गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ ।
उहाँलाई सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पार्टीमा प्रवेश गराउनुभएको हो ।
मङ्सिर ४ गते सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनमा रोल्पा १ (ख) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसलाई दिने निर्णयविरुद्ध उहाँले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
जनयुद्धको घाइतेसमेत रहनुभएका उहाँ यसअघि पार्टीको पोलिट्ब्युरो सदस्य र रोल्पा जिल्ला इञ्चार्जको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँलाई पार्टीका उपमहासचिव तथा राेल्पाका प्रतिनिधिसभाका सदस्य वर्षामान पुनको सक्रियतामा पार्टी प्रवेश गराउनुभएको हो ।
उहाँको राजीनामालाई सो पार्टीले स्विकृत गर्दै सबै जिम्मेवारीबाट निष्कासन गरेको थियो । तर स्वतन्त्र उम्मेदवार बन्नुभएका उहाँले लुम्बिनी प्रदेश सभा सदस्यमा अत्यधिक बहुमतले विजयी हुनुभएको थियो ।
उहाँको प्रवेशसँग नेकपा (माओवादी केन्द्र)को प्रदेश सभा सदस्यको सङ्ख्या दश पुगेको छ । उहाँले १४ हजार ९२७ मतसहित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत पाउनुभएको थियाे । उक्त क्षेत्रमा नेकपा (एमाले) तेस्रो भएको थियाे।