• ११ मंसिर २०८१, मङ्गलबार

पुनर्निर्माण कि पुनः प्रतिशोध

blog

नेपाली राजनीतिले लघुताभाषको फन्को मारिरहेको छ। ‘यस पटक म भइनँ भने कतै सकिन्छु कि, अब फेरि पालो आउँदैन कि, अर्कैले शिखर चढेर म भुइँमा पो बजारिन्छु कि भन्ने भयले सबै राजनीतिक दलका शीर्ष नेताको मनमा डरलाग्दो डेरा गरेको आभाष नेपाली जनताले गरेका छन्। राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दासमेत गठबन्धन टिक्छ र टिक्दैन भन्ने वक्तृत्वकलाले जनताका कान पाकिरहे। सहमतिको दाइँ भत्किन्छ कि भनेर नागरिकले शङ्का गरिरहे, गठबन्धन भत्कियोस् भन्ने कामना गर्नेको पनि पीडा सानो थिएन। 

आगामी पाँच वर्ष गठबन्धन गर्ने भनेर गरिएको सहमतिमै आमनिर्वाचनमा दल होमिएका हुन्। नेपाली कांग्रेसलाई सम्भावित प्रतिगमन टार्ने कामको नेतृत्व गरिदिनुहोस् भन्दै वाम दल नेकपा माओवादी केन्द्र, एमाले विभाजनपछिको नेकपा (एकीकृत समाजवादी) र अन्य दल निवेदन नै हाल्न गएको भन्दा अन्यथा मानिरहनु पर्दैन। सरकार नेतृत्वको तालाचाबी कांग्रेसलाई दिएर भागबण्डाको राजनीतिमा स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मागेजति उम्मेदवार सिटमा पनि सहमति भएकै हो। स्वयं कांग्रेसले आफूले चाहेको भूगोलमा सोचजस्तो विजयी हासिल गर्न असमर्थ रहँदा वाम जनमत स्खलनले वामपार्टीलाई चिन्तनशील बनाउन सकेन। बरु सरकारको नेतृत्वलाई मूल मुद्दा बनाएर विगतमा ‘घनघोर प्रतिगामी’ मानिएको शक्तिलाई सत्ताको तालाचाबी सुम्पने हतारोमा वाम दलहरूको अभ्यासले अर्को निर्वाचनमा वामपार्टीहरूको हालत के होला भनेर सोच्ने जिम्मा कार्यकर्ताको मात्र बनेको देखिन्छ। 

मुद्दा थियो समाजवादको। अभ्यास थियो सङ्घीयता कार्यान्वयनको। नागरिकको चाहना थियो नेतृत्वमा नयाँ पुस्ता र स्थिर सरकार। रूपान्तरण, पुस्तान्तरणको अभ्यासमा निर्वाचनमा दलले विवेक नपु¥याउँदा नयाँ शक्तिबिना नीति, सिद्धान्त, सङ्गठन र कार्यकर्ता एकाएक उदाए। उनीहरू ठूला भनिएका दलहरूलाई आवश्यक पर्दा शक्ति सन्तुलनमा ‘तलमाथि’ पार्ने गरी उदाएका बेला सरकार निर्माणको उल्झनमा दलहरू हप्तादिन अनिर्णित बन्नु अरू वितृष्णाको फसल फस्टाउनु हो। वाम जनमत घटिरहेको तथ्यलाई पुष्टि गर्दै जानु हो। सरकार अर्थात् शक्ति र सत्ताको लोभ मात्रै गर्ने र कहाँ चुकियो भनेर समीक्षा गर्नसमेत तयार नहुने नेतृत्वले नयाँ पुस्तालाई उदाउन त रोकेकै छन्, जनतामा बढेको वितृष्णाको ग्राफ घटाउने कुनै एजेन्डा नबनाउँदा नेपाली राजनीतिमा कुनै 

पनि समूह कुनै पनि बेला उदाउन सक्ने र मूलपार्टीहरूको जनमत स्वाट्टै घट्ने डरलाग्दो सम्भावनालाई पनि जीवित राखिएकै हो।

प्रतिशोधमा राजनीति हुर्किइरहेको छ। विगतमा नेकपा एमालेलाई खराब देख्ने वामनजर त्यतिखेर प्रतिशोधमा उत्रियो। प्रतिशोध साध्न कांग्रेससँग सहकार्य गरियो। यसमा कुनै त्रुटि नदेख्ने शक्ति अहिले पश्चात्तापमा उत्रिएको देखिन्छ। सङ्घ र प्रदेश निर्वाचनमा कांग्रेसको भोट वामपन्थी शक्तिमा ‘ट्रान्सफर’ भएन। यो अर्को प्रतिशोधको विषय बनाइएको छ। यद्यपि यो लघुताभास मात्र हो। यसको समीक्षा, छलफल, निरूपण या निष्कर्षको कुनै पनि अध्याय गठबन्धनमा आरम्भ नै भएको छैन। हतारमा अर्को विषय उठाएर विगतमा प्रतिगामी मानिएको शक्तिले देखाएको ‘ललिपप’ मा वाम शक्ति किन लतारिए ? मूल विषयवस्तु मत ‘ट्रान्सफर’ होइन। हो त ७० प्रतिशतको हाराहारीमा रहेका वामपन्थी मत यो निर्वाचनमा किन ४४ प्रतिशतमा झरे ? सपाट उत्तर छ देखाउन कांग्रेसले मागेजति सिट दिइयो, वाम उम्मेदवार कम भए। तर त्यति मात्रै होला र ? किन सहरबाट वामपन्थी शक्ति भनिएको माओवादी गाउँतिर सर्दैछ, सहरमा सङ्कटमा पर्दैछ ? यसका उत्तर खोज्दा कहीँ कतै सरकारमा वामपन्थी पार्टी नभएर हो भन्ने निक्र्योलमा पुगियो भने यो झन् अर्को त्रुटि हुन पुग्नेछ। 

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वामशक्तिले आफूले चाहेअनुसार जितेकै थिए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले स्थानीय तहमा जितेको सङ्ख्या कम थिएन। कांग्रेसले पनि आफ्नै कारण धेरै भूगोलमा पराजयको स्वाद चाखेको थियो। त्यसको असर सङ्घ र प्रदेश निर्वाचनमा कांग्रेसले अरू नराम्रोसँग भोगेको छ कि कांग्रेसभित्र पनि प्रतिशोधको आगो भित्रभित्रै दन्किएकै देखिन्छ। यस्तो अवस्थामा वाम जनमत जनताका मुद्दामा केन्द्रित हुन जरुरी थियो। सङ्गठन विस्तारसँगै प्राप्त उपलब्धिमा गठबन्धनको दीपावली नै जरुरी थियो। नेकपा माओवादी केन्द्र र कांग्रेसभित्रको सत्ता लुछाचुँडीको पिङ मच्चिँदा आमजनतामा निरासाको घेरा बलियो भएको थियो। बाहिरी शक्तिहरू यी दुई शक्तिलाई घर्षण गराएर भद्दा मनोरञ्जन गरिरहेको दुवै पार्टीका पहिलो र दोस्रो पुस्ताले बुझ्न जरुरी थियो। बुझेनन्। गठबन्धन नै भए पनि कुनै पनि बेला भत्किने पो हो कि भन्ने भय हत्पत्ति हट्ने अवस्था छैन।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीसहितका ३५ पद यतिखेर आकर्षणको गिफ्ट ह्याम्पर हुन्। गठबन्धन यसैको बाँडचुँडसहित नेपाली जनतालाई विकास र समाजवादको अभ्यास गराउँदै अघि बढ्न गठबन्धन भएको हो भन्ने पाटो निर्वाचन परिणाम नआउँदै भुलिनु राजनीतिमा ‘नैतिकता’ सधैँ नभेटिने तìव हो भन्ने पुष्टि गर्छ। सातवटा प्रदेश सरकार बनाउनुअघि नै पहिलो र तेस्रो शक्तिबीच तयार पारिएको दरारको फाइदा दोस्रो या चौथो र अदृश्य बाहिरी शक्तिले उठाउन सक्छन् भन्ने सामान्य ज्ञान पनि नभएको त दलहरूमा पक्कै होइनन्। भइदियो यस्तै, देखिइयो यस्तै। जुन कल्पनाको विषय थिएन। अघिल्लो निर्वाचनमा विजयी भएको वामशक्ति पनि यसरी क्षयीकरण भएको थियो। त्यसबाट पनि पाठ सिकेर पो त्रुटि सच्याउँदै अघि बढ्नु पथ्र्यो। तर यहाँ त फेरि पुरानै शक्तिको सेरोफेरोमा रहेर राजनीतिक छिनाझप्टीको कारोबार भयो। यसले राजनीति सग्लो देखिएन। राजनीतिक दल इमानको पहरेदार हुन सक्दैनन् भन्ने जनमनमा बसेको धारणा मेट्न सकिएन। 

एउटै शक्तिसँग जुध्नु या मिल्नुको मुद्दा के हो ? मुद्दा हो जनताको हितमा काम गर्ने। काम गर्ने वातावरण बनाउने। सत्तामा नरहे पनि जनतासँग भिजेर राजनीतिक शक्ति सञ्चय गर्दै आगामी सत्ताको आधार तयार पार्ने। यतिखेर गठबन्धनका दलले जनतामा नयाँ छाप छोड्न नसक्दा राजनीतिक आधार निर्माण हुनै सकेन। प्रतिशोध पश्चात्तापमा परिणत भएकै हो भने के अब पुनर्निर्माणको कार्यभारमा दलहरू सक्रिय होलान् ? त्यो पनि देखिन्न। जनताको निरासाको ग्राफ घट्ला ? तत्काल कुनै कार्यक्रम देखिएको छैन। यस्तो अवस्थामा दलहरूले देखाएको अभ्यासले परिपक्व हुनुपर्ने दलीय व्यवस्था, दलहरूको नेतृत्व सत्ता स्वार्थका लागि कुनै पनि बेला मित्रशक्तिसँग पनि प्रतिशोधको व्यापारमा झर्छन् र पुनर्निर्माणका नाममा पुनः प्रतिशोधमै रमाउँछन् भन्ने सन्देश प्रवाह भएको विषय कहिले समीक्षा हुन्छ ?

तत्काल वामशक्ति एक हुने अवस्था पनि छैन। यद्यपि नयाँ तरिकाले राजनीतिक दलहरूले छलफल गरेकोले वाम एक हुन सक्ने सम्भावना पनि छदैछ। यसो भएमा राजनीति फरक तरिकाले अघि बढ्न सक्छ। तर सरकार निर्माणका लागि नीति र सिद्धान्त नमिल्ने थुप्रै ससाना राजनीतिक पसल पुग्नुपर्ने बाध्यता छन्। एउटा बलियो कम्युनिस्ट केन्द्र बनाउने विषय फगत नेताहरूको व्यवस्थापनमा सीमित भइरहेको छ। भूगोलमा कम्युनिस्ट शक्ति क्षयीकरण अविराम बढ्दो छ। जनतामा बढेको वितृष्णा कांग्रेस सरकार हेरेर कतै कम्युनिस्टबाट प्रगतिशील थप सुधारोन्मुख हुन्छ कि भन्ने अपेक्षा पनि यतिखेर जनमस्तिष्कको सघन कक्षमै बेहोस बनिसकेको छ। यस्तो अवस्थामा गठबन्धनका नाममा जुन भद्दा अभ्यास यो साता नेपाली राजनीतिमा देखियो। यसले गठबन्धन हुँदा पनि कुनै पनि बेला सङ्कट आउन सक्ने संशय देखिएकाले इमानदार भएर राजनीतिमा उत्रिन सबै दललाई जनताले खबरदारी गरेका छन्। यो खबरदारी जनताको हो, जनमतको हो। यसमा तलमाथि हुँदा नयाँ र अकल्पनीय अनि अदृश्य शक्तिहरूले खेल्ने र मुलुक फेरि निर्वाचनकै सँघारमा पुग्ने दृश्यमा के दलहरू घुलमिल भएकै हुन् र प्रतिशोधको खेती मात्र फस्टाइरहेको छ ? 

एलन, नेकपा (एकीकृत समाजवादी), केन्द्रीय प्रचार विभाग सदस्य हुनुहुन्छ)