भाइबहिनीहरू ! उहाँ हुनुहुन्छ, शङ्करप्रसाद कोइराला । पूर्वअर्थमन्त्री । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेर देशका लागि राम्रो काम गर्न सफल व्यक्ति । बाल्यकालका सबै समय उहाँमै बिताउनुभएका कोइरालाले भोजपुर बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा बीए उत्तीर्णलगत्तै गाउँ छाड्नुभयो । उच्च शिक्षा पढ्न काठमाडौं आएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमए पढ्न भर्ना भएलगत्तै उहाँले जागिरका लागि परीक्षा दिँदा पाँचवटा सरकारी संस्थान र लोकसेवा आयोगमा समेत एकै पटक नाम निकाल्न सफल हुनुभयो । भाइबहिनीहरू आखिर मेहनतको फल त राम्रो नै हुन्छ नि । यो सबै उहाँको मेहनतको फल थियो । त्यसपछि वि.स.ं २०४४ साउन १ गतेदेखि विधिवत् रूपमा नेपाल सरकारको शाखा अधिकृत हुनुभयो ।
फिलिपिन्सबाट पनि व्यावसायिक अर्थशात्रमा पुनः एमए गर्नुभयो । अर्थको विद्यार्थी दोस्रो संविधान सभा निर्वाचनका बेला मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी प्रधानमन्त्री हुँदा कोइराला अर्थमन्त्री हुनुहुन्थ्यो । आफ्नो कामप्रति सधैँ बफादार, इमानदार साहसिलो साथै शालीनताका धनी उहाँको अर्को छवि साहित्य जगत्मा एसपी कोइरालाको नाउँ नसुन्ने सायदै होलान् । आदारणीय/माननीय तथा बहुप्रतिभाशाली व्यक्तित्व हामी सबैका लागि समेत प्रेरणादायी पात्र हुनुहुन्छ । भाइबहिनीहरू उहाँको बाल्यवस्था कस्तो थियो होला त पढौँ है उहाँकै शब्दमाः
बाल्यवस्था र शिक्षा
वि.स. २०२० असार २ गते भोजपुर जिल्ला पोखरेमा मेरो जन्म भएको हो । मेरो बुवाको नाम स्व. वेदनिधि कोइराला र आमाको नाम धनकुमारी कोइराला हो । बुवाआमाका चारभाइ छोरामा म जेठो हुँ ।
सदरमुकाम नजिक हाम्रो बस्ती । शिक्षित घरपरिवार । घरबाट त्यस्तै एक/डेढ किलोमिटर दूरीमा पर्ने सरस्वती निम्न माध्यमिक विद्यालयमा भर्ना गएर औपचारिक रूपमा कखरा सिकेको हुँ । कक्षा ४ देखि अङ्ग्रेजी र कक्षा ६ देखि संस्कृत पढाइ हुन्थ्यो । हो, अहिले नर्सरी भने जस्तो त्यो बेला बालवर्ग भन्ने छुट्टै कक्षा हुन्थ्यो । त्यसमा पास गरेपछि मात्र १ मा गइन्थ्यो तर राम्रो पढ्ने विद्यार्थीलाई कक्षा पनि फड्काइन्थ्यो । प्रधानाध्यापक गुरुप्रसाद कोइराला कडा स्वभावको हुनुहुन्थ्यो । उहाँको निगरानीमा दुई पटक कक्षा फड्केँ । कति कतिमा भन्ने चाहिँ सम्झना छैन । आमा सधैँ भन्नुहुन्थ्यो, ठूलो मान्छे हुन सानो ठाउँमा बसेर हुँदैन । जाँ ठूलै ठाउँमा गएर धेरै पढ् अनि ठूलो मान्छे बन् ।’ आमाको कुराले पनि मलाई सधैँ राम्रो काम गर्न प्रेरित गरिहन्थ्यो ।
अविष्मरणीय पल
सानो उमेरमा गरेका कतिपय काम अहिले सम्झिँदा रमाइलो लाग्छ । सबै सम्झेर सकिँदैन तर केही पल भने बिर्सनै सकिँदैन । विद्यालयमा खाजा खाने समय हुन्थ्यो । त्यो बेला हामी भने पौडी खेल्न जाने । बाँकी कक्षा सबै छुट्ने । बच्चा न परियो । हिँडेपछि गयौँ, गयौँ । शरीरमा लाए जति लुगा खोलेर रुखमा राख्यौँ । मस्त पौडी खेल्यौँ । फर्कदा खेरी त राखेका ठाउँमा कसैका पनि लुगा नहुने । अब घर कसरी जाने ? हारगुहार गर्दै ठूलो स्वरमा धेरै कराएपछि पर ढुङ्गाको चेपमा लुगा भेटिन्थ्यो । भोलिपल्ट हेडसरको हातबाट छडी खाइन्थ्यो । त्यसपछि भाग्ने कुरा कहिल्यै गरिएन । त्यो पनि हाम्रो लागि ठूलो शिक्षा भयो ।
पोखरी स्कुलमै पढ्दाको कुरा हो । पूर्ण नाम गरेका सर हुनुहुन्थ्यो । तिमीहरू पढ’ भनेर उहाँ घाममा बस्नुभो । त्यो बेला पाठ घोक्ने चलन हुनाले हामी कराएर पढ्दै थियौँ । तथापि ध्यान भने सर तर्फै भयो । चौडा पर्खाल भएको झ्यालमा घामको न्यानो÷तातोमा उहाँ निदाउनुभो । निदाएपछि घुर्न थाल्नुभो । घुरेपछि डङरङ्ग एकैचोटी भुइँमा पनि तलै पुग्ने गरी लड्नुभयो । हामी सबै हास्यौँ । त्यतिबेला पनि सरको छडी खाइयो ।
माध्यमिक तथा उच्च शिक्षा
डाँडामा घर थियो/छ । तल गहिराइमा स्कुल पुग्न दस मिनेट लाग्ने बाटो दौडेर ओरालो झर्दा दुईदेखि तीन मिनेटमा पुग्थेँ । निम्न माध्यमिक पछि माध्यमिक स्तरको पढाइ विद्योदय हाइस्कुलमा भर्ना भएँ । शनिबार स्कुल बिदा हुनाले गाईबस्तु चराउने काम गर्थैं । बारीमा गर्ने काम मकै छर्नु पथ्र्यो । हरेक शुक्रबार विद्यालयमा विभिन्न कार्यक्रम आयोजना हुन्थ्यो । साहित्य लेखनको प्रारम्भ ‘ट्याम्के डाँडो’ शीर्षकको कविता ’मातृभूमि’ नामक पत्रिकामा प्रकाशित भयो । जुन हौसलाले क्रमशः साहित्यिक झुकाव बढ्यो र गीत लेखनमा लागेँ । मैले एसएलसी दिएकै वर्ष लेखेको सो रचना काठमाडौँबाट छापिएर आयो । वि.स.ं २०३५ मा जब एसएलसी उत्तीर्ण भएँ, भोजपुर बहुमुखी क्याम्पसमा अर्थशात्र विषय लिएर आईए पढ्न भर्ना भएँ । म थोरै भाग्यमानी व्यक्तिहरूमा पर्छु, जसले घरैमा आमाले पकाएको खाना खाएर स्नातकसम्मको अध्ययन पूरा गरेँ ।
हौसला
घरपरिवार नै हो । अनि, शिक्षक वर्ग । जसले मेहनत गर्न सिकाउनुभयो । अनुशासनको पाठ पढाउनुभयो । चाहेको क्षेत्रमा प्रगति गर्न मेहनती हुनुपर्छ । विद्यार्थीले गर्ने सबैभन्दा महत्वपूर्ण कार्य त पढाइ नै हो । आजको समय हाम्रो समयभन्दा धेरै अगाडि छ । प्रविधिदेखि हरेक कुरामा । अनुशासन भनेको जीवनको कडी हो । मार्ग हो । यो सत्यलाई मस्तिष्क प्रणालीमा राखेर गरिएको अभ्यास कहिल्यै खेर जाँदैन । अर्को, समय व्यवस्थापन गर्न जान्नु भनेको मार्ग प्रशस्त गर्नु हो । चुनौतीबाट भाग्ने होइन, सिक्ने कोसिस गर्नुपर्छ ।