• ७ वैशाख २०८१, शुक्रबार

तीन वर्षपछि खुलेको केरुङ नाका

चर्चा धेरै, निर्यात न्यून

blog

केरुङ रसुवागढी नाकाबाट पुस १० गते चीनतर्फ जाँदै गरेका कन्टेनर/ट्रक । तस्बिर सौजन्य: नेपालका लागि चिनियाँ दूतावासका प्रवक्ता

काठमाडौँ, पुस २३ गते । तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो । यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।

यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुला गरेको हो । यही समय नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलाको चर्चा भयो । 

नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुस्त गतिमा छ । लामो समयदेखि बन्द रहेको रसुवाको केरुङ नाका पुस १० गतेदेखि खुला भए पनि निर्यात भने न्यून रहँदै आएको छ । झन्डै दुई साताको यो अवधिमा दैनिक एक कन्टेनर मात्रै निर्यात भइरहेको छ । 

केरुङबाट १७ कन्टेनर मात्रै निर्यात

रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुला भएसँगै नियमित रूपमा सामान निर्यात नभएको जानकारी दिनुभयो । “हाल (पुस २२ गते)सम्म १७ कन्टेनर मात्र सामान निर्यात भएको छ, नाका खुला भए पनि सामान भने न्यून परिमाणमा निर्यात भएको छ,” उहाँले भन्नुभयो । 

यो १२ दिनको अवधिमा दुई करोड ७५ लाख रुपियाँ बराबरको नेपाली सामान चीनतर्फ पठाइएको छ, जसमा बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान रहेको भन्सार कार्यालयले जनाएको छ ।

केरुङ नाकाबाट ११ कन्टेनर सामान भन्सार पास भएको र छ कन्टेनर सामान भन्सार चेकजाँच हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ पछि बन्द भएको केरुङ नाका झन्डै तीन वर्षपछि खुले पनि नियमति रूपमा सामान निर्यात नभई फाट्टफुट्ट मात्र भएको कार्यालयले जनाएको छ । 

एक दिन मात्रै खुल्यो हिल्सा

हुम्लाको हिल्सा नाका एक दिन खुला भए पनि अहिले बन्द छ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले तमु ल्होसारका अवसरमा एक दिन नाका खुला भएर सामान आयात भए पनि त्यसपछि बन्द रहेको जानकारी दिनुभयो । 

व्यवसायीको पहलमा एक दिन नाका खुला भएर सामान आयात भए पनि औपचारिक रूपमा नाका खुला नभएको उहाँले जानकारी दिनुभयो । यहाँबाट निर्यात भने खुला नभएको उहाँले जानकारी दिनुभयो । 

हिल्सा नाकाबाट खाद्यान्न, कपडा बोकेका १८ वटा गाडी आएको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ पछि सो नाका बन्द रहेको थियो । कोभिड सङ्क्रमण बढ्दै गएपछि २०७६ देखि हिल्सा नाका हुँदै हुम्लामा सामान आउन रोकिएको थियो ।

तातोपानीबाट निर्यात शून्य

२०७२ सालको विनाशकारी भूकम्पदेखि नै तातोपानी नाका अवरुद्ध छ । लामो समय बन्द रहेको यो नाका केही समयअघिदेखि आङ्शिक रूपमा मात्रै सञ्चालन हुँदै आएको छ । यो नाकाबाट निर्यात शून्य छ । आयात भने दिनमा बढीमा तीनवटा कन्टेनर मात्रै आउने गरेको छ । कुनै दिनमा एउटा पनि कन्टेनर आउँदैन । चिनियाँ सरकार तातोपानी नाका बन्द गरेर केरुङ नाका खुला गर्न चाहेको देखिन्छ । 

चीनतर्फ निर्यात नगण्य

चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकोमा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख छ हजार रुपियाँको सामान आयात भएकोमा २४ करोड ४७ लाख २७ हजार रुपियाँको सामान निर्यात भएको छ । यो अवधिमा व्यापार घाटा ९४ अर्ब ३३ करोड रुपियाँभन्दा बढीको  छ ।

विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँ सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो । 

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।