• १२ साउन २०८१, शनिबार

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध

blog

नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : कविता थापा

काठमाडौं, पुस ५ गते। नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई  दलको नेता चयन गरेको हो। 

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले ओलीलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको हो।

सचिव अधिकारी अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो। 

मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावमा प्रतिनिधि सभामा ७८ सिटसहित एमाले दोस्रो पार्टी बनेको छ। 

 अध्यक्ष ओलीको जीवन र राजनीति

अध्यक्ष ओली वि.सं. २००८ फागुन ११ गते इवा –२, तेह्रथुममा जन्मनु भए पनि उहाँहरू २०२० मा झापामा बसाइँ सर्नुभयो। २०२३  मा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भएपछि उहाँ २०२५ मा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा संलग्न हुनुभएको थियो।

२०२६ मा माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका अध्यक्ष ओलीले २०२७ जेठ ९ गते पूर्णकालीन नेताको रूपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन सुरु गर्नुभएको हो। २०३५ पुस ११ गते जेलमा रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) को संस्थापक नेताको हैसियत उहाँले प्राप्त गर्नुभयो।

२०४७ जेठ १ मा पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्षको जिम्मेवारीमा आउनुभएपछि २०४७ पुस २२ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले) को संस्थापक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभयो।

२०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा –६ बाट संसद्को तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा उहाँ निर्वाचित हुनुभयो। २०५१ को मध्यावधि निर्वाचनमा झापा –२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको थियो। सोही वर्ष मङ्सिर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो सरकारको गृहमन्त्रीको भूमिका निर्वाह गर्नुभयो। 

अध्यक्ष ओली २०५६ मा झापा –६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित हुनुभयो। २०६३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनः स्थापित सांसदद्वारा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित हुनु  अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

सोहीअनुसार अध्यक्ष ओली २०७१ साउन १ गते नवौँ राष्ट्रिय अधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभयो। २०७२ असोज २४ गते व्यवस्थापिका सांसदबाट प्रधानमन्त्री पदमा पहिलो पटक निर्वाचित हुनुभएको थियो। २०७४ फागुन ३ गते अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औँ प्रधानमन्त्रीको रूपमा दोस्रो पटक शपथ ग्रहण गरी ४१ महिना प्रधानमन्त्रीको रूपमा जिम्मेवारी वहन गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा देशको आर्थिक समृद्धिका लागि जग हाल्ने काम गर्नुभयो। उहाँ २०७८ असार २९ गतेसम्म नेपालको प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो।  

झापा निर्वाचन क्षेत्र ५ बाट पुनः निर्वाचित हुनुभएपछि उहाँ संसदीय दलको नेता बन्नुभएको हो। एमाले नेतृत्वमा सरकार गठन हुने वातावरण बनेमा उहाँ प्रधानमन्त्री बन्नुहुनेछ।