• १३ साउन २०८१, आइतबार

भ्रष्टाचारको आरोपमा नौजनाविरुद्ध मुद्दा दर्ता

तीन करोड भ्रष्टाचार आरोपमा वातावरण अधिकृतसहितविरुद्ध मुद्दा दायर

blog

गोरखापत्र अनलाइन

 काठमाडौं, पुस १४ गते । झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा चौधरीसहित मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सव–इन्जिनियर विवेक कार्की र ठेकेदार किशन एण्ड विल्डर्स प्रा. लि.का सञ्चालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीमाथि भ्रष्टाचार आरोप लागेको हो । 

आयोगका अनुसार आरोपित चौधरी र कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने अनुमति प्राप्त गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा यसो नगरेको आरोप लागेको हो । 

यसैगरी, ठेकेदार सञ्चालक उप्रेती र कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खन्न गरेको आरोप लागेको हो । बिहीबार विशेष अदालत काठमाडौंमा सो आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

छ जनाअधिकृतसहितविरुद्व मुद्दा दायर 

सर्लाहीको कविलासी नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर रायसहित छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियारका अनुसार, रायसहित तत्कालीन् इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमारदास, अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीमाथि ९७ हजार ८४० रुपियाँ भ्रष्टाचारको आरोप लागेको हो । आरोपितले आर्थिक वर्ष २०७६÷७७ सो नगरपालिकाको वडा नं.८ स्थित रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम कार्य भएकोमा नापी किताबमा कढी कामको मूल्याङ्कन चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिशसमेत गरेको आरोप लागेको हो । आयोगले विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायर भएको जनाएको छ ।