• ११ मंसिर २०८१, मङ्गलबार

मेलम्चीको पानी व्यवस्थापन

blog

‘नपाउनेले केरा पायो बोक्रैसमेत खायो।’ यो उखान मङ्सिरको आधाआधीदेखि काठमाडौँ उपत्यकाका केही भेगमा चरितार्थ भएको देख्न पाइन्छ। काकाकुलको उपमा पाएका काठमाडौँका जनताले मेलम्चीको पानी घरघरका धाराधारामा आएदेखि राहत महसुस गरेका छन्। सन्तनेता कृष्णप्रसाद भट्टराईको राजधानीवासीलाई पानी खुवाउने योजना र सफा स्वच्छ पानी पिउने सहरिया जनताको सपना हाललाई पूरा भएको छ। फेरि असार–साउनको वर्षाको पानीले अवरोध गर्ने त होइन भन्ने त्रास पनि उत्तिकै छ। जे होस्, केही समयलाई नै भए पनि राजधानीका जनताले सुखको सास फेरेका छन्। पानीको उपभोगका बारेमा भने खासै सन्तोष गर्ने ठाउँ छैन। 

राजधानीका सडकमा दौडने पानीका ट्याङ्करको सङ्ख्या ह्वात्तै घटेको छ। जारको पानी किनेर खाना पकाउँदै आएकाहरूले धाराकै पानी थापेर खाना पकाउन पाएका छन्। पानीको अभावमा एक हप्तासम्म ननुहाउनेहरूले दिनहुँ नुहाउन पाएका छन्। घाँटीमा कलेठी परिसक्दा पनि कपडा धुन नपाएर त्यत्तिकै लगाउन बाध्य भएकाहरूले सफा लुगा लगाएका छन्। अम्खोराको पानीले भाँडा माझ्दै आएका राजधानीवासीले सिधै धारा खोलेर भाँडा सफा गर्नसमेत पाएका छन्। यी सबै काम गर्न मेलम्चीको पानी काठमाडौँ झारिएको हो। यी कुरा न्यूनतम आवश्यकताभित्रै पर्छन् तर केही उपभोक्ताले गरेको पानीको दुरुपयोग भने रोक्नैपर्ने देखिन्छ।

वि.सं. २०४८ मा किसुनजीले भाषण गर्दा मेलम्चीको पानी काठमाडौँ ल्याएर सडकसमेत धुन पुग्ने व्यवस्था गरिदिन्छु भन्नुभएको थियो। त्यही भएर होला, अहिले सडकमा पानी बगाइएको ? काठमाडौँका सबै भागमा अझै मेलम्चीको पानी पुगेको छैन भन्ने कुरा अहिले उपभोग गर्न पाएका उपभोक्ताले ख्याल गरेको देखिँदैन। आफूले केही कम पानी चलाए त्यसले अर्कोलाई काम लाग्छ भन्ने सोचाइ राख्नुपर्छ। पानी पिचमा बगाएर ढलमार्फत खोलामा पु¥याउने र त्यसलाई दक्षिणतिर बगाउने लक्ष्यका साथ मेलम्ची यहाँ ल्याइएको होइन। यो कुरा राजधानीवासीले सोच्न र बुझ्न आवश्यक छ। अधिकांश ठाउँमा पानीको सदुपयोगभन्दा पनि दुरुपयोग भएको देखिएको छ। यसमा सम्बन्धित निकाय तत्काल सचेत भई उपयुक्त कदम चाल्नुपर्छ। 

मेलम्चीको पानी झरेका घरको मान्छेका प्रवृत्ति हेर्दा राजनीतिक लाभका पदमा पुगेकाहरूको जस्तै देखिएको छ। पदबाट फुत्केपछि उही सार्वजनिक यातायात चढेर हिँड्नुपर्नेले पद पाएका बेलामा आफू, पत्नी र छोराछोरीलाई मात्रै होइन कि आफ्ना निजी सहायक र तरकारी किन्न जानेलाई पनि एक/एकवटा गाडी र ती गाडीका निमित्त सरकारी तेल, ड्राइभर र मर्मत खर्चको व्यवस्था गर्ने गर्छन्। अझ आफू त लाखौँ पर्ने गाडीले हुँदैन, तीन–चार करोड मूल्य पर्ने गाडी चढ्छन्। ठ्याक्कै त्यस्तै, पाएमा दुरुपयोग गर्न कसैले छाड्ने रहेनछ भन्ने कुरा मेलम्चीको पानीका उपभोक्ताले प्रमाणित गरिरहेका छन्। 

पाहुना आउँदा पानी पिउन दिन नसक्नेहरूले दैनिक आफ्ना घरमा भएका सवारीसाधन धोएर टिलिक्क टल्काउने गरेका छन्। कसैका घरमा बोटबिरुवा छन् भने तिनका पातपातमा पानी खन्याएर धुलो झार्न व्यस्त हुनेहरू पनि भेटिन्छन्। घरका पिँढी, आँगन र पर्खाल यही पानीले सफा गरिरहेको देख्न पाइनु सामान्य नै भएको छ। यस्ता सबै काम सकिएपछि पनि धारामा पानी आइरह्यो भने बाटोमा त्यत्तिकै बगाइदिएको पनि देखिन्छ। दुई सय रुपियाँको एउटा खोल्ने बन्द गर्ने साँचो घरको पाइपमा हालेर आफ्नो आवश्यकता पूरा भएपछि बन्द गर्ने परिपाटी बसाल्नुपर्छ। 

वि.सं. २०४८ देखिको सपना र बीसौँ वर्षदेखिको योजना पूरा गर्दा पनि पानी सदुपयोगको नीति र व्यवस्था गर्न व्यवस्थापन पक्ष चुकेकै देखिन्छ। मेलम्चीको पानी बाँड्न भनेर बिछ्याइएका पाइप ठाउँठाउँमा फुटेर खेर गइरहेको छ। पाइप फुटेपछि पानीको दुरुपयोग हुने त छँदै छ, पानीको स्वच्छतामा पनि असर पर्छ। पानी वितरण र व्यवस्थापनमा सबै अभ्यस्त भइनसकेका कारण कुनै ठाउँमा चाहिनेभन्दा बढी र कतै अपुग पनि भएको छ। कतिपय ठाउँमा त पाइप बिछ्याउने काम नै बाँकी छ भने त्यस्ता ठाउँका बासिन्दाले कहिले धारा खोलेर पानी खान पाउने हुन् भन्ने अझै यकिन हुन सकेको छैन।

यही राजधानीका कतिपय मानिसले यति स्वच्छ पानी पाउने र कतै पानी आपूर्तिका हिसाबले महानगरको बासिन्दा भएको अनुभूति नै नहुने अवस्था छ। त्यसैले राजधानीको पानी आपूर्तिलाई सहज बनाउन व्यवस्थापन र उपभोक्ता दुवैले सजगता अपनाउनैपर्छ। जसले अहिले पानी पाएका छन्, तिनले दुरुपयोग मात्रै रोकिदिने हो भने पनि केही सहज हुनेछ। व्यवस्थापन पक्षले कुनै क्षेत्रमा बढी र कुनैमा कम वितरण नगरी समान तबरले सुविधा उपलब्ध गराउन सक्नुपर्छ। योभन्दा पनि बढी पानीको गुणस्तरमा ध्यान दिएर यो पानी सिधै धाराबाट थापेर पिउन सकिन्छ भनी घोषणा गरेको सुन्न पाए राजधानीवासीलाई त्योभन्दा बढी हर्षको विषय केही हुने थिएन।

राजधानीवासीले सोच्नुपर्छ कि यो पानी सिन्धुपाल्चोकतिरका बासिन्दाका सुविधा काटेर ल्याइएको हो। त्यहाँका खेतमा उपलब्ध हुने पानीको मात्रामा राजधानीवासीलाई सेवा पु¥याउँदा कमी हुन पुगेको छ। खोलामा जन्मने, हुर्किने र खेल्ने जलचरको सङ्ख्यामा पनि न्यूनता आएको छ। यसका कारण माछा मारेर जीवन पाल्नेहरूको दैनिकीमा सङ्कट उत्पन्न भएको छ। पानी यता ल्याइएपछि खोला बग्ने क्षेत्रमा परेको सोझो वातावरणीय असरभन्दा पनि त्यसका अप्रत्यक्ष असर अझ धेरै छन्। यति 

गरेर आएको पानीको दुरुपयोग गर्न हुँदैन भन्नेतर्फ सचेत हुनैपर्छ।

कम पानी प्रयोग गर्नेलाई कम शुल्क लगाउने व्यवस्था गर्नुपर्छ। दैनिक हजार लिटर मात्रै खर्च गर्ने घरलाई न्यूनतम शुल्क लिने र त्यसपछि जति बढी पानी खर्च हुन्छ, शुल्क बढ्ने दर उति नै बढी हुने व्यवस्था लागू गरेमा केही नियन्त्रण हुनसक्छ। अर्थात् दैनिक हजार लिटरलाई मासिक सय रुपियाँ, त्यसपछिको दुई सय लिटरलाई प्रतिलिटर पाँच रुपियाँ, त्यसपछिको दुई सय लिटरलाई प्रतिलिटर दस रुपियाँजति शुल्क लाग्ने व्यवस्था गरेमा दैनिक गाडी धुने उपभोक्ताले टालोले गाडी पुछ्ने अभ्यास गर्न थालिहाल्छ। मिटरमा युनिट हुने भएकाले लिटरको सट्टा युनिटमा यस्तै किसिमको शुल्क व्यवस्था गर्न सकिन्छ। अर्थात् न्यूनतम आवश्यकता परिपूर्ति गर्ने मात्रालाई अत्यन्त कम शुल्क र त्यसपछिको मात्रालाई अत्यधिक शुल्क लगाइनु पानीको दुरुपयोग रोक्ने एक सरल उपाय हो।

मेलम्ची आयोजनाले घरघरमा वितरण गरेको कालो पाइपमा अझैसम्म कतिपय घरमा पानीको मिटर उपलब्ध गराउन सकेको छैन। सबै घरमा मिटर उपलब्ध गराई जोड्न लगाउने र यदि नजोडेको पाइएमा त्यो घरमा कम्तीमा पनि छ महिनासम्म पानी नदिने व्यवस्था गरिनुपर्छ। पाँच हजार लिटरको ट्याङ्कर दुई हजार रुपियाँमा किन्दाकिन्दै ढाड सेकिएका मान्छेलाई छ महिना पानी रोकिन्छ भन्ने डर भएमा अनिवार्य मिटर राख्नेछन्। यसमा जसरी मापसे गरेका चालकलाई प्रधानमन्त्रीको फोन आए पनि प्रहरीले छाड्दैनन्, मिटर नजोडेका उपभोक्तालाई ठीक त्यस्तै व्यवहार गरिनुपर्छ।

अर्को कुरा पहिलेदेखि नै मेसिन लगाएर पानी तान्ने बानी परेका उपभोक्ता अहिले पनि मेसिनबाट पानी तानेका देखिन्छन्। मेलम्चीको पाइपमा आएको पानी मेसिन नलगाउँदा पनि पर्याप्त आउँछ तर अरूको भन्दा चाँडै आफ्नो घरको ट्याङ्की भरेको फुर्ती लगाउनमा नै सन्तोष मान्ने राजधानीवासी पनि पर्याप्त सङ्ख्यामा भेटिएका छन्। सबैले मेसिन नलगाउनु र सबैले मेसिन लगाउनुमा कुनै भिन्नता हुँदैन भन्ने बुझिदिएमा मेसिन चलाएको बिजुलीको खर्च बच्ने थियो। सबै अबुझ हुने हो भने यसमा पनि नियम कानुनको व्यवस्था गर्नैपर्छ। समग्रमा भन्नुपर्दा मेलम्चीको पानी वितरण गर्ने अवस्थासम्म आइपुग्दा व्यवस्थापन पक्षको धेरै ठाउँमा कमजोरी देखिएको छ। उपभोक्ता सच्चिनु त पर्छ नै, व्यवस्थापन पक्षले समेत तदारुकता देखाउनुपर्छ।

कुनै पनि कुराको दुरुपयोगले कहिल्यै लाभ दिँदैन। सदुपयोगबाट नै मुलुकले मात्रै नभई आफूले समेत फाइदा लिन सकिन्छ। मेलम्चीले मात्रै पुगेको छैन, ल्यार्के र याङ्ग्री खोलाबाट समेत पानी काठमाडौँ ल्याउन बाँकी छ। तपाईंको घरको मात्रै समस्या मेटिएको हो। राजधानीका अन्य लाखौँ जनताका लागि खानेपानीको समस्या ज्युँका त्युँ नै छ। पानी आफूले मात्र होइन, आफ्ना नातिनातिनासमेतले खान पाउनुपर्छ भनेर सोच्नुपर्छ। सदुपयोगको नीति अपनायौँ भने पुस्तौँपुस्ताले यही पूर्वाधारमा पानी खान पाउने छन्। पानी ढलमा बगाएर पठायौँ भने भोलि के हुन्छ, कसैले भन्न सक्दैन।