• १६ चैत २०८०, शुक्रबार

सेतो मच्छिन्द्रनाथको साजसज्जा (फोटो फिचर)

blog

सेतो मच्छिन्द्रनाथको साजसज्जा गर्दै मुल पुजारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, पुस २० गते। धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि विगतमा जस्तै यो वर्ष पनि साजसज्जा तथा रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुस सप्तमीका दिन शोभाभगवती स्थित भचाखुसीबाट जल ल्याइन्छ भने अष्टमीमा आर्यावालेकितेश्वरलाई महास्नान गराइन्छ। महास्नानपछि नवमीबाट मूर्तिलाई रङरोगन गर्ने परम्परा छ। 

नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङरोगन गर्ने कार्य गरिन्छ, भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारी राजु मुनि बज्राचार्यले जानकारी दिनुभयो। मन्दिरका मूल पुजारीद्वय विकास शाक्य तथा प्रेम शाक्यले अहिले रङरोगन गरिरहनुभएको छ त्यसको रेखदेख र निर्देशन नरेन्द्र चित्रकारले गरिरहनु भएको छ। 

चित्रकारका अनुसार महास्नानपछि मूर्तिमा असर पर्ने र मूर्तिमा कोरिएका आकृतिको रङ बगेर जाने भएकाले पुनः सजाउने गरिन्छ। विशेष गरेर ६ प्रकारका रङ मूर्तिलाई सजाउन प्रयोग गरिन्छ। ‘रङरोगन गर्ने कार्य पुर्णिमाको दिनमा सकेर भगवानको मूर्तिलाई पुरानो आकृतिमा ल्याएर मन्दिरमा पुनस्थापना गरिन्छ’, उहाँले जानकारी दिनुभयो। धार्मिक मान्यता अनुसार आउँदो पूर्णिमासम्म रङ रोगनका सम्पूर्ण कार्य सम्पन्न भएर सोही दिन दशकर्म पूजा गरिन्छ। दशकर्म गरेपछि मूर्तिलाई पुनः आशनमा राखिन्छ। 

नेवार समुदायमा एक पुरुष र नारीलाई जीवन अवधिमा गरिने सबै कर्म दशकर्ममा गर्ने गरिन्छ। मूर्तिमा रङरोगन गर्न मूल पूजारीले गर्ने मान्यता अनुसार चित्रकारले दिएको निर्देशनमा रङ भर्ने गरिन्छ। चित्रकारका अनुसार आर्यावलोकितेश्वरको मुख्य मूर्ति रक्तचन्दनबाट बनेको छ। त्यसलाई बचाउनका लागि श्रीखण्ड लिपेर राखेको छ भने सबैभन्दा बाहिरी भागमा ढलोट गरेर मूर्तिको सुरक्षा गरिएको छ।  




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।