• २३ असार २०८१, आइतबार

दुर्गमसम्म विद्युत विस्तार गर्न सर्वेक्षण

blog

विद्युत विस्तार गर्न दुर्गम पापुङ गाउँमा जीपीएसमार्फत सर्वेक्षणको कार्य गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गर्न सर्वेक्षण गरिएको छ । पापुङसहित सो गाउँपालिकाको वडा नं. ३ लिबाङ र वडा ४ साँवामा विद्युत् विस्तार गर्नका लागि सर्वेक्षण गरिएको हो । 

मिक्वाखोला गाउँपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणका प्राविधिकसहितको टोलीले उक्त तीनवटा वडामा सर्वेक्षणको कार्य सम्पन्न गरेको छ । चीनको तिब्बतसँग सीमा जोडिएको पापुङ जिल्लाको दुर्गम हिमाली बस्ती पर्दछ । 

हालसम्म सोलार बत्ती र केही टोल तथा बस्तीमा स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत सुविधा उपभोग गर्ने गरिएको उक्त वडाहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याउनका लागि पहल थालिएको हो । विद्युतीय तार, खम्बा (पोल) लगायत लाइन विस्तार कार्य गर्नलाई आवश्यक स्रोत सामग्रीको प्रबन्ध गर्न अर्थात् लागत स्टिमेट तयारीका लागि सर्वेक्षण कार्य गरिएको हो । 

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार प्राधिकरणको प्राविधिकसहितको टोलीले तीनवटै वडामा सर्वेक्षणको कार्य सम्पन्न गरेको छ । सर्वेक्षणसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को कार्य सम्पन्न भएपछि विद्युत् विस्तारको कार्य सुरु भइहाल्ने थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार लिबाङ, साँवा र पापुङसमेत तीनवटा वडामा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार भएमा करिब एक हजार ४०० घरधुरी लाभान्वित हुने छन् । मिक्वाखोला गाउँपालिकाको वडा १ र २ खोक्लिङ क्षेत्रमा भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ ।