्दा ज्ञात हुन पुग्छ ।
प्रस्तुत महाकाव्यभित्र पृथ्वी, वनस्पति र जीवजनावरको सृष्टिका कुरा छन् । मानव सृष्टिको प्रारूप जेथामेथाबुङ, मानव अस्तित्वमा निनाम्रङ्मा, मियप्माको जन्म, यौवनावस्था, विवाह प्रयास तथा उनको गर्भिणी अवस्था र गर्भज सन्ततिका कुराहरूलाई पनि बडो सुबोध शैलीमा प्रस्तुत गरिएको छ । त्यसै गरी श्रम विभाजन, लोलोको वानप्रस्थ, मियप्माको अवसान, बुवामको वानप्रस्थ, छिनीको वानप्रस्थ, मिनी, नेवालाकङ्क डाँडा र विवाह, अवसान र काँचुली गरी जम्मा सत्र सर्गमा महाकाव्य पूर्ण भएको छ । मङ्गलाचरणबाट महाकाव्य सुरु गर्नु पर्छ भन्ने साहित्यका आचार्य विश्वनाथको परिभाषा अनुसार नै आमुखमा ‘आलस्यो’ अर्थात् नमस्कार शीर्षक दिएर यो कृति सुरु हुन्छ । त्यसै गरी महाकाव्यका लागि कथाको स्रोत ऐतिहासिक हुनु पर्छ, सज्जनको प्रशंसा र दुर्जनको निन्दा तथा प्रकृतिको वर्णन हुन् पर्छ भन्ने आचार्यहरूको भनाइप्रति पनि चमा थुलुङ अत्यन्त सावधान भएर त्यसको प्रयोग सही ठाउँमा गर्न किञ्चित पछि पर्नुभएको छैन । यसरी महाकाव्यमा हुनुपर्ने बारबन्देजको थुलुङले राम्ररी परिपालना गरेको देखिन्छ । ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भहरूको प्राधान्यका कारण १७६ पृष्ठको यो कृति महाकाव्यको दर्जामा बस्नलायक बनेको छ । यसमा थुलुङ नेपाली शब्दार्थसमेत दिइएकाले त्यसको अर्थभाव बुझ्न थप सहयोग पुगेको छ ।
महर्षि वाल्मीकि, महर्षि कृष्णद्वैपायन, वेदव्यास, कालिदास, माघ, भारवि, भट्टि आदिले थुप्रै संस्कृत महाकाव्य रचना गरेका छन् । यी ग्रन्थले महाकाव्यका लागि केही लक्ष्मणरेखा, सीमा र परिधि निर्देश गरी निर्माणका लागि मार्गप्रशस्त गरिदिएका कारण त्यसपछि आउने महाकविलाई यस विधामा आएर अलमलिनु परेन, दुबिधा रहेन ।
महाकाव्य लेख्नुपूर्व विषयवस्तु छनोट र निर्धारण प्रमुख तथा महत्वपूर्ण कार्य हुन्छ । यसको परिपालन हुन नसक्दा कतिपय महाकाव्य लेखिए पनि महाकाव्यको कोटीमा पर्न नसकेका कैयौँ उदाहरण पनि नपाइने होइनन् । अतः यस्ता कुरामा महाकाव्यकार चनाखो हुनु अत्यन्त समीचीन हुन जान्छ । यसमा पौराणिक परिवेश र श्रुति परम्पराबाट आएका मिथकहरूलाई समेत आधुनिकताको लेप लगाएर कथा र विषयवस्तुका दृष्टिले परिपक्व पारिएको छ । यसका लागि चमा थुलुङ बधाईका पात्र हुनुहुन्छ ।
जीवनजगत्का यावत् विषयवस्तु महाकाव्यको भावभूमि बन्न सक्छ । एकताका देवीदेवता, राजामहाराजा, माथिल्लो शासक वर्ग मात्र महाकाव्यका पात्रपात्रा वा विषय हुनु पर्छ भन्ने चेतलाई अहिलेको युगले च्यातिसकेको छ; जसको उदाहरण देवकोटाको शाकुन्तललाई नै लिन सकिन्छ । यसमा आधुनिकताको विम्ब प्रतिविम्ब नझल्केको होइन । त्यसै गरी उहाँको अर्काे महाकाव्य ‘सुलोचना’ पनि आधुनिक सामाजिक पृष्ठभूमिलाई आधार बनाएर आएकै हो । बालकृष्ण समको ‘चिसो चुल्हो’ त झन् महाकाव्यको कथा र विषयवस्तुका दृष्टिले व्रmान्तिकारी नै ठहरियो । यसमा सन्ते दमाई र गौरी क्षेत्रिनीबिचको कथावस्तु रहेको छ । मियम्पाको कथावस्तु, पात्रपात्रा, चरित्र, ऐतिहासिकता, प्रकृति वर्णन जस्ता अनेकौँ कोणबाट पनि यो महाकाव्यका रूपमा आएको प्रस्टिन्छ ।
पद्यमा छन्दोबद्ध गरी श्लोकमा तयार पारिएका कृति मात्र महाकाव्य हुन् भन्ने सोचमा परिवर्तन आउँदै छ । गद्य कविताको माध्यमलाई पनि महाकाव्यका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा ‘चिसो चुल्हो’ मा समले विशिष्ट प्रयोग गरेर देखाइसक्नुभएकै हो । आधुनिक भावबोधको अभिव्यक्तिका सन्दर्भमा गद्य कविता एउटा सबल माध्यम भएको छ । यसलाई पनि महाकाव्यको विशिष्ट अङ्गका रूपमा नेपाली साहित्यले ग्रहण गरिसकेको परिप्रेक्ष्यमा आएको यो महाकाव्यमा काव्यिक प्रवाह सुललित रूपमा बगेको छ । महाकाव्य संरचनामा हुने विशेषताहरूलाई समेत यसले अङ्गीकार गरेको छ । कहीँ कहीँ यसले शास्त्रीय मान्यतालाई परिमार्जन गर्दै महाकाव्यको गुण बढाउने काम पनि गरेको छ । पछिल्ला दशकमा केही महाकाव्य केवल रहर, लहड, होडबाजी र अज्ञानवश पनि नजन्मिएका होइनन् । यस सन्दर्भमा यसरी थुलुङ जातिको धर्मशास्त्र मुन्दुमलाई नै आधार मान्दै यसैमा वर्णित कथावस्तुलाई आफ्नो अनुमान, कल्पना र श्रुतिपरम्परालाई समाउँदै आफ्नै श्रम, सिप र गहन साधनाले महाकाव्यको रूप दिएर यो कृति रचना गर्न सक्नु आफैँमा ठुलो उपलब्धि हो ।
थुलुङ जाति आफ्नै ऐतिहासिक महत्व र परम्परा बोकेको एक प्रजाति हो । अहिले ऊ यसैको संरक्षणमा लागिपरिरहेको आभाससमेत हुन्छ । महाकाव्यका निमित्त उदात्त चरित्र, उदात्त वातावरण, उदात्त उद्देश्य, उदात्त शिल्पशैली र कथानकको आवश्यकता पर्छ । यो उदात्त प्राप्तिका निमित्त गहन साधना, अथक प्रयास, विराट् चिन्तन र व्यापक भाव प्रस्तुतिको अपरिहार्यता रहन्छ । केवल श्लोक सङ्ख्याको बहुलता, नायकनायिकाको चरित्राङ्कन र आकारमा स्थूलता मात्र महाकाव्यको सीमा परिधि होइन । महाकाव्य त गुणात्मक गरिमा र भव्यतासँग सम्बन्धित हुन्छ । वस्तुगत यथार्थलाई काल्पनिक अतिशयोक्तिले दबाएर काव्य सिर्जना गर्ने परिपाटी नितान्त पुरानो हो । यी सबै कुरामा लेखक सजग र सतर्क बनेको पाइन्छ । त्यसो त डा. चमा थुलुङले महाकाव्यमा कलम चलाएको यो प्रथम पाइला भएको हुँदा कहीँ कतै केही कमीकमजोरी हुन सक्छ तर पनि समग्रमा उहाँले सर्जकीय धर्म निर्वाह गर्नमा कुनै कन्जुस्याइँ नगरी निकै ठुलो साधना गरेको कुरामा दुईमत हुन सकिन्न ।
कृति : मियप्मा
विधा : महाकाव्य
महाकाव्यकार : डा. चमा थुलुङ
प्रकाशक : सोचनसौगात राई, सोनीस्वर्णिम राई र सौदामिनी राई
संस्करण : प्रथम, २०८२
मूल्य : ७०१/–
मुद्रण : एपेक्स प्रिन्टिङ प्रेस, काठमाडौँ