• २६ मङ्सिर २०८२, शुक्रबार

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

blog

नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपाने ।

काठमाडौँ, मङ्सिर २६ गते । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।  

उहाँले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित हुनुभयो । 

 फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोनुभएको थियो ।  

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३–१ सेटमा पराजित गर्नुभएको थियो ।  उहाँले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जित्नुभएको थियो । 

न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउनुभएको थियो ।  टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस सङ्घका अध्यक्ष गणेश केसीले जानकारी दिनुभयो । 

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ । प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ ।रासस