• १३ वैशाख २०८१, बिहिबार

‘मानव अधिकारको मर्मलाई आत्मसात् गरौँ’

blog

काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ ।

७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उहाँले सन्देश जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानको मार्गदर्शनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ । व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हो भन्ने धारणा उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

“नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू मानव अधिकारका व्यापकतम अवधारणामा आधारित छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई नेपालको संविधानले अझ विस्तार र विकास गर्न योगदान गरेको छ,” सन्देशमा उल्लेख छ ।

मानव अधिकारका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सीमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानव अधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको र न्यायपूर्ण, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र मात्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्ने उहाँको भनाइ छ ।

नेपाल मानव अधिकारसम्बन्धी विभिन्न 

अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्रसमेत भएकाले मानव अधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध रहिआएको उल्लेख गर्दै उहाँको सन्देशमा यसैको फलस्वरूप नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा हरेक वर्ष डिसेम्बर १० का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित यो वर्ष नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी शनिबार यो दिवस   मनाइँदै छ ।