• ११ मंसिर २०८१, मङ्गलबार

वडा कार्यालय जोड्ने सडकको निर्माण कार्य सम्पन्न

blog

गाउँपालिका केन्द्र याङ्चुु बजारबाट छिप्रा जोड्ने सडक । तस्बिर – राजन रावत, हुम्ला

राजन रावत 

हुम्ला, पुस २० गते । गाउँपालिका केन्द्रबाट खुर्पानाथ गाउँपालिका–४ को वडा कार्यालय छिप्रा जोड्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सो सडक दुई वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले दुई आर्थिक वर्ष लगाएर गाउँपालिका केन्द्र याङ्चु बजारबाट वडा कार्यालय छिप्रादेखि नल्नसम्मको सडक निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । उक्त सडक आर्थिक वर्ष ०७८/०७९ मा निर्माण सुरु भएर यस वर्ष सम्पन्न भएको हो ।

उहाँले गाउँपालिका केन्द्रबाट सबै वडामा सडक सञ्जाल जोड्ने गाउँपालिकाको लक्ष्यअनुसार सडक निर्माण भएको बताउनुभयो । अध्यक्ष रावलले छ किलो मिटर लम्बाई रहेको उक्त सडक पाँचदेखि छ मिटर सडक चौडा रहेको बताउनुभयो ।

यसका लागि गाउँपालिका र प्रदेश सरकारको तीन करोड लागत लागेको छ । सडक निर्माण पनि उक्त वडाका दुई वटा बस्तीका स्थानीय लाभान्वित हुनुभएको छ भने वडाकै अर्को बस्ती माझा गाउँका लागि पनि लिङ्क सडक निर्माण कार्य भइरहेको छ । त्यसैगरी सोही वडाको नल्नबाट अर्को बस्ती लेख गाउँसम्मको सडक निर्माण कार्य पनि भइरहेको छ ।

यसअघि गाउँपालिकाले आफ्नै लगानीमा खुर्पानाथ गाउँपालिका–५ को केन्द्र खर्पेलगाउँ सडक निर्माण गरिसकेको छ भने वडा नम्बर १ को कार्यालय लालिका लागि प्रदेश सरकारको सहयोगमा हाल कर्णाली कोरिडोरको बोक्चे गौडादेखि लिंकसडक निर्माण कार्य भइरहेको छ । उहाँले यसै आर्थिक वर्षमा उक्त वडामा सडक सञ्जाल जोडिने बत्ताउनुभयो ।

अब खार्पुनाथका २ र ३ नम्बर वडा सडक सञ्जाल जोड्न बाँकी रहेकोमा यसै आर्थिकबाट वडा नम्बर ३ को सडक निर्माण कार्य सुरु हुने बताउनुभयो । अध्यक्ष रावलले आफ्नो पाँच वर्षे कार्यकालमा गाउँपालिकाका पाँच वटै वडा सडक सञ्जालसँग जोड्ने कार्य पुरा हुने बताउनुभयो ।