• ११ मंसिर २०८१, मङ्गलबार

वायु प्रदूषण न्यूनीकरणमा चासो

blog

विश्व बैङ्कको प्रतिवेदनअनुसार दक्षिण एसियामा वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु हुने गर्छ। दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह छ। संसारका दस प्रदूषित सहरमध्ये नौवटा दक्षिण एसिया क्षेत्रमा रहेको विश्व बैङ्कको २०७९ मङ्सिर २८ गतेको प्रतिवेदनमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार हावामा औषत वार्षिक पी.एम. २.५ एक घनमिटरमा ५ माइक्रोग्राम हुनुपर्छ। २.५ माइक्रोमिटर वा सोभन्दा साना धुलाका कणलाई पी.एम. २.५ भन्ने गरिन्छ। धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मानिसलगायत अन्य जीवित प्राणीमा अस्वस्थ बनाउँछ। 

सोको प्रभावबाट श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सर हुने डब्लुएचओले जनाएको छ। त्यस्तै विश्व बैङ्कको ‘स्ट्राइभिङ फर क्लिन एयरः एयर पोलुसन एन्ड पब्लिक हेल्थ इन साउथ एसिया’ अध्ययन प्रतिवेदनमा हावामा वार्षिक औषत पी.एम. २.५ को मात्रा ३५ माइग्रोम प्रतिघनमिटरमा पाइएको उल्लेख छ। भारतको लखनउ, कोलकाता, बनारस, नयाँ दिल्ली र पट्ना, नेपालको काठमाडौँ उपत्यका, बङ्गलादेशको ढाका, अफगानिस्तानको काबुल र पाकिस्तानको इस्लामावादमा वार्षिक रूपमा हावामा धुलोको कणको मात्रामा औषतभन्दा बढी छ। सोअनुसार हावामा पी.एम.२.५ को मात्रा धेरै जनसङ्ख्या भएको ठाउँमा २० गुणभन्दा बढी पाइएको छ। 

सो प्रतिवेदनअनुसार वायु गुणस्तरका लागि दक्षिण एसियाली मुलुकमा बनाएको नियम पनि प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ। सो समस्या समाधानका लागि उत्सर्जनमा कटौतीसँगै क्षेत्रीय रूपमा पहल र समन्वयको खाँचो छ। पूर्ण रूपमा नीतिगत व्यवस्था कार्यान्वयन गरिए हावामा धुलाको कणको मात्रा चार प्रतिशतले मात्र घट्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०१८ देखि २०३० मा यस क्षेत्रमा धुलोको कणको मात्रा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। प्रदूषण बढ्नुको कारण खाना पकाउने दाउरा, स–साना उद्योगबाट निस्कने उत्सर्जन, इँटा उद्योग, फोहोर व्यवस्थापनमा कमजोरी, बढ्दो सवारी साधन, प्लास्टिक जलाउने कार्यले वायु प्रदूषण बढेको छ। 

नेपालको सन्दर्भमा जाडोयाम बढेसँगै जताततै फोहोर बाल्ने र आगो ताप्ने क्रियाकलाप बढ्छ। जसको कारणले गर्दा जाडो याममा कम वर्षा हुने हुँदा प्रदूषणको खतरासँगै डढेलोको खतरा पनि बढ्न सक्छ। गत वर्षको डढेलोको तथ्याङ्क र खतरालाई ध्यानमा राखेर यस वर्ष सो समस्याको न्यूनीकरण तथा समाधानका लागि विपत् पूर्वतयारी योजनाको अति आवश्यकता पर्छ। सोका लागि स्थानीय सरकारले बेलैमा सोच्न सके गत वर्षको जस्तो क्षति बेहोर्नु पर्दैन। त्यस्तै काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन्। सो कारणले पनि प्रदूषण बढाउन मद्दत गरेको छ।   नेपालतिर प्रदूषण बढ्नुमा भारत र चीनको पनि प्रभाव पर्छ। कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषणसमेत मिसिएपछि वायु थप प्रदूषण बन्छ। वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो। हावा पनि चलेन, प्रदूषणमात्रै भित्रिरह्यो। सो कारणले वायु मण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलन्छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५१ देखि एक सयसम्मको एकयुआइलाई सामान्य मानिन्छ। एकयुआई दुई सय एकभन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। तीन सय एकभन्दा माथि पुगे घातक हुन्छ। 

प्रदूषणको कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्छ। सो असरको प्रभावले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढ्ने हुन्छ। प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित हुन्छन्। स्वस्थ व्यक्ति पनि सो कारण हाच्छियुँ हाउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातीमा 

सङ्क्रमण हुने गर्छ। भौगोलिक बनावटको कारण काठमाडौँको वायु प्रदूषण त्यसै पनि उच्च छ। बाक्लो बस्ती, अव्यवस्थित सवारी साधन, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ।  स्टेट अफ ग्लोबल एयर २०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२,१०० जनाको मृत्यु हुने गरेको उल्लेख छ। वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ।  

यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटविरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाँउमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि। तुवाँलाको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिने, बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, इभिनिङ वाक्, वा घर बाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्ने हुन सक्छ सोबाट जोगिने, वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगावै बुढ्यौली आउने, चाउरिनु, छालामा दाग लाग्नुलगायतका थुपै छालासम्बन्धी समस्या देखुनका तत्काल एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र सङ्क्रमण हुन्छ। 

चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिवलको तेल लगाउनु पर्छ। त्यस्तै समयसमयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छालामा जम्मा भएको प्रदूषक, रसायनको तह आदि घटाउन सकिन्छ। स्वास्थकर्मीका अनुसार तुवाँलोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुनसक्छ।