• ११ मंसिर २०८१, मङ्गलबार

शासन प्रणालीमा मूलप्रवाहीकरण

blog

शासन प्रणाली र योगको बारेमा कमै बहस हुने गरेको छ। नेपाल अथाह सम्भावना भएको पवित्र पावनभूमि हो। पूर्वीय दर्शनको ओतप्रोत रहेको यसको संस्कृति विश्वको सर्वश्रेष्ठ संस्कृति हो। हामी वैदिक संस्कृतिका अनुयायी हौँ। यस भूमिमा जन्मन पाउनु नै अहोभाग्य हो। यसै भूमिबाट हामीले मानवको वास्तविक मुक्तिको बिगुल फुक्ने र आफू पनि मुक्त बन्ने हो। यसका लागि देशको शासन प्रणाली पनि सहायक बन्नु पर्छ। वैदिक संस्कृतिमा आधारित शासनले मात्र मानवको समग्र विकासलाई मार्गदर्शन गर्न सक्ने देखिन्छ। विश्वभर नै वैदिक संस्कृतिप्रति आकर्षण बढ्नु यसैको प्रमाण हो। अहिले सबैतिर देश बिग्रिएको र यसको प्रधान कारण कुशासनलाई औँल्याउने गरिएको छ। कुशासन राजनीति, प्रशासन, समाज, बजार, नागरिक समाजलगायतका सबै क्षेत्रमा रहेको दृष्टान्त आमसञ्चारका माध्यमहरूबाट दैनिक रूपमा पाउन सकिन्छ। शासनका पात्ररूपी मानिस इमान, जमान र आत्मिक सत्यबाट टाढिएका छन्। आत्माको शान्ति र सत्यलाई बाहिरी चेतनाले ढाकेको छ। समग्रमा शासन आत्मा हराएर बेहोसी भएको देखिन्छ।

शासनका पात्रहरूको विवेक, सदाचार र नैतिकताको स्तरले समग्र शासन प्रणालीको सफलता र गुणस्तर निर्धारण गर्छ। शासकीय सफलता मापनको आधार देशको विकास र देशवासीको जीवनयापनमा सुधार नै हो, जसले गर्दा देशभर सुख, शान्ति, समानता, सन्तुष्टि र समृद्धि फैलियोस्। साथै सबै नेपालीको यस लोकमा र परलोकमा पनि जीवन सफल बनोस्। यसका लागि भगवान् गौतम बुद्ध र माता सीताको जन्मभूमि रहेको नेपालमा पूर्वीय वैदिक दर्शनका महान् तपस्वी र ऋषिमुनिहरूले प्रदान गरेका सद्ज्ञान र सत्कर्मका मार्गलाई नै शासनका सबै पक्षमा मूलप्रवाहीकरण गरिनु पर्ने देखिन्छ। यही ज्ञानलाई नयाँ भाष्य दिनु जरुरी छ। यसै सन्दर्भमा यस आलेखमा पूर्वीय वैदिक दर्शनका २०औँ शताब्दीका महान् ऋषि, कवि, क्रान्तिकारी, दार्शनिक तथा योगी श्री अरबिन्दले प्रतिपादन गर्नुभएको समग्र वा पूर्ण योग र यसलाई नेपालको शासन प्रणालीका सबै क्षेत्रमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकताको बारेमा चर्चा गरिएको छ।

भारतको कलकत्तामा सन् १८७२ मा जन्मिनु भएका महर्षि श्री अरबिन्दले उपनिवेशकालीन बेलायतमा अध्ययन गरेको भए पनि देशप्रेमले ओतप्रोत भएर बेलायती उपनिवेशको अन्त्यको लागि स्वतन्त्रता सङ्ग्राममा सहभागी हुनु भएको थियो। उहाँको राजनीतिक चेतनामा क्रमशः आध्यात्मिक चेतनासमेत घोलिएपछि उपनिवेशका कारण भारतीय जाति ओरालो लागेको यात्रा देख्नु भयो। सनातन धर्मको क्रमिक विनाशले भारतीय संस्कृति पतनोन्मुख बनाएको देखेपछि उहाँलाई झनै भारतीय र पूर्वीय संस्कृतिको उत्खनन गर्न उत्प्रेरित ग¥यो। सोही क्रममा उहाँले बन्दे मातरम् जस्ता पत्रिकामार्फत उपनिवेशको अन्त्यको शङ्खघोष गर्नुभयो। उहाँको बेजोड लेखाइबाट त्रसित बेलायती शासकले उहाँलाई जेल पनि हाले। जेल उहाँका लागि तपोस्थल बन्यो, कठोर योग साधनाको सिद्धि प्राप्त भयो। जेलमा नै भगवान् श्रीकृष्णको दर्शन मिल्यो। भगवान्को मार्गदर्शनअनुसार दक्षिण भारतको हालको पुडुचेरीमा आश्रम स्थापना गरी उहाँ भारतलाई विश्वगुरु बनाउँदै निम्न चेतनाबाट ग्रसित मानव कसरी अतिमानस चेतनाको अवस्थामा पुग्न सक्छ भन्ने विषयको खोजमा लाग्नु भयो। यस्तो अवस्थालाई कतिपय अन्य आध्यात्मिक गुरुले आत्मानुभूतिको रूपमा व्याख्या गरेका छन्। यस क्रममा उहाँले पूर्वीय वैदिक दर्शनको पुनःव्याख्या गर्दै आध्यात्मिक उन्नतिको नयाँ मार्गदर्शन प्रदान गर्नुभयो। यसलाई समग्र वा पूर्ण योगको रूपमा प्रस्तुत गरिएको छ। यस योगको अभ्यास र सिद्धिमा व्यक्ति, समाज, देश र समग्र विश्वलाई लाभ हुने र व्यक्ति स्वयं नै ब्रह्स्थ अवस्थामा पुगेर मानव जीवनलाई नै सार्थक बनाउने क्षमता रहेको छ। शासकीय पात्रहरूले यो योगको अभ्यास गरेमा नेपाल सुन्दर, शान्त, समृद्ध, सदाचारी र दिगो विकासमा अग्रणी स्थान रहेको देश बन्न सक्छ।

सामान्यतया योगको अर्थ निम्नलाई उच्चसँग जोडनु हो। यसमा आत्मालाई परमात्मासँग जोड्ने सबै कार्य र प्रक्रिया समाविष्ट हुन्छन्। सृष्टिको आदिम कालदेखि नै मानव भगवान् वा परमात्माको खोजीमा रहेको पुष्टि हाम्रा वेद, उपनिषद, गीतालगायतका महान् धार्मिक तथा आध्यात्मिक ग्रन्थबाट स्पष्ट हुन्छ। भगवान् खोज्नेले सर्वप्रथम भगवान्को बारेमा जान्नु पर्ने र त्यसपछि भगवान्का गुणहरू आफूमा उतार्नु पर्ने हुन्छ। हुन त मानवमा भगवान्को अंश रहेको र उक्त अंश क्रमिक विकासद्वारा बढ्दै स्वतः प्रकट हुने बताइएको छ। यसरी आफैँ प्रकट हुन जुनीजुनी लाग्ने र मानवका कैयौँ जुनीहरू निम्न चेतना र बेहोसीमा बित्ने हुन्छ। यसले भौतिक संसारमा दुःख बढाउँछ। यसको अन्त्यका लागि गरिने सचेत प्रयास नै योग हो। उच्च चेतना र स्वर्गीय आनन्दको यात्रालाई छोटो बनाउने उपाय नै योग हो। पूर्वीय दर्शनमा योगका जन्मदाता महर्षि पतञ्जलि हुन भने भगवान् शिवलाई आदियोगी मानिएको छ। समयक्रममा पतञ्जलिप्रदत्त योगलाई विभिन्न महर्षि, योगी र गुरुहरूले नयाँ नयाँ तवरले व्याख्या, विश्लेषण र अभ्यास गरेका छन्। ज्ञान, भक्ति र कर्म गरी योगलाई सामान्यतया तीन प्रकारले हेर्ने र अभ्यास गर्ने गरिएको छ।

महर्षि श्री अरबिन्दले ज्ञान, भक्ति र कर्ममा विभक्त रहेको योगलाई एकै ठाँउमा समन्वय गरी समग्र, एकीकृत वा पूर्ण योग पद्धतिको निर्माण गर्नुभएको छ। उहाँले यसको अभ्यासद्वारा मानवमा अतिमानस वा दैवी गुणको अवतरण गराउन सक्ने गरी योगलाई नयाँ दिशा प्रदान गर्नु भएको छ। यसका लागि मानवले आजीवन भगवान्मा पूर्ण विश्वास राखेर यसको प्राप्तिको तीव्र अभीप्सा राख्नु पर्ने, आफूलाई पूर्ण रूपले भगवान्मा समर्पण गर्नुपर्ने र आध्यात्मिक विकासका अवरोधलाई अस्वीकृत गर्नुपर्ने पूर्वसर्त तोकिएको छ। यसो गरेमा मानवमा रहेको दैवी अंश तीव्र गतिले प्रकट हुँदै जाने र आत्मिक चेतनाले अपूर्ण र बेहोसी मूल प्रकृतिमा रहने मस्तिष्क, मन र शारीरिक चेतनालाई रूपान्तरण गरिदिने विषय नै समग्र योगको केन्द्रीय सार हो। पूर्वीय वैदिक दर्शनमा आधारित महर्षि श्री अरबिन्दद्वारा प्रतिपादित समग्र वा पूर्ण योगका आधारभूत तìवहरू सच्चाइ वा पारदर्शिता, आस्था वा विश्वास, समर्पण र अभीप्सा हुन्।

नेपालको शासन प्रणाली 

नेपाललगायतका देशमा बाल्यकालदखि नै यस्तो आत्मिक चेतनाको विकास नभएका मानिस शासनका विभिन्न तहमा पुगेकाले देशको शासन प्रणालीमा कुशासनले जरा गाडेको अवस्था छ। सत्य भन्दा पनि जालझेलले शासनलाई गालेको छ। आत्मिक विकासका लागि आवश्यक पर्ने संरचना र प्रणालीलाई शासनमा आत्मसात् नगरिएको देखिन्छ। व्यक्तिगत र सार्वजनिक जीवनलाई समग्र योगले निर्दिष्ट गरेको ज्ञान, भक्ति र कर्मको सङ्गम बनाउन सकिएको छैन। सबै क्षेत्रको नेतृत्वमा पूर्वीय वैदिक संकृतिको क्षयीकरण भइरहेको देखिन्छ। सर्वत्र सच्चाइ, आस्था र समर्पण भावको कमी हुँदै गएको बेहोसी समाज, संस्कार र संस्कृतिको निर्माण भइरहेको अवस्था छ। सदाचार, सत्य र नैतिकताको नाश हुँदै गएको छ।

शासनले मानवीय मूल्य–मान्यतालाई चुनौती प्रदान गरेको छ। नियम, कानुनको पालना नभएको पाइन्छ। स्वार्थ सिद्धिका लागि सत्यलाई तोडमरोड गर्ने गरिन्छ। असत्यको विजय भएको पनि देखिन्छ। सबै प्रकारका भ्रष्टाचारको सर्वत्र दुर्गन्ध छ। शासन प्रणालीमा सुधारका लागि कानुनी, संस्थागत र अन्य जतिसुकै बाहिरी प्रयास गरिए पनि जबसम्म शासकीय पात्रहरूमा लुकेर रहेको परमात्माको अंशलाई उसको शरीर, मन र दिमागमा उतार्न सकिँदैन तबसम्म शासन प्रणालीको सुधार अपूरो र अधुरो नै रहन्छ। असत्यलाई धारण गरेको चलाखी दिमागले अहिले देशको शासन प्रणालीमा हालीमुहाली गरेको छ। मान्छेको मन र मस्तिष्कमा हरि हराएको देखिन्छ। यसले एकातिर शासकीय पात्रहरूलाई पापजन्य कार्यमा होमेको छ भने अर्कोतिर बेहोसीमा रहेका शासकीय पात्रहरूलाई श्री अरबिन्दद्वारा प्रतिपादित समग्र योगमार्फत होसमा नल्याएसम्म शासकीय सुधारका प्रयासले नतिजा नदिने स्पष्ट छ। दिमागका चलाखले गरेको अहिलेको शासनले मात्र मुलुकमा शान्ति र समृद्धि ल्याउन नसकिने स्पष्ट छ। यसले गर्दा शासनमा यावत् बाहिरी सुधारका बाबजुद पनि विकृति बढेका छन्। शासनमा सुशासन ल्याउन वैदिक दर्शनमा आधारित समग्र योगलाई देशको शिक्षालगायतका शासन प्रणालीका सबै पक्षमा मूलप्रवाहीकरण गर्नु जरुरी देखिन्छ।