• १० मंसिर २०८१, सोमबार

अन्धविश्वासको विडम्बना

blog

नेपाली समाजमा झारफुकका नाममा पहिलेदेखि नै अन्धविश्वास कायम रहेको छ। झारफुकको भर पर्दा मुलुकका विभिन्न भागमा बर्सेनि मानिसले ज्यान गुमाइरहनु परेको छ। मानिसले ज्यानै गुमाउनु पर्ने स्थिति सिर्जना हुनु भनेको चिन्ताजनक मात्र होइन, निन्दनीय विषय हो। शिक्षा, चेतना, आधुनिक चिकित्सा संरचनामा पहुँचको कमी आदि पक्षले मानिस अझै पनि परम्परागत अन्धविश्वासको शरण लिन बाध्य हुनु विडम्बना हो। नेपाली समाजमा झारफुकको विगत लामो इतिहास हो। आधुनिक उपचार पद्धतिको विस्तारको इतिहास लामो छैन।  हुन पनि झारफुकको विस्तार हेर्दा अचम्म लाग्दा तथ्यहरू पाइन्छन्। उदाहरणका रूपमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका हरेक क्षेत्रमा कुनै न कुनै रूपमा यसको उपस्थिति पाउन सकिन्छ। 

गाउँमा त चिकित्सा सेवा नपुग्दा झारफुकलगायत अन्धविश्वास हुनु स्वाभाविक हो तर सहरमा समेत झारफुक गर्ने पद्धति कम हुन सकेको छैन।  हरेक तह र तप्काका कतिपय मानिस यस अन्धविश्वासप्रति बाध्य छन्। अशिक्षा, न्यून चेतना, अनि स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नहुँदा यस्तो बाध्यता परेको हुन पनि सक्छ। सहरमा बस्ने कतिपय शिक्षित मानिससमेत यो झारफुक विद्यामा विश्वास हुनु आफैँमा अनौठो विषय मान्न सकिन्छ। धनी, गरिब, उच्च वर्ग, मध्यम वा निम्न वर्गका कतिपय मानिसले यो अन्धविश्वासलाई अँगाल्नु नेपाली समाजको विशेषताका रूपमा चित्रण गर्न सकिने देखिएको छ। यो अनौठो तथ्यजस्तै भएको छ। झारफुकमा विश्वास गर्नेहरूले यसबाट रोगव्याधिलगायतका समस्याबाट मुक्त भएर जीवनमा सकारात्मकता छाउने विश्वास गर्छन् तर वास्तविकता यसको ठीक विपरीतसमेत हुन सक्छ। झारफुक रोगव्याधिको उपचार गर्ने नभई जनमानसमा व्याप्त अन्धविश्वासको फाइदा उठाएर गरिने बिना तथ्य एवं प्रमाणको क्रिया भएको विज्ञानको मत छ। यसले जीवनमै क्षति पु-याउने कामसमेत हुन सक्छन् र यस्ता घटना भइरहेको बारम्बार देख्न सकिन्छ।

झारफुकमा प्रयोग गरिने क्रियाकर्मका कारण पीडितले विभिन्न किसिमका शारीरिक यातना भोग्नु परेका अवस्था छन्। तातो पन्युले डाम्ने, तातो तेल र तातो पानी रोगी पीडितको नाङ्गो शरीरमा खन्याउने आदि जस्ता अमानवीय घटनाका कारण गम्भीर घाइते हुनु स्वाभाविकै हो। झारफुकको नाममा यस्तै एउटा घटना केही दिन पहिले राजधानी काठमाडौँको तारकेश्वर नगरपालिकामा देखियो। तथाकथित माताले झारफुकको नाममा तातो डाडु, पन्युले डाम्ने, तातो तेल खन्याउने आदि कार्य गर्दा पीडित महिला गम्भीर रूपमा घाइते भएपछि सो कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेर कुटपिट तथा 

अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिसकेको स्थिति छ। शरीर काँप्ने, बर्बराउने तथा छटपटी हुनेजस्ता स्वास्थ्य समस्याबाट पीडित महिलालाई निको पार्ने तथाकथित माता तथा उनका समूहले अमानवीय क्रियाकलाप गरेको स्वीकार पनि गरिसकेको छ। 

स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका कारण शरीरमा सिर्जना हुने विषम परिस्थितिको निवारणका निम्ति आधुनिक चिकित्सा पद्धति वा चिकित्साकर्मीको सहायता नलिई बिना तथ्य तथा प्रमाणका झारफुकजस्ता गतिविधिको सहायता लिनु नै यावत् समस्याका कारक तत्त्व हुन्। यसबाट पीडितले अमानवीय क्रियाकलाप सहन गर्नुपर्ने मात्र नभई मृत्युकै मुखमा धकेलिएका उदाहरण छन्। गत वर्ष पुस महिनामा नै झारफुकको नाममा काठमाडौँ रानीवनको एक झारफुक केन्द्रमा दिइएको शारीरिक यातनाकै फलस्वरूप एक नाबालिकाको अस्पतालमा निधन भयो। यस्तै गुल्मीमा पनि झारफुकको यातनाकै कारण एक वृद्धले ज्यान गुमाउनु परेको थियो। यसबाहेक पनि मुलुकका अन्य क्षेत्रमा झारफुकका कारण भइरहेका यस्ता कतिपय घटना जानकारीमा नआएका पनि हुन सक्छन्। 

सामाजिक विकृतिका रूपमा रहेको झारफुकका घटना नियन्त्रण गरिनु अति नै आवश्यक देखिएको छ। शारीरिक समस्या समाधानका निम्ति आधुनिक स्वास्थ्य पद्धति हुँदाहुँदै यस किसिमका अन्धविश्वासी तर्कमा लाग्न नदिन आमजनतामा जनचेतना तथा सुसूचित गर्न जरुरी छ। यसका निम्ति आधुनिक स्वास्थ्य उपचार पद्धतिलाई गरिब जनतासम्मको पहुँच पु-याउनु अति महत्त्वपूर्ण भएको छ। यसका अतिरिक्त झारफुक अन्धविश्वास मात्र भएको र यसबाट उपचार सम्भव नभएको तर्फ सर्वसाधारणमा चेतना दिइनु जरुरी छ। मूल कुरा त चिकित्सा विज्ञानका भरमै मानिसको जीवन सुरक्षित हुन्छ र त्यसैको पहुँच विस्तार गर्नु वाञ्छनीय छ।