• १३ वैशाख २०८१, बिहिबार

मौसमी फ्लु बढेकाले स्वास्थ्यमा ध्यान दिन जरुरी

blog

काठमाडौं, मंसिर २७ गते । जाडो मौसममा देखिने स्वास्थ्य समस्या मध्ये इन्फ्लुएन्जा अर्थात् फ्लुले नेपाली जनजीवन प्रभावित बनेको छ । कोभिड कालमा केही कम भएको फ्लुको समस्या यो वर्ष पुनः देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोभिड सङ्क्रमण फैलिएको बेलामा फ्लुको समस्या त्यति देखिएको थिएन । तर २०२२ सुरु भएदेखि पहिले पहिलेको जस्तै फ्लुको समस्या लिएर बिरामी अस्पतालमा आउनेको सङ्ख्या बढ्दो छ ।”

उहाँका अनुसार फ्लुको टाइप 'ए' 'बि' 'सी' 'डी' हुन्छन् । अहिले नेपालमा तीनवटा टाइप देखिएको डा. पुनको भनाइ छ । अहिले नेपालमा हङ्कङ फ्लु, स्वाइनफ्लु इन्फ्युजा डी फैलिएको छ । बर्ड फ्लु, स्वाइन फ्लु र हङ्कङ फ्लुमा कडा लक्षण देखिने उहाँ बताउनुहुन्छ ।

फ्लुलाई सामान्य रुघा खोकी त हो नि भनेर धेरैले हेलचेक्राईँ गर्ने गर्दछन् । कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्राईँ नगर्न चिकित्सकको सुझाव छ । फ्लु सबै उमेर समूहलाई लाग्ने भए पनि दीर्घ रोगी, गर्भवती वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा पर्ने डा. पुन बताउनुहुन्छ ।

कोभिड र एन्फ्लुएन्जा लगायतका सरुवा रोगका अधिकांश लक्षण एउटै हुने भएकाले दुवै सङ्क्रमण एकैपटक देखिएमा गम्भीर समस्या देखिने भएकाले समयमै परीक्षण दर बढाउन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।

इन्फ्लुएन्जा –फ्लु भनेकाे के हो ?

डा. पुनका अनुसार इन्फ्लुएन्जा –फ्लुलाई बोलीचालीको भाषामा फ्लु भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा बढी सक्रिय हुने यो भाइरसले जुन सुकै मौसममा सबै उमेर समूहका मानिसलाई दुःख दिने गर्छ ।

फ्लु कसरी सर्छ ?

फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्ने चिकित्सक बताउँछन् । ती छिटा श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएका कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्ने चिकित्सक बताउँछन् । फ्लुका लक्षण ज्वरो आउनु खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, शरीर र मांसपेशी दुख्नु, थकान महसुस हुने जस्ता लक्षण देखिने गर्दछन् । फ्लु भएका सबैलाई ज्वरो आउनै पर्छ भन्ने छैन ।

फ्लु रोकथाम कसरी गर्ने ?

बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खानेकुरा खाने । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न चिकित्सकको सुझाव छ ।

फ्लु हुन नदिन के गर्ने ?

बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । हातले आँखा, नाक वा मुख नछुने । फ्लु भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा  एन्टीभाइरसका औषधिहरू आवश्यक नपर्ने चिकित्सक बताउँछन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्ति स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहन चिकित्सकको सुझाव छ । दीर्घरोगी र वृद्धवृद्धामा इन्फ्लुएन्जा सङ्क्रमणको जोखिम बढी हुने भएकाले इन्फ्लुएन्जा सङ्क्रमण विरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।