• १३ मंसिर २०८१, बिहिबार
blog

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, पुस ७ गते । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।

शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गर्नुभएको छ। उहाँले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई बिहीबार शपथग्रहण गराउने कार्यक्रम छ। त्यससँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल बिहीबारदेखि नै सुरु हुनेछ। सोही दिन दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ। ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि शपथपछि प्रारम्भ हुनेछ।

सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन् । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन् ।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले शपथ लिएसँगै सदस्यको औपचारिक रूपमा कार्यकाल प्रारम्भ हुने बताउनुभयो। धमलाका अनुसार सदस्यहरूले पाउने सेवासुविधालगायतको गणना पनि बिहीबारदेखि नै हुनेछ। मङ्सिर ४ मा एकै पटक चुनाव सम्पन्न भएपछि यस पटक मतगणनामा शीघ्रता हुँदा जनप्रतिनिधिमूलक संस्थामा छोटो समय मात्र रिक्तता भएको हो। साथै प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो। अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो। यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन। पुसको दोस्रो सातासम्म अधिवेशन आह्वान हुने अनुमानमा सचिवालयले तयारी भने करिब पूरा गरिसकेको छ। शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन। अधिवेशनमा राष्ट्रपतिले चाहेमा सम्बोधन पनि हुनेछ। राष्ट्रपतिबाट सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ। अघिल्लो पटक सांसदको शपथग्रहण नगरी प्रधानमन्त्री नियुक्त भएकोमा यस पटक त्यो अभ्यासमा पनि सुधार हुने भएको छ। अब बस्ने अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढ्नेछ।  

१४ भाषाका २६ जना 

यस्तै सहायक प्रवक्ता धमलाका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्। १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले बैठक आह्वान गर्नुभएको हो। बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ। बिहीबार मध्याह्न १२ बजे सर्वदलीय बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।