• १२ असोज २०८१, शनिबार

तमु ल्होसार धुमधामसँग मनाउने तयारी

blog

काठमाडौँ, पुस ११ गते । ‘तमुहरूको आह्वान ! सांस्कृतिक तथा भाषिक समानताका लागि तमुवानको आन्दोलन!!’ भन्ने मूल नाराका साथ तमु ल्होसार “हि ल्हो” (बिरालो वर्ग)–२०७९ मनाइने भएको छ। तमु ल्होसार मूल आयोजक समितिले तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउने तयारी पूरा भएको जनाएको छ। यो चाड “तो ल्हो” (बाघ वर्ग)को बिदाइ तथा “हि ल्हो” (बिरालो वर्ग)को स्वागत गरी मनाइने गर्दछ।

आयोजक समितिका महासचिव रामबहादुर तमुले तमु ल्होसार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा भएको जानकारी दिनुभयो। हाल विदेश वा स्वदेशमै पनि पुस महिना लागेपछि आ–आफ्नो अनुकूलता हेरेर सार्वजनिक कार्यक्रमको समेत आयोजना गर्दै मनाउने चलन बढेको छ, उहाँ भन्नुहुन्छ।

यस वर्ष “हि ल्हो” (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस् भन्दै आफ्ना परम्परागत पूरोहित(खेगी)हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरूद्वारा पुस १४ गते १२:०० बजे रातिसम्म ग्रहदशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्षको स्वागत गरी ल्होसार मनाइने छ। आयोजकका अनुसार यस वर्ष तमु ल्होसार मनाउने क्रममा लोकदोहोरी, नृत्य तथा खेलकुद प्रतियोगिता, गुरुङ समुदायका बारेमा गत वर्षभरि प्रकाशित पुस्तकहरूको समीक्षा, शुभकामना आदानप्रदान र विशेष सार्वजनिक कार्यक्रम गरिनेछ। यी कार्यक्रम पुस १३ देखि १५ गतेसम्म टुँडिखेलमा आयोजना गरिनेछ।