• ४ जेठ २०८१, शुक्रबार

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

blog

काठमाडौँ, पुस ३ गते । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । 

यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।

विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर देखिएको आर्थिक सङ्कटका कारण लगानी प्रतिबद्धता घटेको बताउनुभयो । यो पाँच महिनाको अवधिमा वैदेशिक लगानीका परियोजनाको सङ्ख्यामा धेरैले नघटे पनि लगानी प्रतिबद्धता रकम भने आधाभन्दा बढीले कमी भएको उहाँले जानकारी दिनुभयो । 

गत असोज अन्तिमतिर सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको छ । लगानीको न्यूनतम सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीमा ९१ वटा साना उद्योग, १९ मझौला र एउटा ठूलो उद्योग दर्ता भएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटन परियोजनामा आएको धामीले जानकारी दिनुभयो । 

विभागका अनुसार पाँच महिनामा उत्पादनमूलक परियोजनामा सात, पर्यटनमूूलक ४७, सेवामूलक ५२, सूचना प्रविधिमा आधारित तीन र पूर्वाधारको एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट छ हजार ५०९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

यो पाँच महिनाको अवधिमा ७५३ लगानीकर्ता, ८० प्रतिनिधि, १९७ जना आश्रित व्यक्तिलाई बिजनेस भिसा सिफारिस गरिएको विगागले जनाएको छ । 

प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई बिजनेस (व्यावसायिक) भिसामा कडाइ गरेको छ । पछिल्लो समय विदेशी नागरिकले बिजनेस भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानीका लागि स्वीकृत लिने गरेको विभागको ठम्याइ छ । 

यसैबीच सरकारले विदेशी लगानीका कम्पनीलाई प्रतिबद्धताअनुसारको लगानी भित्र्याउन सहजीकरण गर्ने भएको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिबद्धता जनाएअनुसार पूरा लगानी ल्याउन सेयर खरिद बिक्री, लाभांश प्राप्तिलगायतका विषयमा समस्या देखिएको छ । अहिले यही समस्या हटाउने तयारी भएको विभागले जनाएको छ । 

विदेशी लगानी तथा हस्तान्तरण शाखाले विदेशी लगानीको लेखाङ्कन तथा लेखाङ्कन समर्थनका लागि प्रमाणसहित निवेदन दिन लगानीकर्तालाई सूचित गरेको छ । शाखाले मङ्सिर २६ गते ३५ दिने सूचना प्रकाशित गरी लगानीकर्तालाई आह्वान गरेको हो । 

विभागले प्रचलित कानुनबमोजिम विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लगतसमेत कायम भएका तर विदेशी लगानी वापतको रकम नेपाल भित्र्याएको प्रमाण पेस गर्न नसकेका लगानी विवरण विभागले मागेको हो ।  

नेपाल राष्ट्र बैङ्कबाट लेखाङ्कन, लेखाङ्कन समर्थन नभएका उद्योगको सेयर खरिद बिक्री, पुनर्लगानी, लगानी फिर्ता लैजानेलगायतका उद्योग प्रशासनका विषयलाई नीतिगत तहमा समाधान गर्न विवरण माग गरिएको विभागको जनाएको छ । 

यस्ता लगानीकर्ताले विभागमा ३५ दिनभित्र उद्योग विभाग, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखामा आइपुग्ने गरी विवरण उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।  

यस्तै प्रतिबद्धताअनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण, राष्ट्र बैङ्कबाट लेखाङ्कन हुन नसक्दा परेको समस्यालगायतका विषयमा प्रमाणसहित निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । एक पटकभन्दा बढी विदेशी लगानी स्वीकृति भएका उद्योगको हकमा सबै विदेशी लगानी स्वीकृतिको विवरण उल्लेख गर्नुपर्नेछ भने आफूले प्रस्तुत गरेका विवरणलाई पुष्टि हुने कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।