• २० असार २०८१, बिहिबार

अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

घरमै पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २७ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्दै आएको हो।

गत कात्तिक महिनादेखि सुरु भएको अपाङ्गता तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको कार्यलाई निरन्तरता दिएको गाउँपालिकाले जनाएको छ। 

प्रत्येक महिनाको एकपटक घर–घरमै पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने योजनालाई निरन्तरता दिँदै मङ्सिर महिनाका लागि धमाधम लक्षित वर्गको स्वास्थ्य परीक्षणको क्रम चलिरहेको छ।

स्वास्थ्यकर्मीको टोली लक्षित वर्ग अर्थात् अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गर्दै आएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। 

वडा नं. १ ढुङ्गेसाँघुका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता तामाङका अनुसार स्वास्थ्य परीक्षण, औषधि वितरणसँगै स्वास्थ्य परामर्श पनि स्वास्थ्यकर्मीको टोलीले दिँदै आएका छन्। 

मैवाखोला गाउँपालिकाको चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश योजनाअनुसार हाल पालिकाभित्रका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिको घर–घरमै गएर स्वास्थ्य परीक्षण अभियान चलिरहेको हो। गाउँपालिकाका छ वटै वडामा अभियान निरन्तर कार्यान्वयन भइरहेको पालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिनुभयो।