• १८ असार २०८१, मङ्गलबार

धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा बैतडी

blog

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी तथ्याङ्क प्रस्तुत गर्नुहुँदै । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २३ गते । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरपछि धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको बैतडी सात पहाडी जिल्लामध्ये पहिलो नम्बरमा रहेको तथ्य सार्वजनिक भएको छ ।  

नागरिक समाज बैतडी र जिल्ला प्रशासन कार्यालयले शुक्रबार आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरोकारवालाबीच गरिएको अन्तरक्रिया कार्यक्रममा बैतडी जिल्लामा धेरै भ्रष्टाचार हुनेगरेको तथ्याङ्क सार्वजनिक भएको हो । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वतन्त्र विचार मञ्चका अध्यक्ष भरत जङ्गमले काठमाडौंबाट सरोकारवालासँग भिडियो संवाद गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी हेर्दा बैतडी जिल्ला धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको बताउनुभयो ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.ब. २०७८–७९ को ३२ औं वार्षिक प्रतिवेदनअनुसार  कैलालीका ६५१ उजुरी, कञ्चनपुरका ३८३,  बैतडीका २९० उजुरी, बझाङका २१७, दार्चुलाका १७३, डडेल्धुराका १७६, डोटीका १५९, अछामका १४०, र बाजुराका १२६ गरि दुई हजार ३१५ वटा उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ ।


बैतडीबाट अख्तियारमा परेका उजुरीको छनबीन गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियार प्रत्यायोजन गरी छानबिनका लागि आएका  उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहमा रहेका विद्यालयका उजुरी आएको बैतडीका प्रुमख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

विद्यालयको भवन निर्माण र सूचना प्रविधि जडानका लागि आएको अनुदान कार्यक्रममा भ्रष्टाचार भएको उजुरी आउनेगरेको उहाँले बताउनुभयो । कार्यक्रममा नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले बैतडीका स्थानीय तहका जनप्रतिनिधिले बिजुली विस्तार, औषधी खरिदमा भ्रष्टाचार हुनेगरेको बताउनुभयो ।

स्थानीय तहको सरकारले सडक खन्ने नाममा डोजर किनेर आफन्त, नातागोता र  राजनीतिक स्वास्र्थ अनुसार उपभोक्ता समिति गठन गरेर जथाभावी रकम दुरुपयोग हुँदैआएको उहाँले गुनासो गर्नुभयो ।