नवराज श्रेष्ठ
रामेछाप, पुस ५ गते । रामेछाप सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने सडक लामो समयदेखि अलपत्र अवस्थामा छ ।
सडक कालोपत्रे ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सनको लापरबाहीका कारण मन्थली–चिसापानी–पुरानागाउँ सडक लथालिङ्ग बनेको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडकको नाला तथा ग्याभिनसहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो ।
यो सडक कालोपत्रेको काम २०७८ पुस २५ गते सम्पन्न गर्ने गरी सो कम्पनीले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । तर काम सम्पन्न हुनुपर्ने समयभन्दा एक वर्ष बढी बितिसक्दा पनि सडक बढाएर ठाउँठाउँमा ग्याभिन, वाल र नालामात्रै बनाई निर्माण कम्पनीले यो सडक अलपत्र अवस्थामा छाडिदिएको छ । लामो समयदेखि सडक लथालिङ्ग अवस्थामा छोडिएको मन्थली–चिसापानी–पुरानागाउँ सडकमा आफूहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको मन्थली नगरपालिका–९, पुरानागाउँका गौतम आरण बताउनुहुन्छ ।
“लामो समयदेखि सडकको काम रोकिएको छ । कहिले काम गरेको पनि देखिन्छ, २०७८ सालको पुसमै कालोपत्रे भइसक्नुपर्ने सडकमा अहिले धुलो र ढुङ्गाबाहेक केही छैन । यस्तो बाटोमा सवारीसाधन चलाउन जोखिमयुक्त छ,” उहाँले भन्नुभयो ।
पटक–पटक ताकेता गर्दा पनि सडक कालोपत्रेको काम सम्पन्न गर्नुपर्छ भन्नेमा निर्माण कम्पनी गम्भीर नदेखिएको मन्थली नगरपालिका–९ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जति ताकेता गर्दा पनि हाम्रो कुरा सुनिएन । अहिले वडा समितिबाट निर्णय गराएर पूर्वाधार कार्यालयसँग सडकको काम सक्नुपर्ने सयम, काममा ढिलाइ हुनुका कारणहरू र सम्झौता भएको समय माग गरेका छौँ ।” सडक कालोपत्रेको काम सम्पन्न गराउन धेरै ताकेता गरिए पनि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेको मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठले बताउनुभयो ।
“निर्वाचनपछि तत्काल काम सुरु गर्ने प्रतिबद्धता गरिए पनि अझै काम सुरु भएको छैन,” उहाँले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिमलगायतका कारण यो सडक कालोपत्रे गर्ने समय २०७९ असारसम्म थप भएको र अबको केही दिनमै काम सुरु गरी २०७९ चैतसम्म काम सम्पन्न गरिने कान्छाराम कन्स्ट्रक्सनका विनोद बुढाथोकीले बताउनुभयो । “सडकमा ग्याभिन, वाल, नाला बनाउने काम लगभग सकिएको छ । अब केही दिनमा बेस हाल्ने काम सुरु हुन्छ,” उहाँले भन्नुभयो ।
बागमती प्रदेश सरकारको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँको लागतमा २०७८ पुस २५ कालोपत्रे सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले यो सडकको ठेक्का सम्झौता गरेको थियो ।