• १३ असोज २०८१, आइतबार

हिंसाविरुद्ध विद्यार्थीलाई चेतना

blog

अमरगढी समाचारदाता 

डडेल्धुरा, मङ्सिर २५ गते । जिल्ला सदरमुकाम अमरगढीमा नगरपालिकाले विद्यार्थीलाई अनुशिक्षण दिई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाएको छ। नगरभित्रका छवटा मावि तहका सात जना विद्यार्थीलाई लैङ्गिक हिंसासम्बन्धी कानुनी व्यवस्था र लैङ्गिक हिंसासम्बन्धी कक्षा सञ्चालन गरी अभियान मनाइएको अमरगढीले जनाएको छ। कक्षा सञ्चालनमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सहयोग गरेको थियो। 

विद्यालयहरूमा पुगी प्रहरीले सचेतनाका कक्षा सञ्चालन गरेको थियो। ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको अमरगढी नगरपालिकाका सामाजिक विकास शाखा संयोजक लालबहादुर साउदले जानकारी दिनुभयो। 

समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरण नहुने र यसका लागि सरकार, सङ्घसंस्था तथा स्थानीयसमेत जागरुक बन्नुपर्ने बताउनुभयो। लैङ्गिक हिंसा अन्त्यका लागि परिवार, समाज तथा विशेष गरी ग्रामीण भेगमा सचेतना फैलाउन जरुरी रहेको उहाँको भनाइ थियो।