• १२ साउन २०८१, शनिबार

स्थायीत्व र रूपान्तरणको लागि गगनलाई अघि सारेका हौँ: शेखर कोइराला

blog

पार्टी संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्न पुग्नुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । तस्बिरः केशब गुरुङ

काठमाडौं, पुस ५ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रूपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ। 

मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो। उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीहरूको बीचमा धेरै छलफल भयो। गगन थापाले भने जस्तै स्थायीत्व र निरन्तरताको लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ। आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ।’

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ। महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहनुभएको छ भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत हुनुहुन्छ।