बाबुराम शर्मा
दोलखा, पुस १० गते । दोलखामा गुन्द्री तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेपछि लोप हुन थालेका छन् ।
म्याटलगायत अन्य प्लास्टिकजन्य सामग्रीहरूको प्रयोग बढेसँगै जिल्लामा यस्ता सामानको उत्पादन हुन छाडेको सैलुङका ज्येष्ठ नागरिक रामप्रसाद श्रेष्ठले बताउनुभयो । आयातित सामग्रीले गाउँघरमा उत्पादन हुने सामग्रीहरू हराउन लागेका छन् । यस्ता परम्परागत सीप र सामग्रीहरू लोप हुँदा पुरानो पुस्ता चिन्तित भएको उहाँको भनाइ रहेको छ ।
पहिले पहिले पाहुनाको सत्कारका लागि नयाँ गुन्द्री, सुकुल तथा चकटीको प्रयोग हुन्थ्यो । विवाह, व्रतबन्ध जस्ता सामाजिक संस्कारमा यसैको प्रयोग गरिन्थ्यो । भीमेश्वर नगरपालिका–७ की ज्ञानी भुजेलले भन्नु भयो, अहिले भने जताततै म्याट र प्लास्टिकका सामग्री पाउन थालेपछि सुकुल, गुन्द्री, चकटीजस्ता हातले बनेका घरायसी सामान हराएका छन् । एकातिर आयातित सामान आउनु अर्कातिर खेती गर्न छोडेकाले पराल नपाउनु पनि कारण हुन् ।
पुष्पा क्षमावतीका सम्झना थामीले भन्नु भयो, प्लास्टिक सामग्रीको सहज उपलब्धताका कारण नयाँ पुस्ताले यस्ता सामग्री देख्न नपाउने स्थिति भयो । त्यति बेला महिला दिदीबहिनीहरूले मकैको खोस्टा र पराल उपलब्ध हुने बित्तिकै चकटी, सुकुल, गुन्द्री बनाउन थाली हाल्थे । माग पनि राम्रै हुँदा कतिपयको घर खर्च चलाउने माध्यम पनि थियो । अहिले ती सबै सम्झनामा मात्र सीमित भएका छन् ।
नयाँ पुस्ताको लागि यो कथा बनेको छ । चकटी र गुन्द्रीमा बसेजस्तो आनन्द र फाइदा अहिलेका सामग्रीबाट नपाइने बिगु गाउँपालिका ओराङका मैयाँ बरालले बताउनुभयो । स्थानीय उत्पादनको सट्टा विदेशी आयातित सामग्रीले गाउँघरको मौलिकता मासिँदै गएकाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मौलिक संस्कृति र सामग्रीको जगेर्ना गर्न नसक्दा नेपालीको पहिचान नै गुम्ने खतरा बढेकाले यसमा सबैको ध्यान जान जरुरी रहेको बरालको भनाइ रहेको छ ।