• ४ जेठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय बालिका दिवस

blog

शिवा तामाङ 

भाइबहिनी, हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।

यही सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमसहित एक सय जना बालिका तथा किशोरीलाई देशका महत्वपूर्ण पद हस्तान्तरण गरेर मनाइएको छ । 

बालिका दिवस सुरु भएको एक दशक पूरा भएको सन्दर्भमा यस वर्ष नेपाललगायत विश्वभर नै विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  समाजमा जकडिएको लैङ्गिक विभेदका कारण बालकको तुलनामा बालिका तथ किशोरीहरू बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा अब हाम्रो पालो : हाम्रो अधिकार, हाम्रो भविष्य तय गरिएको थियो । 

गर्ल्स टेक ओभर (पद हस्तान्तरण)अभियान यस वर्ष सिन्धुली जिल्लाकी १९ वर्षे किशोरी  राष्ट्रिय बाल अधिकार परिषद्को सदस्यसचिव पद एक दिनका लागि हस्तान्तरण गरिएको थियो । 

यस अभियानको  पहिलो चरणअन्तर्गत अक्टोबर ११ दिन राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले आफ्नो भूमिकामा एक दिनका लागि सिन्धुली जिल्ला, मरिण गाउँपालिकाकी १९ वर्षे किशोरी प्रमिला स्याङ्तेनलाई  नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । आफ्नो पदभार ग्रहणको अनुभव सुनाउँदै स्याङ्तेनले भन्नुभयो, “मलाई यो कुर्सीमा बस्दा निकै गौरवान्वित महसुस भइरहेको छ, बालिका भएर पनि हामी अरूभन्दा कम छैनाैं, अवसर पाए भने जे काम पनि गर्न सक्छौँ ।”

उहाँलगायत देशभर अन्य किशोरी स्कुलका प्रधानाध्यापक, स्थानीय तहका प्रमुख, उपप्रमुख, सङ्घसंस्थाका विभिन्न तहका लागि एक दिनका लागि पद हस्तान्तरण गर्दै नेतृत्व वहन गर्ने अभ्यास गर्दै मनाइएको छ । 

बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेसनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तीकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगतझैँ यस वर्ष पनि सङ्घीय र जिल्लास्तरमा   अभियानलाई निरन्तरता दिएको छ । 

यस वर्ष सङ्घीयस्तरका सङ्घसंस्थाहरूका साथसाथै जुम्ला, कालीकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सङ्घसंस्था, मिडिया, दूतावास, शैक्षिक 

संस्थालगायतमा प्रमुख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिएको थियो  ।

गत वर्ष कालीकोट, जुम्ला, सिन्धुली, बाँके, बर्दिया र मकवानपुरका किशोरीहरूले मेयर र उपमेयरको जिम्मेवारी सम्हालेका थिए । 

 बालिका दिवसको कार्यक्रम आयोजक संस्थामध्येका एक संस्था हामी दाजुभाइका उपाध्यक्ष पूजा श्रेष्ठले बालिका दिवसमा गरिने पद हस्तान्तरण अभियान तथा कार्यक्रम किशोरीलाई आफ्नो क्षमता र अवसरबारे बुझ्ने मौका दिने बताउनुभयो ।

दिवसकै अवसरमा सञ्चारिका समूहले छोरी हुनुमा गर्व गरौँ, गर्भमा छोरी भएकै कारण गर्भपतन नगरौँ भन्ने सन्देशसहितको नाटक मञ्चन तथा कविता वाचनलगायतका कार्यक्रमको आयोजना गरेको थियो ।