• ४ जेठ २०८१, शुक्रबार

शान्त समुद्री जीव डल्फिन

blog

अञ्जली रम्तेल 

भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? समुद्री जीवमा सबैभन्दा शान्त डल्फिनलाई माछाको समूहमा राखिँदैन नि, डल्फिनलाई छुट्टै स्तनधारी जीवको समूहमा राखिन्छ । वैज्ञानिक भाषामा फिमेल डल्फिनलाई काउज र मेललाई बुल्स भन्ने गरिन्छ । समूहमा बस्न रुचाउने डल्फिन आफ्नो समूहको पोथी डल्फिनले बच्चा जन्माएमा उसलाई मिलेर स्याहार गर्ने खानेकुरा खुवाउने गर्दछन् । डल्फिन आफ्ना साथीहरूसँग कुरा गर्दा सिट्टी बजेको झैँ आवाज आउने गर्दछ । डल्फिन एक अर्कालाई एक विशेष आवाजमा नामले नै बोलाउने गर्छन् ।

 तिमीहरूलाई थाहा छ भाइबहिनीहरू डल्फिन ६०० भन्दा बढी तरिकाको आवाज निकाल्न सक्छ । डल्फिनको सुन्ने क्षमता मानिसको भन्दा १० गुणा ज्यादा हुन्छ ।

डल्फिन दिनमा कम्तीमा पनि आठ घण्टा सुत्ने गर्छ । सुत्ने क्रममा यसको एउटा आँखा सधैँ खुला हुन्छ, जसका कारण सुतेको समयमा कुनै जोखिमपूर्ण अवस्था आएमा भागेर सुरक्षित स्थानमा जान सक्छ । डल्फिनले आफ्नो दुई आँखा फरक–फरक दिशातर्फ हेर्न प्रयोग गर्छ । यसले ३६० डिग्रीसम्म आँखालाई दायाँबायाँ तल माथि घुमाउन सक्छ ।


सबैभन्दा बुद्धिमान जीवका रूपमा रहेको डल्फिनका ४० प्रजाति यस पृथ्वीमा अस्तित्वमा छन् । यीमध्ये ३६ समुद्रमा र चार नदीमा पाइन्छन् । डल्फिनको पौडिन सक्ने गति प्रतिघण्टा ६० किलोमिटर हुन्छ भने यो लगातार १०० 

किलोमिटरसम्म पौडन सक्छ । यसले प्रत्येक १५ मिनेटमा पौडेपछि सास फेर्नका लागि पानीको सतहमा आउने गर्छ । सामान्य डल्फिनको उमेर १६ वर्षको हुन्छ भने बोटलनोज नामक डल्फिनको उमेर ४० वर्षसम्मको हुन्छ । डल्फिनको दाँत भए पनि यसले आफ्नो खाना चपाएर नखाई सिधै निल्ने गर्छ । 

डल्फिनको तौल ४०० केजीदेखि १० हजार केजीसम्म हुन्छ । चार फिटदेखि ३२ फिटसम्मको लम्बाइ हुन्छ । डल्फिन समुद्रमा रहने भए पनि यसले समुद्रको पानी पिउँदैन । यसले आफ्नो खानेकुराबाट नै पानीको पूर्ति गर्छ । 

अन्य जीवमा भन्दा डल्फिनमा स्मरण क्षमता ज्यादै हुन्छ । भनिन्छ अमेरिकन नेभीसँग ७५ तालिमप्राप्त डल्फिन छन् जसले पानीमुनि माइन्स र शत्रुलाई खोज्ने काम गर्छ ।

मित्रवत् व्यवहारका कारण डल्फिन मानिसबीच निकै लोकप्रिय छ । डल्फिनको सिक्ने क्षमता अन्य जनावरको तुलनामा बढी हुन्छ । त्यसैले विश्वका विभिन्न मुलुकले डल्फिनलाई तालिम दिएर मनोरञ्जनका क्षेत्रमा समेत प्रयोग गरेका छन् । सबैभन्दा बढी डल्फिन पार्क जापानमा रहेको छ । सिङ्गापुर, दुबई, थाइल्यान्डमा सञ्चालित डल्फिन पार्कमार्फत डल्फिनका रोमाञ्चक खेल देख्न सकिन्छ ।  

 डल्फिन हेर्न विदेश जानै पर्देन भाइबहीनीहरू नेपालको कोसी, कर्णाली, नारायणी तथा मोहना नदीमा पनि डल्फिन पाइन्छ ।