• ११ मंसिर २०८१, मङ्गलबार

‘प्लस साइज मोडल नेपाल’ हुने

blog

काठमाडौँ, मङ्सिर २८ गते । मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ ।

मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । ‘वुमनिया’को प्रस्तुतिमा आयोजक मोडल सङ्घ नेपालले ‘प्लस साइज मोडल नेपाल–२०२३’को आवेदन खुला गरेको छ ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाले भाग लिन पाउँछन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय नाचघर, जमलमा पुस ९ गते शनिबार (डिसेम्बर २४)  हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ । मोटोपनाका कारण हीनताबोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल–२०२३’मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहनेछ ।