• २६ मङ्सिर २०८२, शुक्रबार

सिपको प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव

blog

तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले सो तालिममा सहभागी महिलालाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका सिप प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव दिनुभएको हो । 

उहाँले गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्यमा लगानी र भौतिक निर्माणका साथै स्थानीयलाई सिपसँगै रोजगारीमा जोड्ने लक्ष्यले मिसन रोजगारीका कार्यक्रम गर्ने क्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानसँग सहकार्य गर्दै महिलालाई झोला बनाउने तालिममा सहकार्य गरेको बताउनुभयो ।

नगर प्रमुख रिजालले नगरपालिकाले कुकको तालिम, फोटो भिडियोग्राफी, इम्ब्रोइडरी, मखमली जुत्ता, ड्राइभिङ तालिमसमेत सञ्चालन गरेकोमा सबैले रोजगारीमा जोडिने अवसर पाएको अनुभव सुनाउँदै सिप, कलासहित स्वव्यवसाय गर्ने, रोजगारी गर्ने अवसरले नागरिकको आर्थिक सशक्तिकरण हुँदा स्थानीय तहको सम्वृद्धिमा योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । 

नगरपालिकाका उपाध्यक्ष सान्नानी लामाले लैङ्गिक हिंसाको अन्त्यका लागि सिप, व्यवसायको प्रवद्र्धनले सहयोग पुग्ने बताउँदै, झोला बनाउने तालिममा सहभागीले निक्कै राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि पुनः सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले महिलाले घर परिवार सम्हाल्दै पनि रोजगारी, व्यवसायलाई अगाडि बढाउन सक्ने क्षमता सिप तालिमले दिने बताउनुभयो ।  

गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमले आफुले गर्नुपरेको सङ्घर्षका अनुभव सुनाउँदै महिलाले सिप सिकेर रोजगारीमा जोडिदा हिंसाबाट समेत मुक्ति पाउने, आत्मनिर्भर बनेर आफ्ना सन्तानलाई पढाउने अवसर पाउने बताउनुभयो । उहाँले महिला हिंसा विरुद्धको एक दिने कार्यक्रमले महिलामाथि हुने हिंसा न्युनीकरण हुन्न, उनलाई सिप सिक्ने अवसर दिंदै व्यवसाय गर्न सहयोग गर्न सकिएमा आर्थिक सशक्तिकरणबाट हिंसाको अन्त्य गर्न सकिने बताउनुभयो । 

गोपाल गौरी दिगो विकास प्रतिष्ठानका संरक्षक भक्तबहादुर क्षेत्रीले महिलालाई तथा बालबालिकासँग काम गर्ने प्रतिष्ठानले देशभर महिला सशक्तिकरणका लागि सिप सिकाउने कुरामा जोड दिएको बताउनुभयो । कुमारी भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलबहादुर पौडेलले प्रतिष्ठानसँग सहकार्य गरी महिलालाई सिप सिक्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रतिष्ठानका निवर्तमान सचिव धनमाया पौडेलले महिलाले उत्पादन गरेका  झोलासहित, विविध सामाग्रीको बजार व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा झोला सिलाउने तालिममा सहभागी मिनामाया तामाङ, ममता शाह, कुसुम पौडेल, सरस्वती सापकोटा, सविता पाण्डे, सुनिता पाठक, प्रमिला स्याङ्तान, पूजा देवी, सुनिता कुमारी चौधरी, सम्झना सुवेदीलगायतलाई प्रमाणपत्रसहित झोला उपहार प्रदान गरिएको थियो । झोला सिलाउने तालिममा सहभागीलाई प्रशिक्षक अनिता सुनुवारले प्रशिक्षण दिनुभएको थियो ।