• १२ साउन २०८१, शनिबार

दलको नीति र निर्णय अनुसार चल्न सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन

blog

पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : कविता थापा

काठमाडौं, पुस ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन  दिनुभएको छ। अध्यक्ष ओलीले सच्चा जनप्रतिनिधिको रूपमा संसद् भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढङ्गले अघि बढ्न पार्टीका सांसदलाई सचेत गराउँदै निर्देशन दिनुभएको हो। 

मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीले देश र जनताको हितबाहेक अरू  केही पनि नहेर्ने भएकाले पार्टीका सांसदले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क गर्नुभयो। ओलीले पार्टीले देश र जनताको हितबाहेक अरू नसोच्ने समेत बताउनुभएको छ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘देश बर्बादीतर्फ गइरहेको छ। यस्तो अवस्थामा हामी नयाँ सङ्कल्पसहित अगाडि बढ्नु पर्छ । हाम्रा प्रतिनिधि सभा सदस्य जो नवनिर्वाचित हुनुहुन्छ । प्रतिनिधि सभाका सदस्य र प्रदेश सभाका सदस्य सबै दलका निर्णय, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु । किन भने दल र पार्टीले देश र जनताको हित बाहेक अरू केही पनि सोचेको हुँदैन ।’’  

यसैगरी, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ 

उहाँले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताउनु भयो । तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताउनु भयो ।

उहाँले अहिले मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै सङ्कटमा पर्ने खालका गतिविधिहरू भइरहेको बताउनु भयो । महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा सुरु भएका अस्थिरताका खेलहरूले एमालेले अघि सारेका मान्यता सही साबित गरिदिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरू देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ ।तर मुलुकलाई नीति, विचार, लक्ष्य, र उद्देश्यविहीन राजनीतितर्फ अघि बढाउने प्रयास भयो ।’’