• १३ असोज २०८१, आइतबार

रौतहटको बौधिमाई नगरपालिकाले अझै बजेट ल्याउन सकेन

blog

बौधिमाई नगरपालिका भवन । तस्बिर: यादवराज पुरी

यादवराज पुरी

रौतहट, मङ्सिर २६ गते । आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि रौतहटको बौधिमाई नगरपालिकाले बजेट ल्याउन सकेको छैन । 

नगरपालिकाको विभिन्न समिति तथा उपसमिति गठन प्रक्रियामा कार्यपालिकाका सदस्यबिच मतभेद भएको कारण नगर सभा हुन नसकेपछि बजेट रोकिएको हो । असार १० गते नगर सभा हुनु भन्दा अघि ८ पटकसम्म कार्यपालिकाको बैठक बसेको तर पनि काम हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवले बताउनुभयो । बैठकमा आर्थिक समिति, सामाजिक समिति, पूर्वाधार विकास समिति लगायत पाँच वटा मूल समिति र सात वटा उपसमिति गठन प्रक्रिया मै कार्यपालिका सदस्यबिच मतभेद भएपछि नगर सभा प्रभावित बनेको उहाँले बताउनुभयो । 

सोही दिन नगरपालिका प्रमुख प्रदीपकुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोज्दा विषयमा कार्यपालिका सदस्यसँग राय सल्लाह नै नलिएको आरोप लगाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको थियो । जिल्ला अदालतमा पुनरावेदन मुद्दा समेत परेकोले अहिलेसम्म बजेट ल्याउन सकिएको छैन । 

सङ्घ र प्रदेशको निर्वाचनपछि दुई पटक बसेको बैठकमा पालिकाका सबै सदस्य सकारात्मक देखिएकोले आउँदो २८ गते नगर सभा बस्न पत्राचार गरिएको पालिका प्रमुख यादवले बताउनुभयो । उक्त दिन बजेट पारित हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ । वार्षिक बजेट नै नआएपछि सो पालिकामा विकास निर्माणका काम ठप्प छ भने कर्मचारीको तलब भत्ता समेत रोकिएको छ । दैनिक कार्य सञ्चालनमा समस्या परेको छ । 

यस्तै बजेट ल्याउन नसकेको जिल्लाको यमुनामाई गाउँपालिकाले भने यहि महिनाको १७ गते नगर सभा गरी वार्षिक बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहम्मदले जानकारी दिनुभयो । उहाँकाअनुसार पालिकामा रोकिएको तलब भत्ता वितरण भई कार्यक्रम कार्यान्वयन भइसकेको छ । 

रौतहटमा १८ वटा पालिका मध्ये अन्यले भने बजेट कार्यान्वयन गरिसकेका छन् ।