• १३ मंसिर २०८१, बिहिबार

‘नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्नुपर्छ’

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ९ गते । नेपाली कांग्रेसका सांसदहरूले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरूले सो दबाब दिएका हुन् ।

जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनेर मत मागेको स्मरण गराउँदै जनतासँगको वाचा पूरा गर्न आगामी नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको सांसदहरूले बताएका छन् । कांग्रेस वर्तमान अवस्थामा देशकै ठूलाे राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न सुझाव दिएका हुन् । 

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सुझाव दिएको बताउनुभयो । गठबन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि बनेकाले गठबन्धनमा आबद्ध दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।  

गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसलाई दिनुपर्ने आफूहरूले सुझाव दिएको उहाँले बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गठबन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि हो । आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले त्यही सुझाव दिएका छौँ ।’ 


प्रधानमन्त्री लिएर राष्ट्रपति पद पनि कांग्रेसले छाड्न नहुने सांसदहरूको सुझाव छ । सांसद पौडेलले भन्नुभयो, “कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने होइन,  मुख्यमन्त्री, सभामुख लगायतका पदहरू पनि छन् ।”

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिएर बाँकी पदहरू उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदहरूमा गठबन्धनमा आबद्ध दलहरूसँग भागबण्डा हुनसक्ने उहाँले बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि १० गतेसम्मको समय निर्धारण गर्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सघन वार्ता भएपनि सहमति बन्न नसकिरहेको अवस्थामा कांग्रेसका सांसदहरू आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन बालुवाटार पुग्नुभएको थियो ।