शंकर केसी
सल्यान, मङ्सिर २६ गते । सल्यानको कुमाख गाउँपालिकामा एक हजार बढीले निःशुल्क आँखा जाँच सेवा पाएका छन् । साथै एक सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिब दुई सय जनालाई चस्मा वितरण गरिएको छ ।
कुमाख गाउँपालिकाको आयोजना र रुइत फाउन्डेसन तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमबाट सुर्खेत आँखा अस्पतालको प्राविधिक समन्वयमा आँखा जाँच तथा मोतियाबिन्दु शिविर सम्पन्न भएको हो ।
मङ्सिर १४ गतेदेखि १९ गतेसम्म गाउँपालिकाको छ स्थानमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमार्फत एक हजार १२४ जनाले आँखा जाँच सेवा प्राप्त गरेको र नजिकको देख्न कठिनाई भएका १९४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिङ वलीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा जाँचका क्रममा १७२ जना व्यक्तिमा मोतियाबिन्दुको समस्या पत्ता लागेको थियो ।
शल्यक्रिया शिविरमा १०२ जनाको मोतियाबिन्दु र दुई जनाको आँखामा मासु पलाएको गरी जम्मा १०४ जनाको सफल शल्यक्रिया गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शल्यक्रियामा डाक्टर सविना पराजुली र प्रेम दिक्षित तथा सुर्खेत आँखा अस्पतालको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको हो ।