• २१ असार २०८१, शुक्रबार

स्याउको बगान व्यवस्थापन गरिँदै

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस ९ गते । हिमालपारिको जिल्ला मुस्ताङका स्याउ किसानहरू अहिले बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । रसिलो स्याउको राजधानीको रूपमा रहेको मार्फा लगायतका क्षेत्रका स्याउ किसानहरू स्याउ जातका फलफूलको बगैँचा व्यवस्थापनमा सक्रिय रहेका छन् ।

स्याउ टिपेर विक्री गरिसकिएको र अहिले स्याउको बगैँचा व्यवस्थापन गर्ने समय रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । उहाँका अनुसार यदि यो समयमा हिमपात भएको खण्डमा हिउँले बालिलाई राम्रो प्रभाव पार्ने थियो । शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारीका लागि आवश्यक पर्ने तापक्रम व्यवस्थापन हुनका लागि हिमपातले राम्रो गरिदिन्छ । 

मुलुक भित्र तथा बाहिर पनि स्याउ उत्पादनको दृष्टिकोणले प्रसिद्ध मानिएको हिमाल पारीको जिल्ला मुस्ताङका किसान यति बेला स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको दोस्रो सातासम्म मुस्ताङका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइ नभ्याई हुने गर्छ ।


मुस्ताङको स्याउ बगैँचामा लटरम्म फलेका यस वर्षको स्याउ बोटबाट टिपेर बजार पुर्‍याएपछि अहिले बोट नाङ्गा र उजाड छन् । न त स्याउको दाना बोटमा छ न त स्याउका हरिया पात नै । यिनै उजाड देखिएका स्याउ बोटको काटछाट तथा यसको अन्य व्यवस्थापन कार्यमा किसान जुटेका हुन् । स्याउको उपयुक्त बगैँचा व्यवस्थापनमा कृषकले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले समयमै बगैँचा व्यवस्थापन अनिवार्य हुने आत्रेयको भनाई छ । कृषकहरूले अहिले बगैँचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाझो जग्गामा समेत नयाँ स्याउका बिरुवा लगाउनका लागि तयारी गर्ने गरेका छन् । 

घरपझोङ गाउँपालिका मार्फाका कृषक दीपक लालचनले गुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ कटिङ अनिवार्य भएको बताउनुभयो  । उहाँले स्याउ कटिङ नगरेमा वा जथाभाबी बिना तालिम स्याउ कटिङ गर्नाले उत्पादन क्षमता तथा गुणस्तरमा समेत कमी आउने भएकाले पनि उपयुक्त बगैँचा व्यवस्थापन आवश्यक हुन्छ भन्नुहुन्छ । स्याउ बगैँचामा रहेका बोटको पुरै पात झरिसकेपछि स्याउ कटिङ गरी आवश्यक औषधि तथा कीटनाशक विषादी पनि दिने गरिन्छ । यो समयमा काँटछाँट गरिएन भने उत्पादन राम्रो नहुने उच्च घनत्व स्याउ दुई हजार पाँच सय र स्थानीय जातका पाँच सय गरी तीन हजार बोट रहेका कृषक लालचनले बताउनुभयो ।

स्याउका बोटमा फैलिने अनावश्यक हाँगाबिँगाको उपयुक्त व्यवस्थापन गर्न आवश्यक हुन्छ । स्याउको बोटमा फैलिने हाँगाबिँगाहरूको उपयुक्त किसिमले काँटछाँट गरे मात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्ने र स्याउले राम्रो उत्पादन दिने भएकाले स्याउ काँटछाँट गर्नु पर्ने कृषकको भनाई छ । आवश्यक मलजल गर्ने र बोटमा लाग्ने विभिन्न रोग कीराको प्रकोप नियन्त्रण गर्न विभिन्न विषादी तथा किटनाशक औषधि छर्किने र आवश्यक सिँचाइको व्यवस्था पुर्‍याउन सके मात्र स्याउ बोटले राम्रो फल दिने भएकाले यो समयमा स्याउ कृषकहरूले बगानमा मेहनत गरी रहेका छन् । यो समयमा हिमालपारिको जिल्ला मुस्ताङको पाँच वटै स्थानीय तहमा स्याउ बगैँचा व्यवस्थापन तथा स्याउ कटिङको काम भइरहेको आत्रेयले बताउनुभयो ।